२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

उपभोक्तालाई ग्यास पाउन हम्मे हम्मे

बजारमा ग्यास लिनेको लाइन लागेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भनेका थिए, ग्यास, चामलको जिम्मा मेरो भयो । लाइनमा नबसिदिनुस्, बढी भण्डारण नगर्दिनुस् ।’

आपूर्तिमन्त्री भट्टले ग्यासको अभाव नभएको, भविष्यमा पनि नहुने भन्दै भण्डारण नगर्न आग्रह गरेका थिए । तर मन्त्रीको भनाइ पत्याएर लाइनमा बस्न नगएका उपभोक्ताले दुःख पाइरहेका छन् ।

बजारमा ग्यास पाइन छाडेको छ । उपभोक्ताले भारतीय नाकाबन्दीकै समयमा जस्तो सास्ती भोग्नुपर्ने अवस्था आएपछि मन्त्रीले ढाँटे कि उद्योगी–व्यवसायीले छलेका हुन् भन्ने प्रश्न जन्मिएको छ ।

उपभोक्तालाई हैरान

कुलेश्वरका रामप्रसाद तिवारीले साई बाबा वा श्री कम्पनीको ग्यासका लागि नजिकैको डिपोमा नाम लेखाएको पाँच दिन भयो, तर ग्यास पाएका छैनन् । ‘पालो आएपछि फोन गरौंला भन्दै फर्काउँछन्’ तिवारी भन्छन्, ‘सरकारले सजिलै ग्यास दिन्छु भनेको त कालोबजारीया पोस्न पो रहेछ !’

अहिले भट्टले हाँकिरहेको मन्त्रालय अन्तर्गतको उपभोक्ता संरक्षण विभागमा दैनिक कम्तीमा चार सय कल आउँछ । त्यसमध्ये ९० प्रतिशत तिवारी जस्तै ‘ग्यास पाइएन’ भन्ने गुनासो हुन्छ ।

विभागका सूचना अधिकारी दीपकराज पोखरेल उपत्यकाबाहिरबाट पनि ग्यास पाइएन भनेर फोन आइरहेको बताउँछन् ।

निगमको आफ्नै दाबी

नेपाल आयल निगमले भने अहिले सामान्य समयभन्दा बढी ग्यास आयात भइरहेको बताएको छ ।

सामान्य अवस्थामा मासिक ३७ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा अहिले आयात बढाएर ५० हजार मेट्रिक टन पुर्‍याएको छ । आइतबार मात्र विभिन्न नाकाबाट १५६ बुलेट एलपी ग्यास नेपाल भित्रिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइत कोरोना भाइरसबाट त्रसित उपभोक्ताले ग्यास संग्रह गर्दा माग दोब्बर भएको बताउँछन् । मासिक ४० हजार मेट्रिक टन हाराहारी ग्यास वितरण गर्न सक्ने पूर्वाधार र संरचना भए पनि यो महिना कम्तीमा ८० हजार मेट्रिक टन माग भएको उनले बताए ।

किन भइरहेको छ अभाव ?

सामान्य अवस्थामा भन्दा दोब्बर आपूर्ति भइरहेको छ भने उपभोक्ताले किन पाइरहेका छैनन् त ग्यास ?

कालोबजारी भइरहेको छ । नाम टिपेर उपभोक्तालाई रित्तो हात फर्काइरहेका उनीहरुले ४५ सयसम्म लिएर नयाँ सिलिन्डर बेचिरहेका छन् ।

नाकाबन्दीका समयमा उद्योगहरुले नयाँ सिलिन्डर बजारमा पठाउन यही जुक्ति निकालेका थिए । खाली सिलिन्डर लिएर जाने उपभोक्ताले ग्यास पाइहाले भने पनि आयल निगमले तोकेकोभन्दा बढी पैसा तिर्नुपर्ने अवस्था आइसकेको छ ।

र, उद्योगबाट आएको ग्यासको विवरण र मूल्य उल्लेख गरेर वितरण गर्ने व्यवस्था नगरे कालोबजारी अझ बढ्ने देखिन्छ ।

तर कालाबजारी रोक्न बजारमा हस्तक्षेप गर्न वाणिज्य विभाग, आपूर्ति मन्त्रालय सबै चुकेका छन् । सबे निकाय ‘उपभोक्ताले अतिरिक्त सिलिण्डर बजार पठाउँदा अभाव देखियो’ भन्दै बसेका छन् ।

आयल गिगमले भने हेल्पलाइन सुरु गर्ने तयारी गरेको छ । सोमबार साँझसम्म हेल्पलाइनको नम्बर उपलब्ध हुने जानकारी दिँदै निगमका प्रवक्ता गोइतले भने, ‘साँचै अभाव ब्यहोरेका उपभोक्ताले हेल्पलाइनमा गुनासो र ठेगाना टिपाएपछि निगमले ग्यास उपलब्ध गराउने छ ।’

Related News

स्वर्गीय प्रहरी जवान कठायतको परिवारलाई आर्थिक सहयोग
स्वर्गीय प्रहरी जवान कठायतको परिवारलाई आर्थिक सहयोग
  • २०७६ चैत्र ४

दिपायल – मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवानको परिवारलाई आर्थिक...

TOP