२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बोगटान बलात्कार काण्ड : आरोप कि अपराध ?, स्पष्ट हुनुपर्छ

बलात्कार जस्तो जघन्य अपराधकाे घटना प्रहरी प्रशासन सम्म पुगेको एक हप्ता भन्दा बढी भयो । आफूमाथि गाउँकै शिक्षकले बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा निवेदन दिइन् । जाहेरी दिनु अघि अनेक प्रपञ्च रचियो र पीडितलाई प्रहरी प्रशासन सम्म पुग्नै दिइएन ।

घटना ढाकछोप गर्न उच्चस्तरीय व्यक्तिहरू देखि स्थानीय नेताहरुको मिलेमतो रहेको देखिन्छ । प्रहरी निवेदनको बेवास्ता गर्दै पीडित मुद्दा दर्ता गर्न नआएको भरमा अति संवेदनशील यो घटनामा मौन छ ।

निवेदन पछि मुद्दा दर्ता गर्न पीडित किन आएनन् ? आरोप किन लगाइयो ? घटनाको विस्तृत विवरण के हो ? पीडित भनिएका निवेदक सुरक्षित छन् कि छैनन् ? उनीहरूको अवस्था के छ ? बाहिरबाट जघन्य अपराधको घटना मिलाउन पीडितलाई दबाब, प्रभावमा पारिएको त छैन ? यो तर्फ प्रहरीको अनुसन्धान र खोजिनीति हुनु पर्दैन ? पीडित बसेको होटल समेतबाट अनुसन्धान सुरु हुनु पर्छ । फोनको भरमा निवेदकलाई मुद्दा दर्ता गर्न बोलाउने, आएन भने घटनाका विषयमा चासो नै नदेखाउने, आरोपीलाई बिना शर्त छाड्ने प्रहरीको भूमिका पनि संकास्पद छ ।

कतिपय ठाउँमा यस्ता घटना मिलाउन भूमिका खेल्ने व्यक्तिहरूलाई वर्षौं पछि पनि मुद्दा चलाइएको छ। तर, डोटी बोगटानको यो घटनामा प्रहरी प्रशासनको चासो नै छैन । आफू माथि बलात्कार भएको र ज्यान मार्ने डर धम्की पछि मुद्दा दर्ता नगरेको पीडित भनिने महिलाको दाबी अहिले पनि छ । प्रहरी प्रशासनले घटनालाई गहिरो र विशेष प्राथमिकतामा राखेर अझै अनुसन्धान अगाडि बढाउन जरुरी छ ।

जिल्लामा महिला अधिकारकर्मी, स्थानीय पालिकामा जनप्रतिनिधिहरु प्रसस्तै छन्। यो घटनाका विषयमा कसैको चासो छैन। धेरै संघ संस्थाहरुले हिंसासम्बन्धी काम गरिरहेका छन्। कानुनी साहेतका लागि गाउँपालिका मै संयन्त्र छ। यस्तो अवस्थामा पनि पीडित महिलाहरु अपराध लुकाउन बाध्य छन् । अन्याय सहन बाध्य छन् । अन्य समयमा, बैठकमा सैदान्तिक पाठ सिकाउने अधिकारकर्मीहरु घटना भएको समयमा गुमनाम र चुपचाप बस्ने गरेका छन् ।

अहिले पनि धेरै व्यक्तिहरूलाई कानुनी प्रक्रियाका बारेमा जानकारी छैन, मुद्दा गर्दा ठूलो धन, सम्पति खर्च हुने भ्रम र डर छ । पीडितलाई झुक्याउने, प्रलोभनमा पर्ने, डर धम्की दिने, घटना गैरकानुनी रूपमा मिलाउने जस्ता कार्य गरेर अपराध माथि अर्को अपराध भइरहेको छ ।

न्यायमा सर्वसाधारणकाे पहुँच अझै पुगेको छैन । पीडितहरु आर्थिक अवस्था कमजोर भएकै कारण पनि न्यायका लागि लड्न सकिरहेका छैनन् । सत्ता, पावर र पहुँच हुनेहरूले उच्चपदस्त व्यक्तिहरूलाई प्रभावमा पारेर जघन्य अपराधका घटना रफादफा गर्ने प्रचलन छ । पहुँच, पावर र पैसा हुनेका लागि मात्रै कानुन, प्रहरी प्रशासन र अधिकारकर्मी हुन् त ? घटनाका विषयमा थप चासो र तदारुकताका देखाउनु पर्दैन ? अधिकारकर्मी र न्याय मूर्तिहरुले समेत घटनाको सत्यतथ्य बाहिर ल्याउनु पर्छ । घटना के हो स्पष्ट बोल्नु पर्छ ।

कानुन सबैका लागि बराबर छ । यस्ता खाले जघन्य अपराधका घटनामा संलग्न व्यक्ति, सित्तैमा आरोप लगाउने व्यक्ति र गैरकानुनी रुपमा घटना मिलाउने व्यक्ति सबै दोषी हुन् । अपराध हो भने दोषीलाई र घटना लुकाउने व्यक्तिहरूलाई कानुन संवत् कारबाही हुनुपर्छ । कानूनको कठघरामा उभ्याउन सक्नु पर्छ । यदि पीडित भनिने पक्षले झूटो आरोप लगाएको हो भने पनि झूटो आरोपको कसुरमा कानुनी उपचार हुन जरुरी छ ।

सामाजिक छवि भएको शिक्षक जस्तो व्यक्तिलाई झूटा आरोप लगाउनु पनि एउटा अपराध हो । आरोपले सामाजिक, पारिवारिक, मानसिक र पेशागत रुपमा ठूलो क्षति पुग्न सक्छ । तसर्थ आरोपित व्यक्ति निर्दोष भएको खण्डमा पनि कानुनी सफाया पाउन जरुरी छ । नत्र यस्ता घटनाले अर्को घटना निम्त्याउने निश्चित छ ।

बोगटान फुड्सिल गाउँपालिका – १ सिम्चौरमा घटेको यो घटना आरोप कि अपराध कानुनी स्पष्टता हुन जरुरी छ । त्यसकालागि, प्रहरी प्रशासन, जनप्रतिनिधि, अधिकारकर्मी र सरोकारवाला सबै तदारुकताका साथ लागौँ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ माघ ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP