२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

गाउँ छोडेर सहरमा आरन, किसान समस्यामा


दिपायल- 
सायल गाउँपालिका–४ का पदम विक विगत पाँच वर्षदेखि जिल्ला सदरमुकाम सिलगढीमा आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । 

बाबुबाजेका पालादेखि आफ्नै गाउँमा आरन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको उहाँको परिवार पछिल्लो समय सदरमुकाम सरेपछि गाउँका कृषकले सास्ती भोग्नुपरेको छ । अहिले सायलका कृषक कृषि औजार बोकेर एक दिनको यात्रा गर्दै पदमले सदरमुकाममा सञ्चालन गरेको आरनमा धाउने गरेका छन् ।

पदमजस्तै आरनमा काम गर्ने सीप भएका यहाँका धेरै कालीगड गाउँबाट पलायन भएपछि किसानलाई कृषि औजार मर्मत र निर्माण गर्न निकै कठिन भएको छ । नयाँ पुस्ताले आरनको काम गर्न रुचि नदेखाउने र सीप भएकाहरू अन्यत्र पलायन हुने, कामको खोजीमा भारतलगायतका मुलुक जाने प्रचलन बढेपछि कृषकलाई कृषि औजारको जोहो गर्नै मुस्किल भएको छ । 

डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा दलित समुदायमध्येको कामी, लुहार, विश्वकर्मा जातिको पुख्र्यौली पेसा आरन व्यवसाय पछिल्लो समय लोप हुँदै गएको छ । कामको सम्मान र श्रमको मूल्य नभएकाले यो पेसाबाट पछिल्लो पुस्ता पलायन हुँदै गएको कालीगड बताउँछन् । नयाँ पुस्ताले पुख्र्यौली पेसा गर्न र सिक्न छाडेपछि आरन व्यवसाय लोप हुँदै गएको हो । 

सायल गाउँपालिका–५ का किसान गणेश बोगटीले आरन सञ्चालन गर्ने दक्ष जनशक्ति घट्दै गएको र नयाँ पुस्ताले यो पेसालाई आत्मसात् नगरेकाले कृषकले सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा कृषि पेसालाई आधुनिकीकरण गर्न निकै चुनौती छ । तराईको जस्तो यहाँ खेत जोत्न ट्याक्टर, आधुनिक कृषि औजार प्रयोग गर्न निकै कठिन छ ।”

भौगोलिक बनावटका कारण पनि यहाँको कृषि परम्परागत तवरबाट सञ्चालन गर्नुपर्ने र परम्परागत औजारको प्रयोग गर्नुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “आरन व्यवसाय लोप हुँदै गएपछि कृषि औजार मर्मत र निर्माण गर्न सकस हुँदै आएको छ ।” 

कृषकले प्रयोग गर्ने हँसिया, कुटो, कोदालो, चुलेसी, मिजुरा, खुकुरी, फाउरो, हलोमा प्रयोग हुने फालीजस्ता कृषि औजार उत्पादन गर्ने र धार लगाउने आरन व्यवसाय सङ्कटमा परेपछि सुदूरपश्चिमका पहाडी क्षेत्रका कृषकलाई समस्या परेको सायल–४ का कटे नेपालीले बताउनुभयो ।

पहिला ४०/५० परिवार भएको प्रत्येक गाउँमा दक्ष जनशक्तिसहित आरन राखिएको हुन्थ्यो । आरनमा कृषि औजार बनाए बाफत कृषकले खेती भिœयाउने समयमा अन्नबाली (खलो) दिने बाली प्रथाको प्रचलन रहेको थियो । कुनै कुनै ठाउँमा बाली प्रथाको नियम अहिलेसम्म कायमै छ । गाउँमा आरनको काम गर्दा छ महिना वर्षदिनमा एक पटक अन्न पाउने तर सहरमा काम गर्दा नगद पाइने भएपछि बजार क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सुरु गरेको आरन व्यवसायी पदम विकले बताउनुभयो ।

गाउँबाट आरन व्यवसायी पलायन भएपछि कृषि औजार बोक्दै टाढा–टाढाका गाउँबाट आरन खोज्दै सदरमुकाम आउने गरेका छन् । दिपायल सिलगढी नगरपालिकाका आरन व्यवसायी भक्तबहादुर विकले पछिल्लो पुस्ताका युवाले सीपै सिक्न नचाहेको र रोजगारीका लागि पुर्खौली पेसा त्यागेर भारतलगायत मुलुक जाने गरेकाले पनि यो पेसा सङ्कटमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोप हुँदै गएको व्यवसाय सञ्चालन नगर्दा दैनिकी चलाउन मुस्किल भएपछि बाध्यताले मात्रै केही व्यक्ति मात्र यो पेसामा आबद्ध छन् ।” उनीहरूले घरपरिवार पाल्नका लागि मात्रै सन्तानलाई आफूसँगै आरनको काममा लगाउने गरेका छन् । आरनमा काम सिक्दै गरेका दीपक विकले श्रमको मूल्य र सम्मान नभएको पेसामा टिक्न निकै मुस्किल भएको बताउनुभयो ।  

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७९ भाद्र ४

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP