काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार र दुर्व्यवहारको घटनाको घोर भर्त्सना गरिएको उल्लेख छ।
रास्वपाले लोकतान्त्रिक व्यवस्थामा असहमति राख्ने र विरोध जनाउने अधिकार सबै नागरिकलाई भए पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने स्पष्ट गरेको छ।
विज्ञप्तिमा यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा सभ्य राजनीतिक अभ्यासमाथि प्रत्यक्ष प्रहार गर्ने उल्लेख गरिएको छ।
रास्वपा संसदीय दलले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
त्यसैगरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
विज्ञप्तिमार्फत रास्वपाले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
भारतबाट केरा आयात रोकिँदा नेपाली किसान उत्साहित, उचित मूल्य पाएपछि...