आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। पाँच दिनअघि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार बिहान निधन भएको अस्पतालले जनाएको छ।
पारिवारिक विवादपछि घरबाट निस्किएका मण्डलले सडकमा आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनापछि उनलाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
चिकित्सकहरूको निरन्तर उपचारका बाबजुद उनको अवस्था सुधार हुन नसकेपछि उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मण्डलको उद्धार तथा उपचार व्यवस्थापनमा समन्वय गरेका सर्लाहीका प्रतिनिधिसभा सदस्य अमरेश सिंहले सरकार, चिकित्सक तथा आफूले उनलाई बचाउन हरसम्भव प्रयास गरेको भए पनि सफल हुन नसकेको बताए।
सांसद सिंहले मण्डलको परिवारलाई आफूबाट हुन सक्ने सहयोग जीवनभर उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
घटनाले आत्महत्याको प्रयासजस्ता गम्भीर मानसिक तथा पारिवारिक समस्याप्रति समाज, परिवार र सम्बन्धित निकाय सबै संवेदनशील हुनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।