२०८३ असार २८, आईतवार
July 12, 2026, Sunday

राजस्वको दायरा विस्तार गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको जोड

राजस्वको दायरा विस्तार गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको जोड

धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको आर्थिक विकास र वित्तीय आत्मनिर्भरता सुनिश्चित गर्न राजस्वको दायरा विस्तार गर्दै आन्तरिक आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक तथा आर्थिक विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले बजेट कार्यान्वयन, राजस्व परिचालन, विकास योजनाको प्रभावकारिता र स्रोत व्यवस्थापनका विषयमा धारणा राखेका हुन्।

विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी, तुलसी देवकोटादमन भण्डारीले आफ्नो धारणा राखेका थिए भने आर्थिक विधेयकमाथिको छलफलमा अक्कलबहादुर रावल, धर्मराज पाठकमानबहादुर धामी सहभागी भएका थिए।

प्रदेशसभा सदस्य रामेश्वर चौधरीले राजस्व अनुमान यथार्थपरक हुनुपर्ने र आर्थिक विकास तथा कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने गरी योजना छनोट तथा बजेट विनियोजन गर्नुपर्ने बताए। संघीय सरकारले अनुदान घटाएको अवस्थामा प्रदेशले सामना गर्नुपर्ने चुनौतीका लागि पूर्वतयारी आवश्यक रहेको उनको भनाइ थियो।

प्रदेशसभा सदस्य तुलसी देवकोटाले बजेटको मूल्याङ्कन रकमको आकारले नभई नागरिकको जनजीवनमा पार्ने प्रभावका आधारमा गर्नुपर्ने धारणा राखिन्। कृषि, रोजगारी, युवा तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको बजेटले समृद्ध सुदूरपश्चिम निर्माणमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन्।

प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले प्रदेशको राजस्व आधार कमजोर रहेको र राजस्व प्रशासन प्रभावकारी बन्न नसकेको टिप्पणी गर्दै केन्द्रमाथिको निर्भरता घटाउन आन्तरिक स्रोत परिचालन, करको दायरा विस्तार र प्रभावकारी कर सङ्कलन प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेश सरकारमाथि भइरहेका आलोचनालाई काममार्फत चिर्नुपर्नेमा जोड दिए। प्रदेशको कुल बजेटमा आफ्नै स्रोतको योगदान करिब चार प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उनले आम्दानीका नयाँ स्रोत पहिचान र प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

प्रदेशसभा सदस्य मानबहादुर धामीले बजेट र सम्बन्धित विधेयकमाथिको छलफल औपचारिकतामा सीमित हुन नहुने बताउँदै त्यसलाई परिणाममुखी बनाउन आग्रह गरे। उनले प्रशासनिक संयन्त्रले पनि आवश्यक सुधारका लागि सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।

छलफलपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

Related News

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
  • २०८३ असार २७

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार...

TOP