२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्न कानुनी बाटो खुल्यो

गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्न कानुनी बाटो खुल्यो

पोखरा – गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाको उत्पादन, उपयोग र व्यवस्थापन गर्ने उद्देश्यसहित ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको छ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन्।

यसअघि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले विधेयक छलफलका लागि प्रदेशसभामा प्रस्तुत गरेकी थिइन्। विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले धारणा राखेका थिए।

विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक उत्पादनका लागि कानुनी रूपमा गाँजाखेती गर्ने बाटो खुलेको छ।

विधेयकअनुसार प्रदेश सरकारले तोकेको क्षेत्रमा मात्रै गाँजाखेती गर्न पाइनेछ। साथै, गाँजाको बोटमा रहेको नशालु पदार्थ टीएचसी (THC) को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ।

गाँजाखेती गर्न चाहने व्यक्ति वा संस्थाले सम्बन्धित निकायबाट अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। त्यस्तै, गाँजाको बोट कटान वा बिक्री गर्नुअघि रासायनिक परीक्षण अनिवार्य गरिएको विधेयकमा उल्लेख छ।

प्रदेश सरकारले विधेयक कार्यान्वयनपछि औषधिजन्य तथा औद्योगिक उपयोगका लागि गाँजाको उत्पादनलाई व्यवस्थित, नियमनयुक्त र कानुनी दायराभित्र सञ्चालन गर्ने अपेक्षा गरेको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८३ असार २६

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP