काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षा मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने तथा समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ।
मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको सरकारले जनाएको छ।