धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ अन्तर्गत चटकपुर क्षेत्र वर्षापछि डुबानमा परेको छ। निरन्तरको वर्षासँगै पानीको निकास हुन नसक्दा बस्ती तथा सडक जलमग्न भएका छन्।
डुबानका कारण स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। सडकमा पानी जम्दा आवतजावतमा कठिनाइ भएको छ भने केही घर तथा व्यवसायिक क्षेत्रसमेत प्रभावित भएका छन्।
स्थानीयवासीले जल निकासको उचित व्यवस्था नहुँदा प्रत्येक वर्ष वर्षायाममा डुबानको समस्या दोहोरिने गरेको गुनासो गरेका छन्। उनीहरूले सम्बन्धित निकायसँग दीर्घकालीन समाधानको माग गरेका छन्।
यसैबीच, मौसमविद्ले आगामी केही दिन सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको जनाएका छन्। सम्भावित डुबान, बाढी तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्.