दार्चुला – भारतको धार्चुलामा क्वारेन्टाइनमा राखिएका नेपालीहरु लामो समयसम्म नेपाल फर्कन नपाएपछि ज्यानलाई जोखिममा राखेर महाकाली नदीमा पौडी खेल्दै नेपाल भित्रिरहेका छन्।

अहिलेसम्म महाकाली तरेर भारतबाट २ सय ३८ जना नेपाली नेपाल प्रवेश गरेका छन्। एक महिनायता पटक–पटक गरी २ सय ४ जना र आइतबार ३४ जना महाकाली नदी पार गरेर नेपाल प्रवेश गरेका हुन्।
आइतबार मात्र दार्चुलाको व्यासबाट महाकाली नदी पार गरेर ३४ जना नेपाली आएको महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले बताए। यसरी ज्यानै जोखिममा राखेर महाकाली नदी तरेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाइनमा राखिएको मेयर भट्टले जानकारी दिए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण महाकाली पारि भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका छन्। ती मध्यका २ सय ३८ जनाले नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका हुन्।
भारतीय क्वारेन्टाइनमा राखिएका उनीहरुका लागि बसोबासको उचित प्रबन्ध नहुँदा कोही महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरिरहेका छन् भने कोही ट्युबमार्फत एक हजार भारतीय रुपैयाँ तिरेर समेत नेपाल आइरहेका छन्। साथमा पैसा हुनेहरु ट्यबुमार्फत नेपाल आएपनि बेखर्चीहरु केही उपाय नभएपछि घर फर्किन पाउने दिन कुरेरै बसेको बताएका छन्।
रोजगारीका लागि भारत गएका उनीहरु अधिकांश मजदुरी गर्ने नागरिक हुन्। भारतमा पनि लकडाउनको घोषणा गरेपछि उनीहरु नेपाल फर्किएकोमा नेपाल सरकारले पनि देशैभरि लकडाउनको घोषणा गरेकोले सीमापारि नै परेका हुन्।
भारतले नेपाली मजदुरलाई व्यवस्थित क्वारेन्टाइन बनाएर राखेको भने पनि मन्दिरका धर्मशाला र विद्यालयका कोठाहरुमा कोचाकोच गरेर राखेको झुलाघाटमा रहेका दीर्घराज जोशीको गुनासो छ।
उनले भने, ‘बाहिर त समाजिक दूरी कायम गरेर बस्ने भनेको सुनिन्छ तर यहाँ न यस्तो सामाजिक दूरी कायम गर्ने काम भएको छ, न त सुत्ने राम्रो व्यवस्था नै छ। बसोबासको समस्या हुँदा यहाँ उल्टै अन्य सरुवा रोगको जोखिम बढेको छ। गर्मी बढ्दो छ एकै कोठामा धेरै मानिस सुत्नुपर्ने समस्याले अब के हुने हो थाहा छैन।’
स्वदेश फर्कन पाए एक महिना भनेपनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदुरहरुले बताएका छन्।
क्वारेन्टाइनमा बसेका नेपालीहरुको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको भएपनि व्यवस्था हुन सकेको छैन। सीमामा रहेका नेपाली मजदुरलाई बसोबासको प्रबन्ध मिलाउन भारतको स्थानीय प्रशासनलाई अनुरोध गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको भनाइ छ।
भारतीय क्वारेन्टाइनमा बसोबास सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम पनि रोकिएको छैन। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरि दुई हजार भन्दा बढी नेपालीहरु एक महिनादेखि सीमा क्षेत्रमा अलपत्र रहेका छन्।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये पाँच वटा जिल्ला भारतसँग सीमा जोडिएका छन्। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलासँग जोडिएका सीमा क्षेत्रमा दुई हजार ३८ नेपालीहरु अलपत्र अवस्थामा रहेका छन्।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...