२०७७ मंसिर ११, बिहीबार
November 26, 2020, Thursday

उनको घरमा ढोली (दमाई) विद्या छ

पहाडी कागजका दुई पाना एउटैमा टासेर त्यसमाथि रुखका पात पकाएर बनाइएको मसीले लेखिएको पुरानो दस्तावेज जतनले राखेका छन् उनले। त्यसमा लेखिएका सबै कुरा थाहा पाउँदैनन् उनी पनि। अलिअलि अर्थ लगाउँछन्। डोटेली भाषामा दमाईलाई ढोली पनि भन्ने भरिन्छ। तिनीहरुले अध्ययन गर्ने विद्यालाई ढोली विद्या भनिन्छ जुन अरुलाई देखाइदैन थियो। गोप्य राख्ने चलन थियो। त्यो ढोली विद्या उनका बाले लेखेका थिए वा पूर्वजकै पालाको थियो थाहा छैन उनलाई।​

डोटीको केआई सिंह गाउँपालिकास्थित वायलमा रोपाईको बेला बजाइने बाजा र त्यहाँका दमाईहरुले गाउने गीतको चर्चा चल्छ धेरैजसो ठाउँमा। सुमधुर लयमा खेतका गरामा हिलो सम्म्याउँदा मिजुरा झ्याली दमाहा र ढोलकको तालमा गाइन्छ रोपाई गीत। यसपल्ट कोरोना संक्रमणको त्रास छदाछदै अषाढको अन्तिम सातातिर पुगेको थिएँ वाइलसम्म।

डोटीका पत्रकार मोहन शाहीको प्रेमपूर्ण निम्तो र भाइ राम भट्टको कुशल ड्राइभिङ, तेजबिक्रम शाही, गोविन्द कठायत र कवि लोकराज भट्टको प्रेम यादगार बन्यो। त्यस्तै यादगार बन्यो के आइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीसँगको वर्षौ पछिको भेट र उनले देखाएको प्रेमपूर्ण अतित्थ्य। अनि यादगार बन्यो जसको नामबाट गाउँपालिकाको नाम जुराइयो ती महान व्यत्तित्व डा. के.आईसिंहको जन्मभूमि, उनले वाल्यकाल बिताएको गाउँको भ्रमण। सबैभन्दा यादगार बन्यो गणेश नेपालीसँगको भेट र ढोलीविद्या अर्थात दमाई विद्याको दस्तावेज देख्न पाएको त्यो क्षण। 

मेरो मनमा रहेको कोरोनाको डरलाई ओझेलमा पारिरहेको थियो मनभरी पलाएको वायलको रोपाई हेर्ने रहरले। तर, त्यो रहर पूरा हुन पाएन। त्यतिखेर त्यहाँ हरिया धानका बोटले सुन्दरता बढाइरहेका खेतका गरामा धान गोडिरहेका देखिन्थे महिलाहरु। जेठमै रोपाई भैसक्दो रहेछ त्यहाँ। ती रोपाइमा बाजा बजाउँदै गीत गाएर मनोरञ्जन प्रदान गर्ने कलाकारहरुको बस्तीमा पुग्दा घरको भित्तामा ढोका माथि झुण्डिएकै देखिन्थे रोपाईमा बजाइएका ढोलक। गणेश नेपालीकी जहान गुनगुनाइरहेकी थिइन् धान रोप्दा गाइने गीतका पंक्ती। 

बाहिरबाट हेर्दा सामान्य देखिने दमाहा र ढोलक लगायतका बाजाहरु बजाउदा समय परिस्थिति र स्थान अनुसार फरकफरक  निस्कने धुनको बारेमा चर्चा गर्न थाले गणेशले। उनका अनुसार उकाली, ओराली, खोला, भावर, समतल भूभाग अनि नदी तर्दा बजाइने बाजाको ताल र धुन छुट्टै हुन्थ्यो। अनि लाश लगेर मसानतिर जादा बजाइने बाजाको ताल छुट्टै हुन्थ्यो। उहिलेका मान्छेहरु थाहा पाउँथे र छुट्ट्याउन सक्थे ती तालहरु। अहिले सबैगाउँमा न ती बाजामा विगतकाझैं सबै प्रकारका तालमा बाजा बजाउन जान्नेहरु रहे न समाजमा ती त्यस्ता ताल सुनेर पहिचान गर्न सक्नेहरु नै रहे। सुदूरपश्चिममा बजाइने बाजा र तालको अझैं हुन सकेको छै अध्ययन।

संगीतको दुनियामा निकै कर्णप्रिय र महत्त्वपूर्ण धूनहरुका साथै संगीतको लय पस्किरहेका छन् यहाँका दमाइहरुले परापूर्व कालदेखि नै। कतिपय धुनहरु लोप भैसके भने कतिपय लोपन्मुख छन्। नयाँ पुस्ताको खासै चासो देखिदैन बाउबाजेको कामप्रति। पछिल्लो पिडिमा गाउन बजाउन कसैलाई चासो छैन। ‘तम्रो यो चाँचरी गाएर, दमाहा ढोलक बजाएर टामनटुमन गरेर के हुन्छ? मान्छे काँबाट काँ पुगिसके तमी अझ उस्तै छौ भनिदिदा छन् छोराहरु’ –गणेशले सुनाए यथार्थता। रोपाई गरा गाउदा बजाउँदा पेशागत बनाउन पाए जोगिन्थ्यो कि पुरानो चालचलन ठान्छन् उनी। दिनभरी बाजा बजाएर साँझ मात्र एक माना चामल पाइन्छ भने नयाँपुस्ताको यसप्रतिको आकर्षण पनि कसरी बढोस्। त्यसैले त विगतमा जसरी गाउने बजाउने काम कम हुँदै गइरहेछ।

खेतमा कोदाली चलाउँदै बाजाको तालमा खन्दै नाच्दै अनि ठुल्ठुला गरामा बाजाको तालमा गाउँदै खुट्टाले हिलो सम्म्याउँदै गर्दा थकाइ लागेको पत्तै पाइँदैन थियो। विगतमा रोपाई सकेर पनि बेलुकी रोपाई वालाको आँगनमा दुई तीन घन्टासम्म गाना बजाना चल्थ्यो। एक प्रकारको आनन्द र उमङ्ग छाउँथ्यो मनमा। ती दिनहरु फर्किने वाला छैनन् अब। केही वर्ष पछि भेटिने छैनन् रोपाई गरामा चाँचरी धमारी गाउँनेहरु, बाजा बजाउनेहरु। यो सबै हुनुको पछाडि समाजले दमाईहरुको पेशालाई पेशागतरुपले महत्त्व दिन नसक्नु नै हो। यदि दुई पैसा आर्जन गर्न सक्ने माहोल बन्दो हो उनीहरुको अस्तित्व स्विकारीदो हो त सिक्थे होलान् उनका सन्ततिले पनि। केही सीप नचलेपछि भारततिर यात्रारत बनिदिन्छन् पछिल्लो पुस्ताका पाइलाहरु। 

थप पढ्नुस् breaknlinks.com/nepali/news/35126965

Related News

सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
  • २०७७ श्रावण १७

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...

एक तोला सुन दिने सर्तमा गाउँमै मिलाईएको बलात्कार घटना बाहिरीयो
एक तोला सुन दिने सर्तमा गाउँमै मिलाईएको बलात्कार घटना बाहिरीयो
  • २०७७ श्रावण १७

बैतडी- बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा गाउँमै मिलाएको बलात्कारको घटना बाहिर आएको छ । पीडित किशोरीका आफन्तलाई एक तोला सुन दिने...

नायिका स्वेता खड्काको धनगढीका  युवक विजेन्द्र रावतसँग बिहे हुदैं
नायिका स्वेता खड्काको धनगढीका युवक विजेन्द्र रावतसँग बिहे हुदैं
  • २०७७ श्रावण १७

अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । गत दशैंको बेला उनले ईन्गेजमेन्ट गरेको तस्वीर खबरकुञ्जले प्राप्त...

TOP