हिक्मत शाही
मेरो भौँरी कता होला ?
लेकमा चर्ने चौँरी कता होला ?
उदास देख्छु जताततै
भेडा खेद्ने मेरा बाको
लौरी कता होला ?
न गोठमा पाँडो देख्छु
न भतालोमा खोलेफाँडो देख्छु
के भयो कुन्नि
मेरो त
ताप्केको नौनीको डल्लो हरायो
आगनमा चारो चर्ने
कुखुराको चल्लो हरायो !
नाम्लो हरायो
मेरो डोको हरायो
कान्ला अनि गर्हाको
हरियो घाँस काट्ने धोको हरायो
दाम्लो कता होला ?
किलो कता होला ?
काँकरीलाई गोठमा हाल्ने चिलो कता होला ?
मेरो त
सोतर काट्ने
जाले डोको हरायो
खोरमा बाँधेको
कन्थरे बोको हरायो !
लैनो हरायो मेरो
थारो हरायो
देखिदैन कतै
छाँच पार्ने पारो हरायो
न पानीघट्ट छ कतै
न कतै जाँतो देखिन्छ
मेरो त
तेल पेल्ने कोल हरायो
रोपाइँमा बज्ने ढोल हरायो !
मुसल देखिदैन कतै
ओखल देखिदैन कतै
पानीघट्टको फेदाडोसँगै
जाँतोको हतासो देखिदैन कतै ?
कुटो कोदालो हरायो
हलो हरायो
बेथे , कागुनो चुट्ने
खलो हरायो
मेरो त
इजरको मकै
उचकलाको कोदो अनि
ज्युलाको मार्सीधान हरायो !
ठिन्का कता होला ?
झुलो कता होला ?
गर्हासम्म पानी ल्याउने
कुलो कता होला ?
मेरो त
सुल्पा हरायो
टाँकी हरायो
रोल गएर सोतर काट्ने
भोटे आँसी हरायो !
मेरो फाग कता होला ?
चैतली कता होला ?
न हुड्को देख्छु
न हुड्क्यौली देख्छु
देउडामा चल्ने
पैतली कता होला ?
मेरो त
रोदी हरायो
मारुनी हरायो
चौबन्दी चोलो , पटुका अनि गुनीयोमा सजिएकी
तरुनी हरायो !
दमाउ कता होला ?
मेरो दाइनो कता होला ?
इजा भन्दै डाको लाउने
मेरो साइनो कता होला ?
न सुप्पो बाँकी छ
न फालीको टुप्पो बाँकी छ
मेरो त
घुटिरो हरायो
भोक मेटाउने सिरौलाको
कुटिरो हरायो !
कोही हिमाली हुँ भन्छन्
कोही पहाडी हुँ भन्छन्
कोही आफुलाई
मधेसी हुँ भन्छन्
भाषा हरायो कतै
कतै भेष हरायो
हिमाल , पहाड अनि मधेशको सङ्कुचन भित्र
मेरो त सिँगो देश हरायो !
सिलिगुडी — दार्जिलिङका अग्रज नाटककार तथा चिन्तक पी. अर्जुनको शनिबार...