२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

शिखर नगरपालिकालाई विकासको शिखरमा पुराउने सपना

प्रेमराज अवस्थी
शिखर नगरपालिका-११

डोटीका कफल्लेकी, मुडेगाउँं, मुडभरा, पचनाली, तिजाली, लाटामाण्डौँ, जिजोडामाण्डौँ, बनलेक र बारपाटालाई मिलाएर बि.स. २०७३ सालमा जिल्लाको दोस्रो नगरपालिकाको रूपमा शिखर नगरपालिकाको स्थापना गरिए पनि नगरपालिकाको लागि हुनु पर्ने न्यूनतम गुण, सेवा, सुविधाहरू हुन् धेरै नै वाकी छ। प्रशासनिक र राजनीतिक रूपमा त नगरपालिका भयो, तर सामाजिक, आर्थिक, भौतिक, सांस्कृतिक लगायत गुणस्तरीय जीवन सुनिश्चित गर्न धेरै काम गर्नु पर्ने छ भन्दा अतिशयोक्ति नहोला र यही गतिको विकासले त अझै १० वर्ष सम्ममा पनि यो नगर साँच्चैको नगरपालिका बन्न मुस्किल छ।

भएन, हुँदैन भनेर समस्याको समाधान हुने त होइन, तर बेला बखतको यथार्थ परक समीक्षाले नगरको नेतृत्व तथा बासिन्दाहरू लाई विकासका लागी झकझकाउन सघाउँछ कि भन्ने मनसाय हो । अब ढिला नगरी शिखरका बासिन्दाहरू जुट्नु पर्छ र सबैले आ-आफ्नो स्तर बाट नगरको विकासका लागि केही न केही भूमिका निर्वाह गर्नु पर्छ। यस पालिकाबाट स्थायी वा अस्थायी बसाईसराई गरी अन्त गएका तर, आफ्नो मूल थलोको विकासको यात्रामा जोडिन मन भएकाहरू नगर विकासमा सहभागी हुनु पर्‍यो । कलम चलाउनेले कलम चलाएर, विज्ञता भएकाले ज्ञान र सिप दिएर, लगानी गर्न सक्ने ले लगानी गरेर र घर फर्किने चाहने ले घर फर्किएर साथ दिनु पर्‍यो।

त्यसैगरी, जन प्रतिनिधिहरूले उच्च गति र प्रतिबद्धताका साथ स्थानीय बासिन्दा, प्रदेश, सङ्घ, प्राज्ञिक, निजी क्षेत्र सँग हातेमालो र होस्टे मा हैँसे गर्दै शिखरको विकासको महाअभियान अगाडी बढाउने हो भने पाँच वर्ष भित्र शिखरका ३० हजार बासिन्दाको जीवन मा परिवर्तन ल्याई मौलिक पहिचान सहितको समुन्नत नगरको सपना अवश्य साकार पार्न सकिन्छ।

अब चर्चा गरौँ शिखर नगर बनाउने महाअभियान बारेमा ।

कुल जनसङ्ख्या ३०,३९९ भएको शिखर नगर छिमेकी भारतको उत्तराखण्डको उद्यमसिंह नगरमा रहेको प्रतिष्ठित जीवी पन्त कृषि तथा प्रविधि विश्वविद्यालय क्याम्पसको आवासीय जनसङ्ख्या ३५,८२० भन्दा कम हो । हुन त विश्वविद्यालयको प्राज्ञिक र रोजगारीमा संलग्न जनसङ्ख्या सँग सुदूर नेपालको ग्रामीण जनसङ्ख्याको तुलना गर्नु को तुक त छैन, तर गाउँहरू मिलाएर नगर बनाउनु पनि कुनै खाली जमिनमा विश्वविद्यालय नगर बनाउनु सरह हो भन्ने तर्क गर्न खोजिएको हो। गाउँहरूको नव निर्माण नगर्ने हो भने, नयाँ सोच विचार, व्यवहार सिर्जना नगर्ने हो भने कसरी नगरपालिका हुन्छ ? विश्वविद्यालय बनाउँदा जसरी नयाँ सोच, संरचना र नयाँ सामाजिक सम्बन्ध स्थापित गरियो त्यसै गरी शिखर नगर निर्माणमा नयाँ सामाजिक चिन्तन, व्यवहार र शैली स्थापित गर्नु पर्छ। यहाँ विश्वविद्यालयको सन्दर्भ जोड्नु को अर्को उद्देश्य शिखर को जनसङ्ख्या एउटा विश्वविद्यालयको जनसङ्ख्या भन्दा कम छ भनी भन्नु हो र यो सजिलो सँग व्यवस्थापन गर्न सकिने जनसङ्ख्याको आकार हो। हुन त नेपालकै महानगरका वडा भन्दा समग्र शिखरको जनसङ्ख्या कम छ, तर विश्वविद्यालय सँगको तुलनाले शिखर लाई पनि विद्यालय नगर बनाउन उत्प्रेरणा मिल्छ कि भन्ने पनि हो।

यदि इच्छाशक्ति हुने हो भने सिङ्गो नगरलाई नै शैक्षिक नगरमा परिणत गर्न नसकिने भने हैन, जस्तो शिखर नगरपालिकाको नीति इन्जिनियरिङ, वन विज्ञान, फार्मेसी, कृषि विज्ञान, प्राविधिक विषयमा स्नातक तह सम्मको पढाई सञ्चालनका लागि पहल गर्ने छ। यो सोच लाई कार्यान्वयन गर्न नगर भित्रका विभिन्न ठाउँहरू मा विभिन्न विधाका विद्यालयहरू स्थापना गर्ने हो भने पुरै सुदूर-पश्चिम प्रदेश नै लाभान्वित हुन सक्छ। तर लामो दौडको घोडा जस्तै दीर्घकालीन सोच, दृष्टि का साथ विस्तृत परियोजना मोडिलाटी तयार गरी कार्यान्वयन तिर नलग्ने हो भने शैक्षिक नगर दिवास्वप्न मा सीमित हुन्छ।

त्यस्तै, नगरपालिका को नीति मा नगरपालिका भित्र रहेका पाँच वटा विद्यालयहरूलाई नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य छ। यो कार्यान्वयन गर्न विद्यार्थीहरू कम भएका स्कुलहरू मर्ज गर्दै नमुना व्यावसायिक आवासीय विद्यालय बनाउनु पर्छ। यसका लागि देशको प्रतिष्ठित विद्यालयहरू सँग सहकार्य गर्न सकिन्छ। गुणस्तर शिक्षाका लागि शिक्षक तालिम अनिवार्य जस्तै हो, यसका लागि नगरपालिकाले विश्वविद्यालयहरू सँग सहकार्य गर्नु पर्छ। हरेक विद्यालयमा भरपर्दो इन्टरनेट को सुविधा र पुस्तकालयको व्यवस्था गर्नु पर्छ। केही वर्षको अन्तरालमा अत्याधुनिक सुविधासहितका विद्यालय भवनहरू निर्माण र डिजिटल सिकाइ उपकरणहरूले सुसज्जित स्मार्ट कक्षाकोठाहरू सञ्चालन गर्ने योजना पनि बनाउनु पर्छ र यति गर्ने हो भने योग्य नागरिक उत्पादन गर्नुका साथै नगर शैक्षिक हब को रूपमा पनि विकसित हुने छ।

शिखरका बस्तीहरू सयौँ वर्ष पुराना हुन् र घरहरू पनि धेरै पुराना छन्। समृद्धिको सुरुवात बस्ती र घर सुधार बाट गर्नु पर्छ।

नयाँ घर नयाँ सुरुवात

नगर पालिकाको नीति मा बस्ती विकास कार्यक्रमद्वारा वादी र भूमिहीनहरूका लागी “एक परिवार एक घर” कार्यक्रम कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गर्ने छ। अब यो नीति लाई बृहत् बनाउनु पर्छ। २०७९ कार्तिक २३ मा पूर्वी डोटी मा गएको भूकम्पले बलिया, भूकम्प प्रतिरोधी घर बनाउनु पर्ने आवश्यकता लाई स्मरण गराएको छ।

गुजमुज्ज परेका बस्तीहरू सुधार गर्दा घरहरू को बिचमा हिँड्ने बाटो र छेउछाउ मा सुगन्धित र सौन्दर्य बिरुवा, फुलहरू रोप्ने, बिचमा बाल-बच्चा खेल्ने खुला चौर बनाउने हो भने बस्तीहरूको मुहारै फेरिन्छ ।

नयाँ सुधारिएका घरमा सुधारिएको भान्सा, शौचालय, स्नान कोठा, आँगन र करेसाबारी सहित को बनाउनु पर्छ। कम लागतमा स्थानीय मौलिक संस्कृति झल्किने र स्थानीय स्वीकार्यता भएको घर को प्रोटोटाइप विकासका लागि नगरपालिकाले सुदूरपश्चिम विश्वविद्यालय वा इन्जिनियरिङ अध्ययन संस्थान सँग सहकार्य गर्न सक्छ। स्थानीय र वैज्ञानिक ज्ञानको सम्मिश्रण (स्थानीय सिकर्मी, डकर्मीहरूको सीपमा आधुनिक इन्जिनियरिङ मिश्रण) बाट सबल, बलियो, सुधारिएको, भूकम्प प्रतिरोधी र मौलिक किसिमको घरहरूको निर्माण गर्न सकिन्छ। स्थानीय स्रोत साधनहरू (सिलेट, ढुङ्गा, माटो र काठ) र नयाँ प्रविधि जस्तै सौर्य ऊर्जा को प्रयोग गरेर कम लागत मौलिक खाले घरहरू बनाउन नगरपालिकाले स्थानीय बासिन्दा, निजी तथा गैरसरकारी क्षेत्र सँग को सहकार्य गर्न सक्छ।

नगरपालिका ले सिकर्मी, डकर्मी तथा अन्य सिपमूलक तालिम सञ्चालन गरी स्थानीय जनशक्ति तयार गर्न संयोजन गर्ने र निजी क्षेत्र लाई काष्ठ उद्योग, ढुङ्गा काट्ने उद्योग, सिलेट बनाउने लागायता लघु उद्योग खोल्न सहजीकरण गर्ने हो भने घरहरूको पुनर्निर्माण र बस्ती सुधार सँग सँगै अगाडी बढ्न सक्छ। घरहरू तथा बस्तीहरूको सुधार बाट नगर नव निर्माण महाअभियान सुरु गर्न सकिन्छ।

यदि आवास निर्माण को लागि चाहिने सामग्री, बजार सहज र सुलभ हुने हो भने यस नगर बाट बसाई सराई गरी बाहिर गएका अन्दाजी १५ प्रतिशत जनसङ्ख्या लाई आफ्नो पुरानो, जीर्ण घर निर्माण गर्न प्रेरित गर्न सकिन्छ। यसरी नगर निर्माणको महाअभियानमा आफ्नो मूल थलो फर्किई विकास मा सहभागी हुने चाहनेहरू का लागि माहौल पनि सिर्जना हुन्छ।

घर, बस्ती सुधारले व्यक्ति, परिवारको जीवन मात्र हैन सम्पूर्ण समाजलाई रूपान्तरण गर्न सकिन्छ। भर्खरै, भारत सरकारले गरिब जनताका लागि ३ करोड घर बनाउने निर्णय गरेको छ, यो सङ्ख्या नेपालको सम्पूर्ण जनसङ्ख्या भन्दा बढी हो। शिखर नगर पालिकामा परिवार सङ्ख्या ६,६६५ जति छ, यसमा पनि उल्लेख्य परिवार अस्थायी बसाई-सराई गरेका छन्। जम्माजम्मी घरधुरी सङ्ख्या आठ हजार जति होला, त्यसमा पनि नगरले ४८.९% गरिबीको रेखा मुनि रहेका बासिन्दाको घर निर्माण मा सहयोग गर्ने हो भने चार हजार जति घर बनाउने पर्ने देखिन्छ। स्थानीय सामग्री को प्रयोग गर्ने र पाँच लाख सहुलियत ऋण दिँदा दुई अर्ब जतिमा विपन्न परिवारहरूको घर बनाउन सकिन्छ। घर, बस्ती सुधारको साथ आय आर्जन को कार्यक्रम सुरु गर्ने हो भने, घर निर्माण को सहुलियत ऋण सोही आय-आर्जन बाट १० वर्ष भित्र तिर्ने खाले मोडिलाटी तय गर्न सकिन्छ। यसका लागी नगरको नेतृत्वले ठुलो इच्छाशक्ति सहित प्रदेश, सङ्घ सँग उचित समन्वय गरी ऋण वा अनुदान के हुन् सक्छ स्रोत परिचालन गर्नु पर्छ। यसरी महाअभियान बनाएर अघि बढ्दा घर, बस्ती सुधार असम्भव छैन। नेपालमै कलाकारहरूले नेतृत्व लिएर सयौँ घरहरू र बस्तीहरू निर्माण गरेका ज्वलन्त उदाहरण हामी सँग छन्।
सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण शिखरको विकासलाई आवास र बस्ती सुधार सहित शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सृजना, आर्थिक गतिविधि, सरसफाइ, सामुदायिक सशक्तीकरण, व्यवहार परिवर्तन, नागरिक शिक्षा सँगै प्रकृतिमा आधारित मौलिक पहिचान सहितको पूर्वाधार विकास, पर्यावरणीय सौन्दर्यीकरण, र सांस्कृतिक प्रवर्द्धनमा केन्द्रित गर्नु पर्दछ।

कसरी बनाउने त प्रकृतिमा आधारित मौलिक पहिचान भएको नगर पालिका ?

पहिले हेरौँ शिखर नगरपालिकाको भगौलिक, सांस्कृतिक, प्राकृतिक विशेषताहरू, यस नगर सँग प्राकृतिक रूपमा सम्भावना नै सम्भावना छ। यसको भूगोल, शिखर लेक शीतोष्ण देखि सेती नदीको तट उपोष्ण सम्मको जलवायु छ। कुल २८५.३९ वर्ग किलोमिटर क्षेत्रफल मा फैलिएको नगरमा १९६६९ हेक्टर वा ६९.३ प्रतिशत जमिन जङ्गल क्षेत्रले ओगटेको छ भने वाकी जमिन खेतीपाती र मानव बस्ती छ। यस नगरमा खर्सु, बाझ, निगालो धुपी सल्ला जस्ता वनस्पति देखि लिएर उष्ण प्रदेशीय भेगमा पाइने साल, सल्ला, साज, सिसौ पाइन्छन्। जडीबुटीमा चिराइतो, दालचिनी, टिमुर, बोझो, सुगन्धवाल, अमला, रिट्ठा, तेजपात, पाषाणवेद, सुनझाडी, कुरिलो ,चुत्रो, जटामसी ,सुनगाभा, भार्ला, कचुर, असुरो, हर्रो र बर्रो पाइन्छन्।

यदि यी प्राकृतिक सम्पदाको उचित संरक्षण र विवेकी उपयोग गर्ने हो भने नगरका बासिन्दाको आयस्रोत बढाउन सकिन्छ। पहिला पहिला ठेकेदारहरूले सल्ला बाट खोटो खुब निकालथिए, खच्चरहरू ले टिनमा खोटो खुब बोक्थे, तर स्थानीय आफूले संरक्षण गरेको बन बाट लाभ पाएको कहिले पनि देखिएन, अब त्यस्तो नियति को अन्त भयो होला। हुन् त नेपाल मा बन को कानुन कडा छ र व्यवहारमा पनि जङ्गल भनेको संरक्षण मात्र गर्ने हो भन्ने भाष्य छ। तर स्थानीय सरकारले प्रदेश, सङ्घ सरकार का निकायहरू सँग समन्वय गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै काष्ठ उद्योग (पाइउड, पारकेटिड़) जडिबुडी उद्योग, बनका झारपात संलग्न गरी प्राङ्गारिक मल बनाउने उद्योग खोल्न सकिन्छ।

प्राकृतिक स्रोतको विवेकी उपयोग ले यस नगरका बासिन्दाहरू को जीवनस्तरलाई उकास्न सकिनेमा दुबिधा छैन। खाडी मुलुकहरू तेल बाट सम्पन्न भए जस्तै शिखर प्रकृति ले दिएको चिज बाट सम्पन्न हुने हो। जहाँ प्रकृति फस्टाउँछ, त्यहाँ समुदाय फस्टाउँछ भने जस्तै जडीबुटी, जङ्गल, पानी, खोला-नालाको संरक्षण संवर्द्धन गर्दै र उपभोग अनुसार पुनरुत्थान गरी नगर लाई समुन्नत बनाउन सकिन्छ।

नगर बासीहरूको मनोरञ्जनको लागि ,बाल-बालिका खेल्न, वृद्ध- वृद्धाहरूलाई टहलिन, र बस्तीहरूको सौन्दर्यीकरण गर्न र खुला क्षेत्र कायम गर्न कम्तीमा एक वडा एक पार्क बनाउनु पर्छ। रङ्गीचङ्गी फूलहरू र सुगन्धित बोटबिरुवाहरूको बिचमा एक छिन स्थानीय बासिन्दा बसिबियाँलो गर्ने थलो पनि हुने यस्ता पार्क बिना सिमेन्ट को प्रयोग गरी मौलिक खाले बनाउन पर्छ। पार्कहरू मा बस्ने कुर्ची, बेन्च, ठुला टेबल स्थानीय सामग्री काठ बाट बनाउन सकिन्छ र कोब्बलस्टोन/ ढुङ्गा बिछ्याउँदा सुन्दर पनि हुने र बर्खा याममा पनि हिँड्न मिल्न बनाउनु पर्छ। यस्ता पार्क मा पिकनिक गर्ने, बिभिन्न पर्व, तेल्मारो खुवाउने चलन, माघ महिना मा चेलीबेटी लाई खुवाउने, जन्मदिन मनाउने कार्यहरू गर्न सकिन्छ। साथै, हरेक बस्ती, टोल मा खेलमैदान पनि निर्माण गर्नु पर्छ ।

छोटो पद यात्रा अथवा हाइकिङ ट्रेलमा कोब्बलस्टोन (ढुङ्गा बिछ्याउने) ले दिगो र सौन्दर्ययता बढाउँछ। यसो प्रयोग स्वरूप गोलमा गाड बाट झोलुङ्गे पुल तरी पारी बारबाटा, सिमखोली हुँदै किमाडा सम्म को पद मार्ग विकास गर्न सकिन्छ। लगभग पाँच किलोमिटर को दुरी को यो पैदल यात्रा मा बिचमा कम्तीमा तिन वटा जति पसल होउन् जहाँ पदयात्री चिया, कफी, सहित चाहा, छाई जस्ता स्थानीय पेय पदार्थ को मजा लिन सकुन्।

नगरपालिकाले ट्रेल दौड आयोजना गर्ने नीति बनाउनु पर्छ, यसको लागि पूर्वी भाग मा अवस्थित कफल्लेकी देखि केदारेश्वर, मुडेगाउ, सालमुनि, मुडभरा, तिजाली, पचनाली, लाटामाण्डौ, जिजाडामान्डौ, वनलेक गहनना हुँदै सेती नदी को झोलुङ्गे पुल तरेर वारवाटा र गोपघाट जोड्ने ट्रेल बनाउन सकिन्छ। यो ट्रेलमा सुदूर-पश्चिममै सुरुवात हुन् बाकी ट्रेल दौड आयोजन गर्न सकिन्छ। र यस्तो ट्रेलमा साहसिक साइक्लिङ लाई पनि जोड्नु पर्छ।

नगर को नीति मा समुवागाड देखि नापानीसम्म, शिखर काफलीसम्म पद मार्ग विकास गर्ने र पचनाली देखि मुड्भरासम्म आवश्यक स्थानहरूमा आगन्तुक पर्यटकहरूको लागि सरसफाई युक्त लज र रेस्टुरेन्टको व्यवस्था गर्ने छ । साथै यहाँका धार्मिक र प्राकृतिक सम्पदाहरूलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, नापानी क्षेत्रमा पिकनिक स्पट र होमस्टे, सालमुनि मन्दिर, शिखर काफली मन्दिर, सैम लुवाखाटी र गहनान को बहुआयमिक विकास गर्ने छ। यी कार्य का साथै गहनान मा प्राकृतिक चिकित्सा केन्द्र, योग साधना खोल्न निजी वा सामुदायिक लगानी प्रोत्साहन गर्नु पर्छ। नगर लाई एक प्राकृतिक गन्तब्य को रूपमा विकास गर्न प्लास्टिक, पत्रु खाना लाई निरुत्साहित गर्नु पर्छ। फोहर मैलाको वर्गीकरण गरी रिसाइकल गर्ने चलन लाई प्रोत्साहन गर्नु पर्छ। फोहर मैला नदी, खोला आदि मा फाल्ने बानी लाई दण्डित गर्नु पर्छ। अहिले वातावरण प्रति सबै अति नै सचेत भईराखको बेला, साइक्लिङ, हाइकिङ र ट्रेल दौड ले महत्त्व पाइर्रखेको छ। यस्ता संरचना र गतिविधि ले नगर लाई पर्यटकीय गन्तव्य को रूपमा विकास गर्न मदत गर्दछ। त्यसैले ठाउँ ठाउँमा साइकल ट्रेल निर्माण गर्दै र बेला बेलामा साइकल चलाउने तालिम दिनु पर्छ। सहुलियत दर मा साइकल वितरण गर्ने जस्ता कार्यक्रम सुरु गर्दा साइकल चलाउने संस्कृतिलाई प्रवर्द्धन हुन्छ र शिखर एक हरित नगरका रूपमा आफ्नो मौलिक पहिचान लागि चिनिने छ।

नगर सौन्दर्यीकरण गर्न का लागि सबै भन्दा सजिलो, किफायती र देखिने काममा मध्य भाग भएर जाने के.आ.इं.सिंह राजमार्गको पश्चिमतिरको सुरुवात बिन्दु कोराल खोला बाट पूर्वमा दिपायल सिलगढी नगरपालिकाको समुवागाड सम्मको छेउछाउ र सेती नदी पारि को खाली र उजाड जमिनमा रुद्राक्ष, बर, पिपल, गुलमोहर, सिरिस, जाक रन्डा, बगनभिलिया, अमला र बेल जस्ता सौन्दर्य र उच्च मूल्यका बिरुवा रोप्नु हो । कम्तीमा एक लाख बिरुवा रोप्ने र हुर्काउने हो भने इकोसिस्टम पुनरुत्थान र सौन्दर्ययता बढ्ने र मौसम अनुसारका रंगीचंगी फुलहरूले पर्यटक पनि निम्ताउने, एक छिन कल्पना गरौँ त वैशाख र ज्येष्ठ महिनामा मा गोल्मा गाड तिरको सडक को छेउमा उभिएर पारि बारबाटा तिर गुल्मोहर, ज्याकारान्डा, बगनभेलीले रङ्गीचङ्गी दृश्य र फोटो खिच्ने मानिसहरू को भिडभाड। आजै बिरुवा रोप्न सुरु गर्ने हो भने तिन वर्ष पछि सेती नदीको दुवै किनारमा बान्डुग्रीसैन देखि समुवागाड को सौन्दर्यता र सुवास ले जन प्रतिनिधिहरूले जस नै जस पाउनेछन् र बर्षौ सम्म पनि स्थानीय ले सम्झिराख्ने छन्।

नगर पालिकाको नीतिमा नगरभित्र रहेका सडक तथा अन्य जोखिम भएका स्थानहरूमा एक टोल एक सय बोटबिरुवा रोप्ने र सार्वजनिक बाँझो जमिनहरूमा वृक्षारोपण गर्न स्थानीय वासिन्दाहरुलाई प्रेरित गर्ने छ। यो कार्यक्रम तुरुन्तै लागु गर्नु पर्छ, कम्तीमा एक वर्षमा नगर भित्र एक लाख जति बिरुवा रोप्नु पर्छ। बिरुवा हुर्काउन प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रम को सहयोग लिन सकिन्छ। रोजगार चाहने मानिसहरू लाई बिरुवा हुर्काउने जिम्मा दिने र तिन वर्ष जति वर्ष को अन्तिम मा रिजल्ट अनुसार बिरुवाहरू हुर्काएको लागि ज्याला दिने खाले मोडालिटी मा जाने हो भने बिरुवा रोप्ने मात्र हैन रोपेका बिरुवा हुर्काउने कार्य पनि सुनिश्चित गर्न सकिन्छ। यस्ता वृक्षारोपणले सुन्दरता मात्र बढाउँदैन सुख्खा, पहिरो आदि प्रकोप जोखिम लाई न्यूनीकरण गर्न बायो- इन्जिनियरिङको काम पनि गर्ने छ र जलवायु परिवर्तन अनुकूलन मा सहयोगी हुने छ। सेती नदी र खोला, गाडका किनारमा बाँस रोप्दा बाढीलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्न र पहिरोको जोखिममा रहेका क्षेत्रहरूलाई स्थिर बनाउन सकिन्छ। अर्को गर्नु पर्ने कार्य मा डाडाहरु मा भएका खाली (पोखरी) को पुनरुथान। वर्षा को पानी सङ्कलन गर्ने यो परापूर्व देखि चली आएको चलन को खाँचो बढ्दो गर्मी, आगलागी र खडेरी सँग जुध्न र जङ्गल को बिच मा पानी संरक्षणले चराचुरिंगी र वन्यजन्तु लाई फाइदा गर्छ। यस्ता अभ्यासहरू ले नगर लाई प्रकृति-आधारित समाधान खोज्ने एक मोडेल नगर पनि बनाउँदछ।

शिखर नगरपालिकालाई सांस्कृतिक जीवन्त नगरका रूपमा अगाडि बढाउने नगरपालिका को सोच अनुसार ठाउँ ठाउँमा सांस्कृतिक कार्यक्रम गर्ने डबली निर्माण गर्नु पर्छ। प्रवचन कार्यक्रम, सभा, सम्मेलन गर्न खुला तथा बन्द संरचना सहित को डोटेली संस्कृति झल्किने सांस्कृतिक केन्द्रको स्थापना गर्नु पर्छ। यस्ता सांस्कृतिक केन्द्रमा वार्षिक डोटेली साहित्य महोत्सव गर्नु पर्छ र यस्ता कार्यक्रम मा सकभर स्थानीय खाना का परिकारहरू जस्तै पिना पानी, ताले माडा, दुब्का, चुकाउनी, बाबर, बटुक, कोदेको रोटो, मयरि, पलायो प्रवर्द्धन गर्दै स्थानीय गौरव बढाउँदै पर्यटकलाई आकर्षित गर्न सकिन्छ।

जङ्क फुडको उपभोगलाई निरुत्साहित गर्दै स्थानीय रेस्टुरेन्टहरूलाई स्थानीय परिकारको प्रवर्द्धन गर्न लगाउनु पर्छ डडेलधुरा, सिलगढी बाट सेती को माछा को स्वाद लिन गोपघाट जाने चलन छ, यस्तै चलनमा टेकेर खाना परिकार पर्यटनको भित्राउन माहौल सिर्जना गर्न सकिन्छ।

उच्च गुणस्तरीय र सुरक्षित खाद्यान्न उत्पादनको जैविक खेतीपाती लाई प्रवर्द्धन गर्ने नगर को नीति अनुसार कोदोजन्य बाली को प्रवर्द्धन गर्दा जलवायु परिवर्तन अनुकूलन हुने र बढ्दो कोदोको मूल्य बाट फाइदा पनि लिन सकिने हुँदा नगर ले कोदोजन्य बालीमा जोड दिनु पर्छ। नेपाल कृषि अनुसन्धान परिषद्सँगको साझेदारीमा नगरपालिकाले कोदोको अनुसन्धान र विकासमा लगानी गर्न सक्छ।

स्थानीय उत्पादनलाई बजार सँग जोड्न उत्पादनहरूको “शिखर” ब्रान्डिङ गर्न सकिन्छ

प्राकृतिक दाना घाँसपात खुवाउँदै गाईबस्तु पाल्दा दूध र दूध-जन्य पर्दार्थको मूल्यमा उल्लेखनीय वृद्धि हुन सक्छ, घ्यू, चीज र अन्य दुग्ध उत्पादनहरू लाई “शिखर” ब्रान्डमा स्थापित गर्न सकिन्छ। सुदूरपश्चिममा चिज उत्पादनको आर्थिक सम्भावना राम्रो छ। शिखरको उच्च पहाडी क्षेत्रमा चिज उद्योग स्थापना गर्ने हो गाईबस्तुका लागि चरन व्यवस्थापन गरी प्राकृतिक दुग्ध उत्पादनहरू (औद्योगिक दाना नखुवाएको) बाट राम्रो आम्दानी गर्न सकिन्छ। कृषकहरू लाई चरण क्षेत्र व्यवस्थापन को जिम्मा दिने र दुग्ध व्यवसायबाट हुने नाफाबाट केही अंश कर लगाउँदा एउटा मोडालिटी को पशु पालन को विकास गर्न सकिन्छ।

नगरको नीति अनुसार गाईबस्तुको घाँस सङ्कलनलाई सहज बनाउन र महिला माथिको बोझ कम गर्न सीमान्तकृत भूमिमा घाँसका रूख र घाँस खेतीलाई प्रवर्द्धन गर्नु पर्छ। यसरी प्रकृति-आधारित समाधानहरू द्वारा रोजगारी सिर्जना, आय-आर्जन र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दा शिखर नेपालको एक मौलिक पहिचान भएको नगरपालिका बन्न सक्छ।

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नको लागि प्लम्बिङ, विद्युतीय काम, सिलाइ-कटाई र घरेलु उद्योग सञ्चालन गर्न व्यावसायिक तालिमको सुरुवात गर्नु पर्छ। साना घरेलु मसला तथा खाद्यान्न उद्योगहरूलाई प्रोत्साहन गर्दै परम्परागत पेसा व्यवसाय लाई आधुनिकीकरण तर्फ लैजानु पर्छ। शिखर नगरपालिकाभित्र हाट बजार को संस्कृति लाई भित्राउनु पर्छ, जसले स्थानीय अर्थतन्त्र लाई चलायमान बनाउने छ।

स्थानीय स्वास्थ्य चौकी बाट हुने स्वास्थ्य सेवा को गुणस्तर बढाउन नगरपालिका ले कुनै मेडिकल कलेज सँगको सहकार्य मा टेली-मेडिसिन सेवा सुरु गर्नु पर्छ। सरसफाइ लाई खाली चर्पी को प्रयोग र हात धुने मा सीमित नराखी कसरी उन्नत सरसफाइ बाट पर्यटक बढ्न सक्छन् र राम्रो सरसफाइ बाट राम्रो आर्थिक लाभ सँग जोड्नु पर्छ।
शिखर नगर पालिकाको नीति मा शाखा सडकहरूको स्तरोन्नति र बिस्तार गर्नुका साथै वडाहरूको सडक सञ्जाल निर्माण गर्ने र प्रत्येक वडाका केन्द्रलाई र टोलहरूसँग जोड्ने सडकहरूको बिस्तार गर्ने छ। यस्ता सडकहरू विशेष गरेर हरित बनाउनु पर्छ जसले स्थानीय रोजगारी सिर्जना र वातावरणमा क्षति हुन् बाट जोगाउँछ र डोजरे विकास ले निम्त्याएको सङ्कट बाट पनि बचाउदछ। सबै दत्त चित भएर लागे पाँच वर्ष को अवधि मा शिखर नगरपालिका लाई मौलिक पूर्वाधार सहित सुविधा सम्पन्न नगर बनाउन अवश्य सकिन्छ।

(संयुक्त राष्ट्रसंघमा कार्यरत लेखकका यी निजी विचार हुन् )

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ असार १

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP