२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कोरोना, कोइला, दीप अनि पराली

आस्था र अन्धविश्वासलाई कसैले एउटै तुलोमा जोख्ने मुर्खता गर्छ भने त्यसलाई मेरो आत्माले पटक्कै स्वीकार गर्दैन । म आत्माको अभिव्यक्ति बोल्छु । कसैबाट निर्देशित भएर ओठे अनि झुटो अभिव्यक्ति बोल्न मलाई न मेरो स्वभावले दिन्छ, न त आत्मसम्मनले नै । जीवनमा जे जति आर्जन गरेको छुँ, त्यो आफ्नै पौरख अनि पारिवारिक सँस्कारको प्रतिफल हो । अर्को कुरा म अनावश्यक महत्वाकांक्षा पालेर सुखको खोजी गर्दै दुःखका पछि जीवनभर दौडिने दुखी आत्मा पनि होइन ।

म सँग जे जति छ मलाई त्यसमा रम्न मजाले आउँछ । जीवनमा सकिन्छ भने दिन सकियोस् तर कसैसँग हात पसारेर अनि पैतला सुम्सुम्याएर वैभवको जीवन बाँच्ने मेरो कुनै लालसा छैन । त्यसैले कसैलाई न चाकरी गरेर रिझाउनु परेको छ, न त कसैको अनावश्यक आलोचना गरेर आत्मरतीमा रमाउनु परेको छ । तर एउटा कुरा के चैं सत्य ह‍ो भने मनमा लागेको कुरा कुनै किसिमको बान्की अनि भुमिका नबाँधेरै सिधा भनिन्छ । ठीकलाई ठीक र गलतलाई गलत भन्न पनि कसैको स्वीकृति लिइरहनु पर्छ र भन्या ? आफ्नो आत्माले धिक्कार गरेर कसैका लागि प्यारो बन्नु छैन मलाई ।
आस्था धार्मिक विश्वास हो भने अन्धविश्वास पाखण्ड अनि मुर्खता । म आस्तिक अवश्य हुँ तर अन्धविश्वासी किमार्थ पनि होइन । त्यसैले कुनै किसिमका अन्धविश्वास, भ्रम अनि पाखण्डलाई मेरो आत्माले स्वीकार गर्दैन ।

कसैको धार्मिक आस्था अनि विस्वासमाथि ठोस पुर्याउने कुरा म कल्पना पनि गर्न सक्दैन । यसो गर्ने छुट मलाई न मेरो विवेक दिन्छ, न त प्रचलित ऐन कानुनले नै । मलाई मेरो धार्मिक आस्था प्रति विश्वास छ, भने अरुको धार्मिक आस्था प्रति सम्मान पनि । तर केहि दिनयता अनेक किसिमका भ्रामक हल्लाहरु पिटेर मानिसलाई आतङ्कित अनि भयभित पार्न एउटा अपराधी गिरोह सक्रिय भएर लागेको छ । भ्रमहरुले समस्याको समाधान दिँदैनन् । बरु मान्छेलाई एकपछि अर्को समस्याको दलदलमा फसाउँछन् । जुनदिन भ्रमलाई पनि सत्य ठानिन्छ नि, हो त्यसैदिबाट हो डोरी पनि सर्प जस्तो देखिने ।

कोरोना वर्तमान विश्वासका लागि सबै भन्दा ठूलो चुनौती बनेको छ । अमेरिका, चीन, बेलायत, जर्मनी, इटालीजस्ता शक्तिशाली राष्ट्रहरुले समेत कोरोनाका अगाडि आत्मसमर्पण गरेको अवस्था छ । उनिहरुका अत्याधुनिक प्रयोगशालाहरु समेत कोरोनाको अगाडि लाचार अनि बिवश बनेका छन् । ति देशहरुमा दैनिक हजारौं मानिसहरु कोरोनाकै कारण जीवन गुमाइरहेका छन् । अहिले विश्व मानव समुदाय एकातिर छ, भने कोरोना अर्कोतर्फ । यसै त्रासकाबिच विश्व महाशक्तिका मुखिया ट्रम्पले त मुख छाडेरै भनिसके, ‘अमेरिकीहरूको मृत्युुलाई दुई लाख भित्र रोक्न सके पनि उपलब्धि हनेछ ।’ भनेर । यो हदसम्मको त्रास अमेरिकामा मात्र नभएर सारा संसारभरि छ । संसारभरिका मानिसहरु आफ्नै घरभित्र अघोषित कैदी बनेर बसेकाछन् । सामाजिक सम्बन्ध अनि सहकार्यमा भोटेताल्चा लागेको छ । उद्योग, व्यापार, पर्यटन, कृषिलगायत सबै किसिमका आर्थिक क्रियाकलापमा ब्रेक लागेको छ ।


यस्तो मानव सभ्यता माथि नैं प्रश्नचिह्न खडा गरिरहेको कोरोनालाई केहि मुर्खहरुले टाइमपास अनि बसिबियालोको बिषय बनाएका छन् । कोरानाको आडमा मानिहरुसँग कुनै न कुनै बहानामा भावनात्मक अत्याचार गरिदैछ । अनावश्यक भ्रम छरेर मानिसलाई आतङ्कित अनि भ्रमित पार्ने कामपनि कुनै न कुनै किसिमले आतङ्कवादी गतिविधि नै हो । यसको जति नै भत्सर्ना गरेपनि कम हुन्छ । कहिलेकाही अन्धविश्वास अनि भ्रमको पछि दौडदा दौडदै मानिस वास्तविकताबाट टाढा भागिरहेको हुन्छ । यस्तो अवस्था कालान्तरमा गएर मानव समुदायको हित तथा भलाईका लागि प्रत्युत्पादक हुनजान्छ । किनभने विश्वासको पतित अनि स्खलित स्वरुप नै अन्धविश्वास हो ।
केहिदिन देखि केहि सिल्लीहरुले सिलसिलाबद्द अनि नियोजित ढङ्गले चलाइएका भ्रम अनि अन्धविश्वासका श्रङ्खलाहरुः

१. कोइला काण्डः कुन चैं काम नपाएको बदमासले आगन खनेर निस्किएको कोइला टिका लगाउँदा कोरोनाबाट बच्न सकिने सल्लाह दिएपछि मेरो प्रदेशका तराई देखि हिमालसम्मका धेरै मानिसहरुले उसको आदेशको पालन गरे । आगन खन्दै कोइला निकाल्दै टीका लगाउँदै । ग्रामीण भेगमा बसोबास गर्ने निरक्षर अनि निर्दोष मानिसमा यस्ता भ्रामक कुराको एकहदसम्म प्रभाव पर्नु स्वाभाविक हो तर आफुलाई शहरी, सम्भ्रान्त अनि बौद्धिक सम्झने बर्गका मानिसमा पनि यसको गहिरो प्रभाव पर्यो । दुखीआत्माहरुले लिपपोत गरेर चिटिक्क पारेको आगनलाई समेत भुँइपत्ताल लगाएर खेत खनेझै खने र कोइला निकाले । दाउरा पोल्नेहरुको आगनमा कोइला ननिस्किएर के हीरा निस्कन्छ त ? सुपका शहरी क्षेत्रमा समेत ज्ञाँस अनि विधुतीय चुलो बाल्न थालेको कति नै समय भएको छ र ? यस्तो अवस्थामा आगन खन्दा कोइला निस्कने कुरा सामान्य हो । यस धटनालाई असामान्य र अतिरन्जित ढङ्गले बिज्ञापन गर्न बढी सक्रिय वौद्दिक बर्ग नै अग्रसर देखिय‍ो । आफुलाई राज्यको चौथो अङ्ग भनेर अहङ्कार गर्ने अनि समाज सुधारको एक्लो ठेकेदार सम्झने वर्गले समेत यसलाई हेडलाइन बनाएर ब्यापक प्रचार प्रसार गरे । तिनले कोइलाको टिका लगाएर कोरोना काटेकै दिन सुप प्रदेशमा कोरोनाको पहिलो सङ्क्रमित ब्यक्ति भेटियो ।


२. पराली काण्डः कोइला काण्डको राप र ताप सेलाउन पाएको थिएन । फेरि भ्रम अनि अन्धविश्वासको अर्को खेती सुरु भयो । प्रभुले टिकापुर, लम्की तिर पोलेको परालको बर्षा गराएछन् । त्य‍ो पनि कोरोना भगाउन । सबै वर्ग, धर्म अनि सम्प्रदायका केहि मानिसहरु आ-आफ्नो प्रभुको आशिष लिन सडक देखि खेतसम्म दौडिएछन् । त्यो सौभाग्य कतिलाई प्राप्त भयो वा कतिलाई प्राप्त भएन तर सौभाग्य प्राप्त भएका वौद्दिक तथा सम्भ्रान्तहरुले सामाजिक सञ्जालमा त्यसको राम्रै प्रचार प्रसार गरे ।
प्रचार प्रसार गरिए जस्तो परालको वर्षा गराउने प्रभु नभएर कतै कृषकको परालमा आग‍ो सल्केको रैछ । त्यहाँबाट हावाले उडाएको डढेको पराल परपर सम्म खस्न पुगेको रैछ । फेरि आकासबाट परालको मात्रै वर्षा हुने हो र ? कहिले काहिँ त चक्रबातका कारण माछा, भ्यागुता अनि गगटाको समेत वर्षा हुन्छ ।


परालीको एउटा रोचक प्रसङ्ग
हरेक वर्ष पन्जाब अनि हरियाणामा जलाईने परालिका कारण दिल्लीमा मौसमी प्रदुषण अत्यधिक बढेर जान्छ । एक पटक त त्यसको कु प्रभाव भारत र श्रीलंकाको क्रिकेटमा समेत परेको थियो । दिल्लीको भिजिबिलिटि गुल भएको थियो भने मानिसलाई सास फेर्न समेत सकस परेको थियो । दिल्लीमा गाडीमा अड ईभनको फर्मूला पनि त्यसै समयमा लगाइन्छ भने राज्य सरकारहरु बिच अनौठो जुहारी चल्छ ।
परालीको चर्चाकै बिच सुपमा फेरि कोरोनाका थप तीन जना बिमारी थपिए ।


३. दीप काण्डः हिजो अर्थात अप्रिल ५ तारिखमा भारतमा भारतीय जनता पाटीको ४१ अौं स्थापना दिवस । भरतमा हाल नरेन्द्र मोदीको नेतृत्वमा भाजपाकै सरकार छ । कोरोनाका कारण सिँगो देश नै लकडाउनमा भएकाले मोदीले आचारसँहिता भित्रै रहेर पाटीको वार्षिकोत्सब मनाउने नयाँ काइदा निकाले । उनले राती नौबजे दीप प्रज्वलन गरेर कोरोनाका बिरुद्ध एकेवद्दता जनाउन देशबासीलाई आग्रह गरे । त्यसको घुमाउरो अर्थ भारतीयहरुलाई सम्पुर्णरुपमा भाजपाको स्थापना दिवसमा सहभागी गराउनु थियो । प्रतिपक्ष काङ्ग्रेसको बिरोध हुँदाहुँदै पनि भारतीयहरुले जानेर वा नजानेर मोदीलाई साथ दिए । त्यो भारतको आन्तिक मामला भयो त्यसमा मेरो कुनै चाँसो र सरोकार छैन ।
तर मलाई अनौठो त त्यतिबेला लाग्यो जब नेपालीहरुले समेत भाजपाको स्थापना दिवस दीप बालेर अनि थाल ठटाएर धुनधनासँग मनाए । सँधैका नास्तिकहरु पनि हिजोराती दियोको धार्मिक अनि वातावरणीय महत्वमाथी उपदेश दिदै दियो सल्काउन थाले ।
मुर्खताको पनि सीमा हुन्छ । कान नछामेर कागको पछाडि दौडने नेपालीहरुलाई मोदीले अप्रिल ५ मा आएर फुल बनाए । अझ पनि पाखण्डी अनि मुर्खहरु आफुले गरेको गल्तिमा आत्मग्लानी सहित माफी माग्नुभन्दा झनै आत्मरतीमा रमाइ रहेका छन् । यो भन्दा ठूलो राष्ट्रिय लज्जा के हुन सक्छ । मैले सुरुमै भनेझै अन्त्यमा पनि दोहर्याउन चाहन्छु । मेरो बिरोध धार्मिक आस्था अनि विश्वाससँग होइन । म धार्मिक आस्थाका आधारमा हिन्दु भएकाले दीप बाल्ने कुरासँग त झन मेरो केको बिमती ? एक दिन होइन हरेक दिन दीप बाल्नुस् । एउटा होइन हजार दिप बाल्नुस् । मेरो असहमति त केबल अन्धविश्वास सँग हो, पाखण्ड सँग हो, भ्रमको खेती गर्नेहरुसँग हो ।

Related News

Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
  • २०७६ चैत्र २७

Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...

TOP