केशबचन्द्र महरा
डोटी- शीरको ताजजस्तै लहरै अग्लो पहाड श्रृङ्खला–महाभारत(तेलेलेक) ! त्यहीमाथि ताजलाई सोभा दिने घनघोर जंगल, थोप्का–थोप्कामा कुँदिएको चित्रजस्ता सुरम्य फाँटहरु, ताल–तलैयाहरु ! त्यसमा अनेकौ दुर्लभ जीवनहरुको आवास ।
पैतलामा असरल्ल बगिरहने सेती । तीरमा मोती फलाउने खेतीयोग्य जमिन् । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यही विशेषताले शिखर नगरपालिकालाई विशिष्ट बनाउछ । विशिष्ट पहिचान दिन्छ, विशिष्ट सम्भावना झल्काउछ र विशिष्ट सपनाहरु देखाउन उद्वेलित पार्छ ।
यही कुरालाई स्थानीय तह संरचना गर्दा नयाँ स्वरुपमा विकास गरिएको शिखर नगरपालिकाले पनि विश्लेषण गरेको छ । ‘हामीले देखेकै सम्भावना शिखर–तेलेलेक, सेती नदी र आसपासको उब्जाउ भूमि हो,’ नगरप्रमुख सीताराम जोशी भन्छन्,‘शिखर–तेले क्षेत्र पर्यटन सम्भावनाको केन्द्र बन्न सक्छ । सेती नदी आफैमा पर्यटन र खनिजको धनी हो भने, सेतीतटीय क्षेत्रमा मनग्य उत्पादन हुन्छ ।’
यीनै कुरा भजाउने अभियानमा शिखर नगरपालिका जुटेको नगरप्रमख जोशी बताउछन् । ‘यत्ती कुरालाई मात्रै भजाउने हो भने हाम्रो आम्दानी अकाशिन्छ भन्नेमा ढुक्क छु । त्यसैले यीनै कुराको प्रवद्र्धन गर्ने योजना बोकेर हामी अघि बढिरहेको छौ,’ उनी भन्छन् ।
उसो त शिखर नगरपालिका डोटेली लोककलाको भण्डार पनि हो । शिखर क्षेत्रले डोटेली संस्कृतीका सबै बिम्बहरुलाई एकत्रित गरेर राखेको छ । जसको जगेर्ना गर्न सकेपनि सांस्कृतिक पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने जानकारहरु बताउछन् । ‘शिखर डोटेली संस्कृतीको खुला संग्राहलय नै हो भन्दा फरक पर्दैन,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक तीर्थराज जोशीको कथन छ,‘डोटेली संस्कृतीका सबै आयामहरु त्यहाँ भेटिन्छ । प्रा.डा. जयराज पन्तजस्ता नक्षत्र पनि त्यही क्षेत्रले जन्माएको छ ।’
नगरप्रमुख जोशीले भनेजस्तै शिखरको शीरदेखी पैतलासम्म पर्यटन सम्भावनाका खानीहरु असरल्ल फिँजिएका छन् । शिखरमा धार्मिक पर्यटन, पर्या–पर्यटन, जैविक पर्यटन, जल पर्यटनको उत्कृष्ठ सम्भावना छ ।
शिखर नगरपालिकाको शीरमा रहेको शिखर–तेलेलेक क्षेत्र धार्मिक, जैबिक र पर्या–पर्यटनका दृष्टिकोणबाट निकै सम्भावना बोकेको छ । जसलाई अर्को खप्तडको रुपमा पनि बुझ्न सकिन्छ । यो मध्यपहाडको उच्च लेकाली क्षेत्र हो । यहाँ बाक्लो र घना जंगल छ । दुर्लभ जीवहरुको बासस्थान रहेको यस क्षेत्रमा जरायो, थार, ब्वाँसो, चितुवा, कस्तुरी लगायतका दुर्लभ स्तनधारी जनावरहरु पाईन्छन् । यस क्षेत्रबाट अहिले ठुलो मात्रामा जडिबुटी तस्करी हुने गरेको छ ।
यस्तै प्राकृतिक सौदर्यताले पनि भरिपूर्ण क्षेत्र हो । बिशेषगरी मध्यपहाडी लेकाली बनस्पतीहरुको प्रचूरता यहाँ छ । ठुलाठुला मनोरम घाँसे फाँटहरु, थुप्रै तालतलैया, अनौठो भुबनोट र ढुंगाहरु यहाँ पाईन्छन् ।
धार्मिक दृष्टिकोणबाट पनि यो क्षेत्र महत्वपूर्ण छ । प्रसिद्ध धार्मिक स्थल लाटाकाफली, पशुपती मन्दीर, शिखर, कपल्लेकी केदारको शीर, मुडभारा पशुपती मन्दीर, शालमुनी शक्तिपिठ, भागेश्वर, लटाबन्थडी, पवित्र स्नान स्थल गहनान पनि यसै क्षेत्रमा छन् । त्यसबाहेक पनि थुप्रै स्थानीय धार्मिक आस्थाका केन्द्रहरु यस क्षेत्रमा छन् ।
यस्तै सेती नदी शिखर नगरपालिकाको बिचैबिच बगेको छ । जसको आसपासमा अनेकौ आस्थाका धरोहरुहरु छन् । पवित्र गहनान(गंगास्नान), शक्तिशाली सालमुनी र भागेश्वर देवताका मन्दिरहरु सेती नदीकै तटमा अवस्थित छन् । अर्को विशेष महत्वको तथ्य सेतीको उत्तरवाहिनी रुप शिखर नगरपालिकाबाट शुरु हुन्छ । संसारभरका हिन्दुहरुले उत्तरबाहिनी नदीलाई धेरै ठुलो तीर्थ मान्दछन् । यसबाहेक सेती नदीमा जल पर्यटनको सम्भावना उच्च छ । लमतन्न फैलिएको नदीमा ¥याफ्टीङ, बोटिङ, मोटर बोटिङ लगायतका सामाग्री सहितको सेवा शुरु गर्नसक्ने पर्यटकलाई रमाउने ठाउँ बन्ने सम्भावना प्रवल छ ।
शिखर नगरपालिका क्षेत्रमा प्रवेश गर्दा जोकोहीले अनुमान लाउन सक्छ, यहाँको जमिनको उर्वरताबारे । शिखर नगरपालिकाको करिब ४० किलोमिटर क्षेत्रमा सेती फैलिएको छ । जसको आसपासमा हज्जारौ रोपनी जमिन पनि फैलन्छ । बानेडुग्रीसैन, तल्कोट क्षेत्रमा त फराकिला फाँटहरुले मन गज्जबले लोभ्याउछन् ।
‘यस क्षेत्रमा कृषिलाई मात्रै व्यवसायिकीकरण गर्ने हो भने कोही जनता गरिब रहन्नन,’ नमुना कृषक हुँदै उपमेयर निर्वाचित भएकी धौलीदेवी रावल भन्छिन, ‘हाम्रो अभियान पनि त्यतातिरै केन्द्रीत छ । यसमा नगरपालिकाले बिशेष योजनाहरु बनाएर कायान्वयन गरिरहेका छौ ।’
शिखर–तेलेलेक क्षेत्र जडिबुटी तथा अन्य वनपैदावरले निकै धनी छ । जहाँ अनेकौ जडिबुटीको भण्डार छ । अहिले पनि सो क्षेत्रबाट ठुलो मात्रामा जडिबुटी चोरी निकासी भईरहेको छ । ‘त्यहाँको जडिबुटीलाई योजनावद्ध रुपमा प्रशोधन तथा निकासी गर्ने हो भनेमात्रै पनि यहाँको कायाकल्प गर्न सकिन्छ,’ शिखर नगरपालिका–१ का अध्यक्ष खड्कबिक्रम शाही भन्छन्,‘यसमा पनि योजनावद्ध रुपमा काम गरेर त्यसलाई व्यवसायिकता प्रदान गर्ने र आन्तरिक आयको स्रोतको रुपमा प्रवद्र्धन गर्ने योजना छ ।’
सेती नदी खनिजजन्य चिजवस्तुको भण्डार छ । करिब ४० किलामिटर क्षेत्रमा फैलने यस नदीबाट योजनावद्ध रुपमा ढुंगा, बालुवा र गिट्टी उत्खलन गरे बार्षिक करौडौ रकम उठ्न सक्छ ।
नगरपालिका स्थापना गर्दैगर्दा पूर्वाधार बिहिन नगरपालिका भनेर धेरैले टिकाटिप्पणी गरेका थिए । हुनपनि नगरपालिका तोकिदा नगरक्षेत्रका सबै गाउँटोलमा मोटरबाटो थिएन्, विद्युत थिएन । न सुविधासम्पन्न शहरी क्षेत्र थियो ।
यस्तो चुनौतीलाई सामना गर्दै देखेको सपना योजनावद्ध रुपमा साकार पार्न जुटेको नगरपालिकाको दाबी छ । अहिले नगरपालिकाले जमिन अधिकरण गरेर अफिसियल पूर्वाधारहरु खडा गरिरहेको छ । सबै ठाउँमा सडकको पहुँच पु¥याउदै स्तरोन्नतीको गतीमा अघि बढेको नगरपालिका जनाउछ ।
नगरक्षेत्रमा पर्यटन प्रवद्र्धन गर्दै त्यसको गतिबिधि बढाउन योजनावद्ध रुपमा अघि बढ्ने नीति तथा कार्यक्रमहरु बनाएको छ । पर्यटन गन्तव्य पहिचान तथा प्रवद्र्धन गर्दै गुरुयोजना बनाएर अघि बढ्ने नगरप्रमूख जोशी बताउछन् ।
कृषिमा ‘एक गाउँ एक उत्पादन’को अवधारणा सहित कार्यक्रमहरु सञ्चालित हुने नगरपालिकाले जनाएको छ ।
आन्तरिक आय बढाउनेगरी सेती नदीमा ढुंगा, बालुवा, गिट्टीको उत्खलन तथा शिखर क्षेत्रको जडिबुटी पहिचान का कार्यक्रम अघि बढाईएका छन् । ‘हामी प्रारम्भिक चरणमा छौ । यसैले सपना देखेर ती सपनालाई साकार पार्ने योजना बनाउदैछौ । अब ती योजना कार्यान्वयन गरेर समृद्ध नगर बन्नेछ भन्ने विश्वास छ,’ नगरप्रमुख जोशीले भने ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...