२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

विश्वभर बढ्यो महिला हिंसा : हिंसा भए के गर्ने ?

काठमाडौं– पूरा विश्व कोरोना भाइरस (कोभिड–१९) सँग लडिरहेका बेला घरेलु तथा महिला हिंसा पनि बढेको पाइएको छ।

कोरोनाका कारण विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी (लकडाउन) गरिएको छ, जसका कारण मानिसहरु घरभित्रै बस्न बाध्य छन्।

यूएन वुमनका अनुसार लकडाउनको अवधिमा फ्रान्समा ३० प्रतिशत, अर्जेन्टिनामा २५ प्रतिशत, साइप्रसमा ३० प्रतिशत र सिंगापुरमा र ३३ प्रतिशतले घरेलु हिंसाका घटना बढेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टअनुसार क्यानडा, जर्मनी, स्पेन, बेलायत र अमेरिकामा पनि महिला हिंसाको घटना लकडाउनको अवधिमा उल्लेख्य रुपमा बढेको छ।

लकडाउनको अवधिमा महिला हिंसाको घटना ठूलो संख्यामा बढे पनि ४० प्रतिशत पीडित उजुरी गर्ने ठाउँसम्म पुग्न नपाएको जनाइएको छ। छिमेकी मुलुक भारतमा पनि लकडाउनको बेला महिला हिंसाको घटना दुई गुणाले बढेको छ।

भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माका अनुसार लकडाउनमा घरमै बस्नुपर्ने भएकोले महिलामाथि बढी हिंसाका घटना भएको हो। लकडाउनको अवधिमा कैयौं प्रकारका हिंसा हुने गरे पनि केहीमात्र बाहिर आउने गरेको उनको भनाइ छ।

यूएन वुमनको प्रतिवेदनअनुसार लकडाउनको अवधिमा महिलाहरुमाथि शारीरिक र मानसिक हिंसा हुनुका साथै आर्थिक समस्या पनि आइपरेको छ। लकडाउनका कारण महिलाले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको प्रतिवेदनमा जनाइएको छ।

नेपालमा पनि पछिल्लो १५ दिनको लकडाउनको अवधिमा घरेलु हिंसा र महिला हिंसाको घटना बढेको राष्ट्रिय महिला आयोगको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको चैत महिनाको तुलनामा यस वर्ष चैतको पछिल्लो १५ दिनमा करिब ४५ प्रतिशतले घरेलु तथा महिला हिंसाको घटना बढेको छ।

आयोगका प्रवक्ता ध्रुवराज क्षेत्रीका अनुसार लकडाउन भएको चैत ११ गतेदेखि २५ गतेसम्म ७९ वटा घरेलु हिंसा र १७ वटा महिला हिंसाको गरी ९६ वटा घटना आयोगमा जानकारीमा आएको छ।

तथ्यांक साप्ताहिक रुपमा अपडेट हुने भएकोले अर्को मंगलबारसम्ममा यो संख्या अझै बढ्न सक्ने उनले नेपाल समयलाई बताए । अहिले सार्वजनिक भएको १५ दिनको तथ्यांक सामान्य अवस्थाभन्दाको बढी रहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७५–०७६को चैतमा घरेलु हिंसाका ९७ र महिला हिंसाका ७ गरी कुल १०४ वटा उजुरी परेको थिए। गत आर्थिक वर्षको चैत महिनाको तुलना यस आर्थिक वर्षको चैत महिनाको लकडाउनको अवधिको १५ दिनसँग गर्ने हो भने महिला तथा घरेलु हिंसाका घटना करिब ४५ प्रतिशतले बढेको देखिन्छ।

आयोगका अनुसार लकडाउनका बेला आयोगले मनोवैज्ञानिक तथा कानुनी परामर्शका साथै आर्थिक रुपमा समस्यामा परेका महिलाहरुलाई राहतका लागि पनि पहल गरेको छ।

लकडाउनका बेला महिला हिंसा भए के गर्ने ?

राष्ट्रिय महिला आयोगले लकडाउनका बेला हुने हिंसा सम्बन्धी उजुरीका लागि विशेष सूचना जारी गरेको छ। आयोगले महिला हिंसा मात्र होइन, महिलाहरु कुनै पनि समस्यामा परे आयोगलाई जानकारी गराउन आग्रह गरेको छ।

उजुरीका लागि आयोगले ११४५ नम्बर सञ्चालनमा राखेको छ। यसैगरी, आयोगले लकडाउनको अवधिमा कानुनी परामर्शका लागि पनि अधिवक्ताहरुको नम्बर उपलब्ध गराएको छ। मनोसामाजिक परामर्श, आश्रय स्थल र बालबालिका सम्बन्धी विषयमा पनि नम्बर उपलब्ध गराएको छ।

प्रहरीमा भने कम उजुरी

महिला आयोगको तथ्यांकमा महिला हिंसा बढेको देखिए पनि प्रहरीमा उजुरी भने कम आएको छ।

फागुन महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसात्मक घटनाका १४ सय ५१ वटा उजुरी आएकोमा लकडाउन सुरु भएको चैत ११ देखि २५ गतेसम्मको दुई साताको अवधिमा १०४ वटामात्र यस्ता घटना दर्ता भएका छन्। #नेपाल समय डटकम

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७६ चैत्र ३०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP