२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

प्रतिपक्षको सहभागिता बिनै बजेट पारित गर्ने सुदूरपश्चिम सरकारको तयारी

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा छलफल नै नगरी प्रतिपक्षको सहभागिता बिनै पारित गर्ने तयारी गरेको छ ।

आज (बुधबार) दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकबाट बजेट पारित गर्ने तयारी सत्तापक्षले गरेको छ । प्रदेशसभा सचिवालयका सचिब रामसिंह धामीका अनुसार आज बिहान ८ बजे बसेको प्रदेशसभा बैठकबाट बजेट पारित गर्ने तयारी रहेको भएपनि सत्ता पक्षका एक दुई जना प्रदेशसभा सदस्यले बोल्न बाँकी रहेकाले दिउँसो २ बजे पारित गर्ने कार्यसूचि नै रहेको छ ।

आज बिहानको प्रदेशसभा बैठकमा प्रतिपक्षले नाराबाजी गरेपनि नाराबाजीकै बिच प्रदेशसभा बैठक संचालन गरिएको थियो ।

प्रदेशसभामा प्रतिपक्षी दलहरू– नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै गत १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित भइरहेको छ ।

प्रतिपक्षी दलहरूका सवालहरूमा खासै चासो नदिएको सुदूरपश्चिम प्रदेश सरकारले संसदमा विरोधबीच नै बजेट पारित गर्ने तयारी थालेको हो।

संसदमा निरन्तरको विरोधबीच सरकारले सहमतिका लागि भन्दै केही चरणमा प्रतिपक्षी दलहरूसँग वार्ता, छलफल गरे पनि उनीहरूका सवाललाई गम्भीरतापूर्वक नलिएको प्रतिपक्षीहरूको आरोप छ ।

प्रतिपक्षी दलहरूले ‘कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पीसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने, जनतालाई सुरक्षाको प्रत्याभुति दिनुपर्ने, कोरोना महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको व्यापक दुस्प्रभावलाई दृष्टिगत गर्दै तदनुरुपका कार्यक्रम ल्याउनु पर्ने र कोरोना महामारीबाट आक्रान्त सुदूरपश्चिमबासीलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने’ लगायतका माग अघिसार्दै संसदमा अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले सरकारले यी सवालमा विश्वासयोग्य प्रतिवद्धता व्यक्त नगरेसम्म सदन चल्न नदिने अडान राख्दै आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार बोलाइएको संसदीय दलको बैठकमा संसदमा बजेट माथिको छलफल प्रक्रियामा नगएर नै बजेट पारित गर्ने निर्णय भएको बताइएको छ ।

नेकपाका प्रदेशसभा सदस्य लिलाधर भट्टले संसदीय दलको बैठकमा संसदमा छलफल नगरेर नै बजेट पारित गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने– ‘प्रतिपक्षी दलहरूले सदन अवरोध गर्दा सत्तापक्षका सांसदहरूका धारणा पनि प्रस्तुत हुन पाएका थिएनन । त्यहाँ धारणा व्यक्त गर्न नपाए पनि सांसदहरूले संसदीय दलको बैठकमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।’

मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा बसेको दलको १४ औं बैठकमा सहभागी प्रदेशसभा सदस्य अम्मरबहादुर साउदले भने– ‘प्रतिपक्षी दलहरू सकारात्मक भएर आएपछि छलफल अघि बढ्ला, नभए दलको निर्णय मान्नै पर्यो ।’

उनले दलको बैठकमा बजेटमा भएका प्राविधिक त्रुटी, कार्यक्रममा उल्लेख गरिएका स्थान पछि हेरफेर गर्न मिल्ने मौखिम सहमति भएको बताए ।

यसअघिसम्म आगामी आर्थिक वर्षको बजेट असन्तुलित तथा योजना बाँडफाँटमा विभेद लगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका सत्तापक्षका सदस्यहरू संसदीय दलको बैठकपछि “मौन” भएका छन् ।

सत्तापक्षका सांसदहरूले यसअघिसम्म प्रदेश सरकारको बजेटले महिला, दलित, हलिया, मुक्त कमैया, अपाङ्गता भएका व्यक्तिहरूका सवाल र भावनालाई सम्बोधन गर्न नसकेको, योजना बाडफाटमा विभेद गरिएको गुनासो गर्दै आएका थिए ।

५३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा सत्तापक्षका ३९, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र जनता समाजवादीका दुई जना सदस्य रहेका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार २४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP