२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

एम्बुलेन्समा बोगटान गाउँपालिकाका कर्मचारी र जनप्रतिनीधिको सयर

नोवेल कोरोनाभाईरस(कोभिड–१९)को महामारीमा सिङ्गो विश्व जुँझिरहेको छ । जसको सतर्कताका लागि नेपालमा पनि चैत ११ गतेबाट लगाईएको ‘लकडाउन’ निरन्तर छ । स्वास्थ्यका सम्पूर्ण सयन्त्रलाई ‘हाईअलर्ट’ गरिएको छ । अत्यावश्यक औषधि, उपकरण र जनशक्तीको व्यवस्थापन राज्यका लागि हम्मेहम्मे परिरहेको छ ।

डोटीको अवस्था अझ बिकराल छ । सामान्य उपचारका लागि पनि धनगढी वा नेपालगञ्ज धाउनुपर्छ । आपतकालिन अवस्थामा बिरामी ओसार्न जिल्लामा पर्याप्त एम्बुलेन्स छैनन् ।

स्तो परिवेश र जारी कोभिड–१९को महामारीमा बोगटान फुड्सिल गाउँपालिकामा भएको एउटामात्र एम्बुलेन्स सामान बोक्न र नेताहरु ओसार्नमा व्यस्त छ । त्यो पनि केही किलोमिटर वा केही घण्टा होईन्, पुरै चारदिनसम्म ।

नेपाल–भारत मैत्री संघले चवरा चौतारा स्वास्थ्य चौकीलाइ प्रदान गरेको से  १ च १३६४ नम्बरको सो एम्बुलेन्स वैशाख २ गते गाउँपालिकाबाट धनगढी गयो । त्यसमा गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटी पनि सवार भएर गएका थिए । धनगढीमा दुईदिन विताएर एम्बुलेन्स विहिबार(४ गते) बिहानै टीकापुरतर्फ गयो । त्यहाँ गाउँ कार्यपालिका सदस्य चन्द्रमान सुनार(शंकरमान)को परिवारलाई बोकेर शुक्रबार दिउँसो गाउँपालिकामा पुगेको छ ।

यसरी चार/चार दिनसम्म एम्बुलेन्स जनप्रतिनिधी र कर्मचारी ओसार्न प्रयोग भएकोभन्दै स्थानीयहरुले बिरोध जनाएका छन् । ‘एम्बुलेन्सको काम बिरामी बोक्ने हो । झन् यस्तो महामारीका बेला हरबखत बिरामीका लागि तम्तयार बस्नुपर्छ,’ सोही गाउँपालिका–७का चक्र केसीले भने,‘केही मतलबै छैन् । चारदिनसम्म तराई–पहाड नेता र कर्मचारी बोक्न प्रयोग गरिएको छ ।’

गाउँपालिका स्वास्थ्य संयोजक बोगटीले एम्बुलेन्समा गाउँ कार्यपालिका सदस्य सुनार र आफु यात्रा गरेको स्विकार गरे । एम्बुलेन्स गाउँपालिकाले खरिद गरेको पीपीई र सेनिटाईजर ढुवानी गर्न धनगढी लगिएको र त्यसै कामका लागि आफु धनगढी गएको बताए । ‘अध्यक्ष ज्यू(गाउँपालिका अध्यक्ष कमल गड्सिला)ले एम्बुलेन्समा सजिलो हुन्छ भनेर ढुवानीका लागि पठाउनुभयो,’ उनले भने,‘तब एम्बुलेन्स लगेका हौ ।’ अध्यक्ष गड्सिलाकै निर्देशनमा एम्बुलेन्स टीकापुर पुगेर सुनार दम्पत्तीलाई बोकेर ल्याएको आसय उनले ब्यक्त गरे । ‘मैले त ढिलो हुन्छ नाई भनेको हुँ । दबाब त्यस्तै आयो,’ उनले भने ।

लकडाउनमा अन्य गाडी सञ्चालनमा कठिनाई भएकाले सो एम्बुलेन्सलाई गैह्रजिम्मेवार ढंगबाट प्रयोग गरिदैं आएको स्थानीयको गुनासो छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख ५

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP