२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

कांग्रेसको प्रश्न : यो देशमा श्रमिकको सरकार छ कि छैन ?

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका श्रमिकका लागि सरकार छ कि छैन भनी प्रश्न गरेका छन् ।

शुक्रबार फेसबुक लाइभमा प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयको लकडाउनका कारण समस्यामा परेका श्रमिकहरु हिँडेरै घरतर्फ गइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए  ।

‘सडकमा हिँडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन ?’ शर्माले प्रश्न गरे ‘कोरोनाले बच्ने, भोकले मर्ने ? सरकार ! पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?’

प्रवक्ता शर्माले लकडाउनका कारण समस्यामा परेका मजदुर, बेरोजगार र विद्यार्थीका लागि उचित प्रबन्ध गर्न आग्रह गरे । ‘वेरोजगारहरुको हालत के होला, विद्यार्थीको हालत के होला, दैनिक कमाएर खानेहरुको के हालत होला ?’ उनले प्रश्न गरे, ‘जसले एक हप्ता भन्दा बढी खान नपुगेपछि जिल्ला जान खोजेका हुन् ।’

उनले सरकारलाई जो जहाँ बसेका छन् त्यहीँ राहत पुर्‍याउन आग्रह गरे । साह्रै अप्ठ्यारो परेको र घरमा जान चाहनेहरुलाई उचित रुपमा घर पुर्‍याइदिन पनि आग्रह गरे ।

शनिबार पदाधिकारी बैठक 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको त्रासको समयमा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।

कांग्रेसको भूमिकाका विषयमा प्रश्न उठेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पदाधिकारी बैठक बस्न लागेको जानकारी गराए । ‘कांग्रेसको भूमिका के भन्ने सन्दर्भ समेत आइरहेका कारण भोलि बिहान ९ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बस्दैछ’ उनले भने ।

‘सुकुम्बासीलाई जाउलो खोजेका छन्’

प्रवक्ता शर्माले कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा सरकारलाई कांग्रेसको पनि साथ रहेको बताए । ‘सरकारसँगै नरहेर पनि प्रतिपक्षी कांग्रेसको साथ सरकारलाई छ’ शर्माले भने ।

सरकारले हालै सुकुम्बासी आयोग गठन गरेकामा कांग्रेसले असन्तुष्टि जनाएको छ । यो बेला सुकुम्बासीले जग्गा नभई जाउलो खोजिरहेको शर्माले बताए ।

प्रवक्ता शर्माले सबै नेपाली नागरिकले कोरोनाको जाँच गराउन चाहेको भन्दै घुम्ती शिविर चलाएर कोरोना परीक्षण गराउन आग्रह गरे ।

सीमा नाकाबाट हरेक दिन मानिसहरु प्रवेश गरिरहेको भन्दै शर्माले त्यसै कारणले पनि नागरिकले कोरोनाको जाँच गराउन चाहेको बताए ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख ५

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP