२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

डोटीका ३ सय २६ जना क्वारेनटाइनमा : कहाँ कहाँ राखियो सुचि सहित


पवन महरा

डोटी- चैत्र ११ गते यता मात्रै गृहजिल्ला फर्किएका ३ सय २६ जना क्वारेनटाइनमा बस्ने भएका छन् । ति मध्य अधिकांश लाई क्वारेण्टाइनमा राखिएको छ । जिल्लाबाट गृह पालिकाको यात्रामा रहेका ब्यक्तिहरुको लागि सम्बन्धित पालिकाहरुले क्वारेण्टाइनको व्यवस्था गरिसकेको बताएका छन् ।

मंगलबार गौरिफण्टा नाका हुँदै बुधबार बिहान डोटी पुगेका ब्यक्तिहरुलाई क्वारेण्टाइनमा राखिएको छ । जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका, बोकटान गाउँपालिका, आदर्श गाउँपालिका, पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका र बडिकेदार गाउँपालिकाले क्वारेण्टाइनको व्यवस्था गरेको छ ।

गौरिफण्टा नाकामा अलपत्र परेकाहरुलाई मंगलबार उद्धार गरेर गृह जिल्ला पर्काएकाहरु सबैलाई क्वारेण्टाइनमा राख्ने व्यवस्था भएको छ । यस अघि पनि जिल्ला भित्र सयौंको संख्यामा भारत तथा अन्य मुलुकबाट प्रवेश गरेकाछन् ।

शिखर नगरपालिकाका ७२ जना क्वारेण्टाइनमा

बुधबार भारतका बिभिन्न ठाउँबाट कैलालगि हुँदै गृह नगर पुगेका शिखर नगरपालिकाका ७२ जनालाई क्वारेण्टाइनमा राखिएको छ । उनिहरुका लागि नगरपालिकाले ४ वटा बिद्यालयमा क्वारेण्टाइनको व्यवस्था गरेको हो ।

नगरपालिकाको २ र ३ नम्बर वडामा घर भएका १९ जनालाई अमरज्योती आधारभुत बिद्यालय, आलीमा राखिएको छ । त्यस्तै वडा नन्बर ४, ५ र ६ मा घर भएका २७ जनालाई पञ्चोदया आधारभुत बिद्यालय, धुरकोटमा राखिएको छ भने वडा नं. ७ र ९ मा घर भएका १५ जनालाई मष्टा आधारभुत बिद्यालय, बोरागाउँमा राखिएको छ । त्यस्तै वडा नम्बर १० र ११ मा घर भएका ११ जनालाई शिद्धेश्वर माध्यमिक बिद्यालय, बाण्डुग्रीसैनमा राखिएको नगर स्वास्थ्य इन्चार्ज हरिष शाहले बताए ।

आजका लागि क्वारेण्टाइनमा चाहिने सामग्री र खाना÷नास्ताको व्यवस्था सम्बन्धित वडाहरुले गर्ने गरेर पठाईएको छ । भोली देखि आफु सहित स्वास्थ्यको टिम क्वारेण्टाइनको अवलोकनमा जाने र परामर्श दिने नगर प्रमुख सिताराम जोशीले बताए । उनले क्वारेण्टाइमा चाहिने सामग्री र खाना, नास्ताको व्यवस्था वडाले गर्न नसकेको खण्डमा नगरले खाध्यान्न लुगाकपडा र औषधि लगायतको व्यवस्था गर्ने बताए ।

आज पनि क्वारेण्टाइनमा बस्ने सबैलाई कोरोना बारे परामर्श दिनुका साथै माक्स उपलब्ध गराएको बताउँदै स्वास्थ्य प्रमुख शाहले भोलिबाट सम्बन्धित क्वारेण्टाइनमा नै पुगेर परामर्श, औषधि उपचार तथा स्वास्थ्य चेकजाँच गरिने बताए । आजको स्वास्थ्य चेकजाँचमा कैसैमा त्यस्तो समस्या नदेखिएको उनको भनाई थियो ।

बोगटान गाउँपालिकाका १ सय ३ जना क्वारेण्टाइनमा

डोटीका स्थानिय तहहरु मध्य सबै भन्दा बढी ब्यक्ति बोगटान गाउँपालिकाले क्वारेण्टाइनमा राखेको छ । भारतका बिभिन्न ठाउँहरुबाट गृह गाउँपालिका फर्केका ब्यक्तिलाई चैत्र ११ गतेबाट क्वारेण्टाइनमा राख्न थालिएको हो ।

मंगलबार मात्रै गाउँपालिकाले ५९ जना क्वारेण्टाइनमा रोखेको थियो । बुधबार ५८ जना थपिएका छन् । समाचार तयार पार्दा सम्म गाउँपालिकाले दिपायल पुगेका २८ जनालाई गाडिको व्यवस्था गरि क्वारेण्टाइन क्षेत्र वडा नं. २ को केदारआखडा ल्याएको छ । उनिहरुका लागि पनि क्वारेण्टाइनको व्यवस्था गरिसकेको गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले बताए । उनका अनुसार बोगटानका १६ जना बडिकेदार गाउँपालिकामा अलपत्र परेकाछन् । तिनलाई पनि गाउँपालिका ल्यायर क्वारेण्टाइनमा राखिने छ ।

मंलबार गाउँपालिकाको वडा नं. २ केदार आँखडामा पर्ने नवप्रतिभा आधारभुत बिद्यालयमा १५ जना, केदारआँखडा माध्यमिक बिद्यालयमा २० जना र कृष्ण धौतडी आधारभुत बिद्यालयमा १७ जना राखेको छ । त्यस्तै वडा नं ३ कानाचौर जुगुनेको खाली घरमा ४ जना, वडा नं. ३ कै बडिगाउँको खाली घरमा ३ जनालाई राखेको छ भने एक जनालाई सेल्फ क्वारेण्टाइनमा राखिएको छ ।

आज मात्रै गाउँपालिका पुग्ने ४४ जनालाई वडा नं. ६ खत्याडीमा रहेको ख्त्याडी माध्यमिक बिद्यालय र छिणखान माध्यमिक बिद्यालयमा राख्ने तयारी भैसकेको अध्यक्ष गडसिलाले बताए । क्वारेण्टाइनमा बस्ने सबैको खाना, बास, औषधि उपचार गाउँपालिकाले नै ब्यहोर्नेगरी कम्तिमा १४ दिन निगरानिमा राखिने उनले बताए ।

पुर्विचौकीका २ जना क्वारेण्टाइनमा

पुर्विचौकी गाउँपालिकाले २ जनालाई क्वारेण्टाइनमा राखेको छ । २ जना मध्य पुर्विचौकी गापा वडा नं. ३ गैरागाउँका १ जनालाई सानागाउँमा रहेको जनकल्याण बहुउद्येश्यिय सहकारी संस्थामा राखिएको छ भने एक जनालाई होम क्वारेण्टाइनमा बस्न भनिएको छ ।

भारतबाट मंगलबार मात्रै नेपाल प्रवेशगरी बुधबार गृह पालिका पुगेका एक जना र सोही गाडीमा धनगढीबाट आएकी एक महिलालाई क्वारेण्टाइनमा राखिएको हो । धनगढीबाट आएकी वडा नं. ५ की महिलाको घरमा कोही नभएकाले सेल्फ क्वारेण्टाइनमा बस्न भनि काँडामाण्डौं पठाएको गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । उनले दुबै जनाको निगरानी राख्ने र समय समयमा स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाउँने बताए ।

बडिकेदार गाउँपालिकाका ३५ जना क्वारेण्टाइनमा

मंगलबार राती बडिकेदार गाउँपालिका १ बिपि नगर पुगेका ३५ जनालाई क्वारेण्टाइनमा राखिएको छ । जसमा १ जना जोरायल गाउँपालिका, ४ जना कैलालीको महोन्याल गाउँपालिका र ३० जना बडिकेदारा गाउँपालिकाका रहेकाछन् ।

अहिले सबैलाई बिपिनगरको केदारज्योतीकुञ्ज बहुमुखी क्याम्पसमा गाउँपालिकाले स्थापना गरेको क्वारेण्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य इनचार्ज योगेन्द्र शाहीले बताए । उनले क्वारेण्टाइनमा राखिएका सबैको नियमित स्वास्थ्य जाँच भैरहेको बताउँदै अहिले सम्म कसैमा स्वास्थ्य समस्या नदेखिएको बताए ।

गत राती बिपि नगरमा ५१ जना यात्रु झरेको प्रहरीले जनाएको छ । ५१ जना मध्य १६ जना बडिकेदार गाउँपालिकाका भएकाले सम्बन्धित गाउँपालिकाको क्वारेण्टाइनमा राख्ने गरि पठाईको इलाका प्रहरी कार्यालय बिपिनगरका इन्सपेक्टर लाल बहादुर ऐरले बताए ।

क्वारेण्टाइनमा बसेका बढी जस्तो ब्यक्तिहरु कैलालीबाटै आएको बताउँदै गाउँपालिकाका उपाध्यक्ष इन्द्रा भााटले क्वारेण्टाइनमा राखेका सबैको खान तथा बासको व्यवस्था गाउँपालिकाले गर्ने बताईने । उनले भाइरस संक्रमण नबढोस् भनेर चेकजाँच, परामर्श तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको बताइन् ।

सायल गाउँपालिकाका ५ जना क्वारेण्टाइनमा

छिमेकी मुलुक भारतबाट कैलाही हुँदै गाउँपालिका पुगेका ५ जनालाई क्वारेण्टाइनमा राखिएको छ । गाउँपालिकाले उनिहरुलाई वडा नं. ३ तोलेनीको कार्यालयमा क्वारेण्टाइनको व्यवस्थागरी राखिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

छिमेकी जिल्ला बझाङ्गको सिर्मा हुँदै अरुपनि गाउापालिका भित्रिने सम्भावना भएकाले सम्बन्धित सबै वडा कार्यालयहरुमा क्वारेण्टाइनको पुर्व व्यवस्था गरिएको अध्यक्ष डुम्रेलले बताए । उनले क्वारेण्टाइनमा बसेका सबैको स्वास्थ्य इकाइले निगरानी राख्ने र स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको बताए ।

के.आई.सिंह गाउँपालिकाका ११ जना क्वारेण्टाइनमा

के.आई.सिंह गाउँपालिकाकाले पनि बुधबार डोटी पुगेका ११ जनालाई क्वारेण्टाइनमा राखेको छ । भारतबाट कैलाली हुँदै दिपायल पुगी गाउँपालिका जान लागेका उनिहरुलाई राजपुर स्थित सेती सभाहलमा राखेको हो । दिपायल सिलढी नगरपालिका वडा नं. ४ राजपुरमा रहेको उक्त सभाहललाई क्वारेण्टाइनका रुपमा प्रयोग गरिएको छ ।

क्वारेण्टाइनमा बसेकाहरुको सुबिधाका लागि खानाका लागि रासन, बासका लागि लुगा, साबुन, भाँडा जस्ता आवस्यक कुराहरुको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष योगेन्द्र शाहीले बताए । अध्यक्ष शाहीले उनिहरुलाई १४ दिन सम्म निगरानीमा राखेर स्वास्थ्य जाँच गरिने र समस्या देखिए उपचारका लागि पठाउँने व्यवस्था गरिने बताए ।

दिपायल सिलगढी नगरपालिकाका २२ जना क्वारेण्टाइनमा

मंगरबार नै दिपायल पुगेका दिपायल सिलगढी नगरपालिकाका २२ जनालाई पनि क्वारेण्टाइनमा राखिएको छ । भारतबाट आएका उनिहरुलाई पनि राजपुर स्थित सेति सभाहलमा राखिएको हो ।

नगरले क्वारेण्टाइनमा बस्ने ब्यक्तिहरुका लागि खाध्यान्न, माक्स, बेड लगायतको व्यवस्था सहित क्वारेण्टाइनमा राखेको नगरप्रमुख मञ्जु मलासीले बताईन् । मलासीले क्वारेण्टाइनमा बसेका सबैको नियमित चेकजाँच तथा निगरानी राखिने बताईन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरमा बिभिन्न पहलहरु भैरहेको बताउँदै उनले नगरले उत्पादन गरिरहेको माक्स नगरबासिलाई बितरण गर्ने बताइन् ।

आदर्श गाउँपालिकाका ६७ जना क्वारेण्टाइनमा

यस्तै जिल्लाको आदर्श गाउँपालिकाले पनि क्वारेण्टाइनको व्यवस्था गरेको छ । गाउँपालिकामा मंगलबार भित्रिएका ६७ जनालाई क्वारेण्टाइनमा राख्ने प्रयास भैरहेको गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताए । उनले भारतबाट आएका ब्यक्तिहरु क्वारेण्टाइनमा बस्न नपाने पछि कठिनाई भएको बताए । उनले भने,‘हामिले खाने बस्ने सबै व्यवस्था मिलायएका छौं तर नाराबाजी गर्दै हामिलाई केहि भएको छैन हामि क्वारेण्टाइनमा बस्दैनौ भनेर होहल्ला गरिरहेकाछन् ।’

गाउँपालिकाका स्वास्थ्य इन्चार्ज बम खड्काले आफुहरु क्वारेण्टाइन व्यवस्थापनमा लागिरहेको बताए । क्वारेण्टाइनमा बस्ने ब्यक्तिहरु भाग्ने प्रयास गरिरहेका छन् खड्काले भने,‘अहिले सम्म प्रहरी प्रयोग गरेर रोकेका छौं जिल्लाबाट थप सुरक्षाकर्मीको माग गरेकाछौं । उहाँहरुलाई जसरि पनि क्वारेण्टानमा राखेर निगरानी राख्छौं ।’

इन्चार्ज खड्काले गाउँपालिकामा पुगिसकेपछि सबैको स्वास्थ्य जाँच गरेको बताउँदै अहिले सम्म कसैमा समस्या नदेखिएको बताए । क्वारेण्टाइनमा बसेका सबैको नियमित निगरानी स्वास्थ्यजाँच हुने उनले बताए ।

गाउँपालिकाले गाउँपालिकाको वडा नं. २ मौवामा अवस्थित सारदा माध्यमिक बिद्यालयमा क्वारेण्टाइन स्थापना गरेको छ ।

त्यस्तै गाउँपालिकाको वडा नं. २ बावनकाँडाका ५ जना सेल्फ क्वारण्टाइनमा बसेका छन् । उनिहरु गाउँ नजिकैको नवादेव आधारभुत बिद्यालयमा क्वारेण्टाइनमा बसेका छन् । ३ जना भारत र २ जना काठमाण्डौंबाट गाउँ फर्किएका ति ब्यक्तिले स्वयम् इक्षायर सेल्फ क्वारेण्टाइनमा बसेको बताएकाछन् ।

काठमाण्डौंबाट गाउँ आएका बिजयराज ओझा र विश्वनाथ ओझा क्वारेण्टाइनमा बसेका छन् । त्यस्तै भारतको मुम्बै बाट आएका राम प्रसाद ओझा, हेमराज ओझा र पन्जाव हरियणाबाट आएका रमेश कोली सेल्फ क्वारेण्टाइनमा बसेका हुन् ।

‘हामी सेल्फ क्वारेण्टाइनमा बसेका छौं । यो कुरा गाउँपालिकालाई पनि जानकारी गराएकाछौं,क्वारेण्टाइनमा बसेका बिजयराज ओझाले शिखर समाचार संग भने,‘हामिलाई सेनेटाइजर , ग्लोव्स , माक्स लगायतका सामग्रीको अभाव छ त्यसको व्यवस्था गरिदिनु प¥यो ।’ क्वारण्टायनमा बसेका पाँचै जनाको अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७६ चैत्र १२

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP