२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday
महामारीमा पनि १० करोडको तक्मा

भिआइपीलाई डिस्टर्ब हुन्छ भन्दै खुलामञ्चबाट स्वयंसेवीसहित भोका नागरिक धपाइए

नवराज मैनाली /सागर चन्द

काठमाण्डौं– शनिबार पाँचौँ संविधान दिवस । सधैँझैँ टुँडिखेलमा सैनिक परेडसहित भव्य कार्यक्रम आयोजित थियो । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूसहित बडाहरू आउँदै थिए । पर्खालउता खुलामञ्चमा भने रोजगारी गुमाएका भोका नागरिक भेला हुँदै थिए । उनीहरूका लागि खाना लिएर आउँदै थिए सधैँझैँ स्वयंसेवक । स्वयंसेवक र सर्वसाधारण आश्चर्यमा परे जब प्रहरीले भन्यो– तपाईंहरू आज यहाँ खाना वितरण गर्न पाउनुहुन्न । आज भिभिआइपी आउँदै हुनुहुन्छ । कार्यक्रममा डिस्टर्ब हुन्छ । 

यो हो जनताले संघर्ष गरेर स्थापना गरेको गणतन्त्र नेपाल जहाँ भोका जनताले खाना पाउँदा ‘सरकार’लाई डिस्टर्ब हुन्छ । 

‘कोभिड– १९ महामारीको संक्रमण बढेपछि सरकारले संक्रामक रोगसम्बन्धी ऐन लगाएर देश ‘लकडाउन’ ग¥यो । त्यसमा जनताले विरोध गरेनन् । तर, कानुन सम्झिने सरकारले दायित्व किन सम्झिएन ? काम नपाएका जनताले के खाए होलान् भनेर किन सोचेन ?’ खानाको पर्खाइमा बसेका पर्यटन मजदुर श्यामवीर तामाङको भनाइ थियो । 

‘राष्ट्रपति आउने पनि जनताको भलो गर्छु भनेर हो, प्रधानमन्त्रीले पनि जनतालाई भोकै पर्दैनन् भन्ने हो । ठुल्ठूला भाषण गर्नेहरूलाई सुरक्षा चाहिन्छ, तपाईंहरू उहाँहरूलाई सुरक्षा दिन जानुहोस्, यहाँ गरिब जनता छन्, यी जनताको सुरक्षा गर्नुपर्ने केही छैन,’ स्वयंसेवी इन्दिरा रानामगर र हन्ड्रेड्स गु्रपका स्वयंसेवकहरूले प्रहरीसँग याचना गरिरहेका थिए । यी समूहले चैतमा लकडाउन भएदेखि नै खाना वितरण गर्दै आएका छन् । 

तर, प्रहरी भने माथिको आदेश भन्दै खाना वितरण गर्न नदिने पक्षमा थियो । भोका नागरिक खाना आयो भनेर खुसी थिए, तर प्रहरी भने टुँडिखेलभित्र छिर्न नदिने अडानमा थियो । भोका नागरिक र शक्तिशाली प्रहरीबीच धकेलाधकेल भयो । ‘भिआइपीको भाषण अवरोध गर्ने हाम्रो कुनै मनसाय होइन । उनीहरू त सेनाको बीचमा कार्यक्रम गर्दै थिए । हामी त पर्खालपारि सधैँझै खाना खुवाउने तयारीमा थियौँ । तर, प्रहरीले हामीमाथि नै बल प्रयोग ग¥यो,’ हन्ड्रेड्स गु्रपका यम खड्काले नयाँ पत्रिकासँग भने, ‘हामीलाई पक्राउ गर्नेसम्म प्रयास भयो ।’

ठूलाबडा चिल्ला कारमा आउने, भाषण गर्ने, उल्लास मनाउने, तर गरिबको गाँस पनि खोस्ने ? यो कस्तो व्यवस्था हो भनेर सोध्छिन् स्वयंसेवी इन्दिरा । ‘६ महिनादेखि जनताका लागि काम गर्दा  धेरै हौसला मिलेको छ । तर, आज सरकारले गरेको व्यवहार देखेर मन कुँडिएको छ,’ उनले भनिन् । 

यो सब देखेर आक्रोशित थिए, पाल्पाका हरिप्रसाद अर्याल । ‘अहिले हरेक दिन पाँच सयभन्दा धेरै नागरिक टुँडिखेलमा खाना खान आउँछन् । हामी यस्ता जनता हौँ जोसँग हिजो जागिर थियो, आम्दानी थियो, रेस्टुरेन्टमा बसेर डिनर र लन्च खाने हैसियत थियो । आज जागिर खोसिएको छ, टुँडिखेलमा कागजको प्लेट थापेर खानुपर्ने अवस्था छ, त्यही गाँस पनि खोस्न प्रहरी आइपुग्छ,’ उनको यो आक्रोश पनि प्रहरीले सुनेको नसुन्यै ग¥यो । 

प्रहरीको एकोहोरो भनाइ थियो, ‘माथिको आदेश हो, भिभिआइपी’लाई ‘डिस्टर्ब’ हुन्छ । ‘जनता भोकाइरहेका थिए, प्रहरी तातो रिस गरिरहेको थियो, खाना चिसो भाइरहेको थियो,’ स्वयंसेवी खड्काले भने । 

भित्र छिर्न त परको कुरा, खाना पनि वितरण गर्न पाइँदैन भनेर प्रहरीले भनेपछि इन्दिराले सोधेकी थिइन् । ‘किन ?’ 

प्रहरीको जवाफ थियो, ‘आज राष्ट्रपति र प्रधानमन्त्री आउँदै हुनुहुन्छ । उहाँकै मञ्चपछाडि खाना वितरण गर्दा बेइज्जत हुन्छ ।’

तब इन्दिराले पनि आक्रोश पोखिन्, ‘जनता भोकै मर्दा बेइज्जत हुँदैन, जनताले पेट भर्दा सरकारको बेइज्जत हुन्छ ?’ 

तर, यो प्रश्नले पनि प्रहरीलाई छोएन । किनकि उनीहरूका लागि जनताको आवाजभन्दा ‘माथि’को आदेश सर्वोपरी हो । 

प्रहरीले जति बल प्रयोग गरे पनि स्वयंसेवी भने जनतालाई भोकै राखेर फर्कन तयार थिएनन् । बरु, प्रहरीसँग विवाद लम्बिएकाले खाना चिसो हुन थालेपछि इन्दिराको समूहले टुँडिखेलबाट उत्तरतिर अगाडि बढ्यो, पछाडि–पछाडि भोका नागरिकको लस्कर थियो । उनीहरूले त्रिचन्द्र क्याम्पसपरिसरमा खाना वितरण गरे ।

यता हन्ड्रेड्स ग्रुपका युवा भने प्रहरीबीच धकेलाधकेल गरेर पनि खुलामञ्चभित्र छिरे । उनीहरूसँगै भोका नागरिकको समूह छि¥यो । स्वयंसेवीहरूले कागजका प्लेट वितरण गरिसकेका थिए । कसैको खाना आइपुगेको थियो, कसैको बाँकी थियो । त्यहीवेला टुँडिखेलमाथिको आकाश थर्कियो । संविधान दिवसको अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि सुरु भयो । सबैले पुष्पवृष्टि हेर्न थाले । नागरिक जसको खाना आइपुगेको थिएन, उनीहरूले खाली प्लेट हातले समातिरहेका थिए । किनकि सरकारले पुष्पवृष्टि गर्न उडाएको हेलिकोप्टरले उनीहरूको खाली प्लेट उडाउन सक्थ्यो । 

पुरा समाचार पढ्नुहोस्

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP