२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

कोरोना बीमाबाट ९८ करोड संकलन : १ अर्ब बढी तत्कालै भुक्तानी गर्नुपर्ने

कोरोना बीमा गरेपछि संक्रमित भएका ३० हजार जनाले बीमा दावी गर्दै आवेदन दिएका छन्। 

तीमध्ये १० हजार ८ सय ९९ जनाले मात्रै चाहिने कागजात पुर्‍याएको बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले जानकारी दिए। 

उनका अनुसार तीमध्ये ४ हजार ५ सय ९८ जनालाई करिब ४४ करोड ५० लाख रुपैयाँ भुक्तानी भइसकेको छ।  

१ हजार २ सय ७६ जनालाई अहिले भुक्तानीको लागि अन्तिम प्रक्रियामा लगिएको छ। 

हिलेसम्म कागजात पुर्‍याएकालाई बीमा रकम भुक्तानी गर्दा १ अर्ब रुपैयाँ बढी खर्च हुनेछ।  ३० हजारलाई नै भुक्तानी गर्नु परे करिब ३ अर्ब रुपैयाँ लाग्नेछ। 

संकलन भएकोभन्दा बढी रकम भुक्तानी गर्नु परे पनि यसले बीमाको पहुँच बढाउने पाण्डेले बताए। कतिपय कागजात डुप्लिकेसन र डबल परेको पनि पाण्डेले जानकारी दिए। 

‘कोरोना भइसकेपछि बीमा खरिद गर्नेहरू पनि छन्, दोहोर्‍याएर गर्नेहरू पनि छन्’ उनले भने। 

२ हजार २ सय ५४ वटा आवेदन अहिले प्रमाणित गर्न इडिसिडी (इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा) पठाइएको उनले बताए। 

हालसम्म ९८ करोड रुपैयाँ प्रिमियम संकलन भएको बीमक संघका अध्यक्ष पाण्डेले जानकारी दिए। हालसम्म ७४ लाख ८ हजार ६८२ जनाले कोरोना बीमा गरेका छन्। 

‘बीमा दावी गरेरमात्रै भएन, डकुमेन्ट सम्पूर्ण रूपमा पुर्‍याउनु पर्‍यो, डकुमेन्ट पुगेकालाई प्रक्रिया पुर्‍याएर हामी सबै रकम भुक्तानी गर्छौं’ उनले भने। 

बीमा दावी गरेका सबैलाई आफ्नो कागजात पुगे, नपुगेकोबारे जानकारी लिन, सम्बद्ध कम्पनीमा फलो गर्न पनि उनले आग्रह गरे। 

‘तिहार, छठलगायत विदामा पनि यति धेरैलाई भुक्तानी भइसकेको छ, अब कागजात पुगेर प्रमाणित भएकालाई भुक्तानीका लागि ढिला हुँदैन,’ उनले भने। 

पछिल्लो समय कोरोना बीमा गर्ने घटेको उनले बताए। भदौ २९ पछि कोरोना बीमा गर्नेका लागि कोरोना मापदण्डमा केही संशोधन गरिएको छ। जसले गर्दा कोरोना बीमा गर्नेको संख्यामा कमी आएको हो। 

नयाँ मापदण्डअनुसार सो मितिभन्दा पछि बीमा गर्नेलाई बीमा रकमको २५ प्रतिशतमात्रै नगद भुक्तानी हुनेछ। बाँकी रकम उपचार खर्चमा लागेको बिलका आधारमा भुक्तानी हुनेछ। 

त्यसअघि बीमा गरेकाले भने पूर्ण रकम अर्थात् ५० हजार वा १ लाख रुपैयाँ नै भुक्तानी हुनेछ। 

पाण्डेका अनुसार मापदण्ड संशोधन भएपछि पनि ३ लाख ६१ हजार जनाले बीमा गरेका छन्। सोबाट २१ करोड ५५ लाख रुपैयाँ बराबरको प्रिमियम रकम संकलन भएको छ। 

कसले ब्यहोर्नेछ, यति धेरै बीमाको रकम?
मापदण्डअनुसार १ अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले ब्यहोर्ने छन्। त्यस्तै १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बीमा कम्पनीले ब्यहोर्नेछ।

२ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमक कम्पनीहरुको महाविपत्ति पुलले ब्यहोर्नेछ। त्यस्तै साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी गर्नुपर्दा बीमा समितिले ब्यहोर्नेछ। 

साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नु परेमा सरकारले ब्यहोर्ने मापदण्डमा उल्लेख छ। 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ मंसिर ११

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP