२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

नोटबाट कोरोना सर्ने भएपछी डिजिटल पेमेन्टको सीमा बढाउँदै राष्ट्र बैंक

काठमाडौं– ‘कागजी पैसा (नोट) एक हातबाट अर्को हातमा जाने गर्छ। नोटले ब्याक्टेरिया र भाइरस बोक्दै हिँडेको हुन्छ। नोट छोएपछि हात धुनुपर्छ। नोट चलाउँदा मुखमा हात नहाल्लन सुझाव दिन्छौं,’ विश्व स्वास्थ्य संगठनकी प्रवक्ता फेडेला चैबले हालै यस्तो सुझाव दिइन्।

कागजी नोट वा सिक्काबाट विभिन्न भाइरस सर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सकेसम्म नोटको प्रयोग कम गर्न सुझाव दिएको छ। प्रयोग गर्दा सावधानी अपनाउन र मुखमा नछुन आग्रह गरेको छ।

नेपालमा डिजिटल कारोबार आम प्रयोगमा आइसकेको छैन। धेरैले नोटबाटै कारोबार गर्न मन पराउँछन्। अझ कतिपयको त नोट गन्दा ज्रिबोबाट थुक लगाएर गन्ने बानी छ।

नोटबाट कोरोना भाइरस सर्न सक्ने भन्दै विभिन्न देशमा संयमता अपनाइएको छ भने कतिपय देशको बैंकले नोट लिन अस्वीकार गरेका छन्।

नोटबाट कोरोना सर्न सक्ने भन्दै सिकागोको एउटा बुक स्टोरले आफ्ना ग्राहकलाई नोटको प्रयोग नगर्न ई–मेल गरेको छ। उसले नोट बाहेक अन्य विकल्प प्रयोग गर्न सुझाव दिएको छ।

यसैगरी, नोटबाट कोरोना भाइरस सर्न सक्ने भन्दै चीनले करिब ८४ हजार करोड बराबरको नोट नष्ट गरेको छ। कोरोना प्रभावित क्षेत्रमा संकलन भएको उक्त नोटलाई चीनले नष्ट गरेको हो।

दक्षिण कोरियाले एक पटक प्रयोग भएको नोटलाई दुई सातासम्म क्वारेन्टाइनमा राख्न थालेको छ।

कोरोनाबाट अत्यधिक प्रभावित इरानका बैंकहरुले ग्राहकबाट नोट लिन अस्वीकार गरेका छन्।

जियोरगेटाउन युनिभर्सिटीकी प्रोफेसर जुलीए फिस्चरले नोटबाट कोरोना सर्ने सम्भावना निकै रहेकोले संयमता अपनाउन सुझाव दिएकी छिन्।

विभिन्न अध्ययनले पनि नोटबाट भाइरस सर्ने गरेको देखाएको उनको भनाइ छ। कारोना भाइरसको संक्रमण बढी रहेको बेला नोट प्रयोग नगर्न उनले सुझाव दिएकी छिन्।

नेपालमा के छ अवस्था ?

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा अहिले पनि सबैभन्दा बढी कागजी पैसा प्रचलनमा छ। सहरी क्षेत्रमा डिजिटल बैंकिङको सुरुवात भए पनि ग्रामीण क्षेत्रमा अहिले पनि नोट नै मुख्य माध्यम हो।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालमा ९ लाख २८ हजार ७०९ जनाले इन्टरनेट बैंकिङको सुविधा लिएका छन् भने ९० लाख ९९ हजार ७ सय ३१ जनाले मोबाइल बैंकिङको सुविधा लिएका छन्।

ई–सेवा, खल्ती, फोनपे, आईएमई पे तथा बैंकहरुकै मोबाइल एप पनि प्रचलनमा छन्। तरपनि बजारमा कागजी नोट नै बढी चल्तीमा छ। त्यसकारण नेपालमा कोरोनाको संक्रमण बढेको खण्डमा नोटबाट सबैभन्दा बढी र छिटो संक्रमण फैलिन सक्ने जानकारहरु बताउँछन्।

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एसिसटेन्ट प्रोफेसरको रुपमा काम गरिरहेका मेजर डाक्टर विकल थापा भन्छन्, ‘प्रभावित व्यक्तिले नोट छोएको छ भने यसले सार्न सक्छ। त्यसकारण सचेत हुनैपर्छ।’

नोट चलाउँदा सतर्क हुनुपर्ने सुझाव दिँदै डा. श्रेष्ठले भने, ‘हामीले नोट प्रयोग गर्दा पञ्जा प्रयोग गर्न सक्छौं। सकेसम्म प्रयोग नै कम गरौं।’
नेपालमा संक्रमण बढ्न थालेको अवस्थामा नोटको कारोबार रोक्नुपर्ने अवस्था आउन सक्नेतर्फ उनले सचेत गराए।

‘अहिले नोटबिना काम गर्ने वातावरण मिलाउन गाह्रो छ। तर, बाध्यता हुन सक्छ। हामीले नोटको कारोबार रोक्नुपर्ने हुन सक्छ। त्यसकारण विकल्प सोचौँ।’

के गर्दैछ राष्ट्र बैंक?

नेपाल राष्ट्र बैंकले डिजिटल पेमेन्टलाई थप व्यवस्थित गर्न लागिएको बताएको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार डिजिटल पेमेन्टको सीमा बढाउन लागिएको छ।

‘कोरोनाले सर्वसाधारण त्रसित रहेको बेला सामानहरु खरिद गरेर स्टोर गर्न थालेका छन्। अहिले पैसाको प्रयोग नगर्नुस् अथवा कम गर्नुस् भन्दा झन् आतंकति होलान्,’ प्रवक्ता भट्टले भने, ‘पैसाको प्रयोग काम गर्नुका साथै डिजिटल पेमेन्टलाई अगाडि बढाउने प्रयास भइरहेको छ।

मोबाइलबाट पेमेन्ट गर्ने सीमा बढाउने तयारी पनि भइरहेको छ।’ उनले पनि सकेसम्म नोटको प्रयोग गर्दा संयमता अपनाउनु पर्ने र नोट प्रयोग गरेपछि हात धुन सुझाव दिए।

डिजिटल बैंकिङमा शुल्क नलाग्ने

यसैबीच, नेपाल बैंकर्स संघले एटिएम र इ–बैंकिङको कारोबार गर्दा शुल्क नलिने निर्णय गरेको छ। शुक्रबार संघको बैठकले नोटको कारोबार गर्दा कोरोना भाइरस सर्न सक्ने सम्भावना तीव्र रहेकोले नगदभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो।

त्यस्तै बैंकले अहिले नै बैंकहरु बन्द गर्ने अवस्था नभएको भन्दै सरकारले सम्पूर्ण क्षेत्र बन्द गरेको अवस्थामा मात्र बैंक बन्द गर्ने पनि बैठकले निर्णय गरेको छ।

यसअघि विहीबार डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि डिजिटल कारोबारमा शुल्क नलिने निर्णय गरेको थियो । अब सर्वसाधारणले जुनसुकै एटिएमबाट रकम झिक्दा पनि कुनै शुल्क तिर्न पर्दैन ।

यस्तै शुक्रबार नै राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैंकर्ससँग आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरेका थिए ।

छलफलमा आगामी दिनमा व्यापारी–व्यवसायीले ऋणको व्याज मिनाहा लगायतका स्किम माग गरिरहेको र कसरी यस विषयमा अगाडि बढ्ने भन्नेबारेमा राष्ट्र बैंकमा छलफल भएको थियो ।

सो छलफलमा बैंकहरुले आपत्कालीन अवस्था आएर सरकारलाई पूर्णरुपले सहयोग गर्ने बताएका थिए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र ७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP