२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

डोटीमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दै

पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको छ। सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनी मान्यता दिएसँगै अहिले जिल्लामा सुरक्षित रुपमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ। 

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या एक हजार १२७ जना रहेको छ। चालु आवको साउन महिनामा मात्र जिल्लाभरिका स्वास्थ्य संस्थाबाट कुल १७२ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा लिएका छन्।

पछिल्लो समयमा मेडिकल तथा औषधि पसलहरुमा बिक्री हुने गर्भपतन गराउने औषधिको प्रयोग गर्नेहरु पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। डोटीमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक विकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दीपा सिंहले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा हेर्न नहुने बताए।  उनले भने, “दम्पतीको पहिलोे प्राथमिकता परिवार नियोजनको साधनमा नै हुनुपर्छ, सकेसम्म महिलाले सुरक्षित गर्भपतन सेवा लिनै परे सुरक्षित र विश्वासका साथ सेवा लिनसक्ने वातावरण हुनुपर्छ, गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिनु हुँदैन।”

कोभिड–१९ को सङ्क्रमणको महामारीको त्रासका कारण कामका लागि भारत गएका धेरैजसो स्थानीय अहिले घर फर्किएका छन्। घर फर्किएका स्थानीयवासीले आफ्ना श्रीमतीसँग शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग नगर्ने गरेका कारण यहाँका महिलाले अनिच्छित रुपमा रहेको गर्भलाई पछि गर्भपतन गर्न थालेको स्वास्थ्यकर्मीहरु बताउँछन्। गर्भपतन सेवाले महिलाको स्वास्थ्यमा दीर्घकालीन असर गर्ने भएपनि बाध्यता तथा विभिन्न समस्याका कारण पनि गर्भपतन गर्न बाध्य हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए।

जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै नभएर यहाँको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्य चौकीमा पनि सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या निकै बढेको पाइएको छ। सो स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी यशोदा ओझाका अनुसार यस आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि भदौ २३ सम्म ५३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। सुरक्षित गर्भपतन सेवाको लागि सो स्वास्थ्य चौकी सूचीकृत भएसँगै गर्भपतन सेवा लिन आउनेको सङ्ख्या बढेको हो।

Related News

मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
  • २०७७ भाद्र २६

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्लामा नागरिक अभिनन्दन दिपायल- सर्वाेच्च अदालतका...

TOP