२०७८ जेष्ठ ५, बुधबार
May 19, 2021, Wednesday

मिल व्यवसायीहरुको दुखेसो : नियमित बिद्युत महसुल बुझाउँदा पनि सुख पाएनौं

गणेश मौनी

डोटी– उता बार्षिक नाफा ११ अर्व नाघ्यो भन्दै बिद्युत प्राधिकरणले जस्न मनाईरहेको छ, यता ग्राहक भने प्राधिकरणले गरेको गल्तीको सजाय आफुले भोग्नु परेको भन्दै रुदैछन् ।

डोटी शिखर नगरपालिका–६ का कुटानी–पिसानी मिल व्यवसायी तारासिंह वोहरा केही दिन अघि नयाँ मिटर लिन नेपाल बिद्युत प्राधिकरणको दिपायल कार्यालयमा पुगे । मिल चलाउँदै गर्दा उनको मिटर जलेपछि उनी हतारहतार नयाँ मिटरका लागि करीव २० किलोमिटर टाढाँ दिपायल पुगेका थिए । तर उनले मिटर पाएनन् । लुहाखडी कुटानी–पिसानी मिल सञ्चालक वोहराले कारण सोध्दा पुरानो बक्यौता तिरे मात्र मिटर दिईने भनियो ।

बोहराले नियमित रुपमा बिद्युत महसुल तिर्दै आएका छन् । प्रत्येक महिना दिपायल कार्यालयमै गएर मिटर रिडिङ्ग अनुसारको बिल तिर्दै आएका बोहरालाई २०७५ साल पुष ३० गते “छुट रकम बुझाउने वारेको सूचना” बिषयको एक पत्र आएको थियो । “२०७३ साल श्रावणदेखिको ट्यारिफ अनुसार १० किलोवाट वा सो भन्दा कम जडित क्षमता भएका औद्योगिक ग्रहाकहरुलाई ग्रामिण तथा घरेलु उद्योगभित्र र १० किलोवाट भन्दा बढी क्षमता भएको ग्रहाकहरुलाई साना उद्योगभित्र पर्ने गरि बिलिङ्ग गर्नु पर्नेमा सो नभई ग्रामिण तथा घरेलु उद्योगभित्र परेको” हुँदा सो वाफतको छुट रकम ५३ हजार आठ सय ७५ रुपैयाँ बुझाउन छुट भएकोले सो रकम ३५ दिनभित्र बुझाउन भनिएको थियो ।बोहोराले आफुले नियमित रुपमा बिल तिर्दै आएको र उक्त रकम आफ्नो गल्तीले नभई प्राधिकरणको गल्तीले छुटेको हुँदा आफु नतिर्ने वताए । तर कार्यालयले मानेन र उनी मिटर नलिई रित्तै घर फर्के ।

यो समस्या झेल्ने उनी मात्रै होईनन्, डोटी जिल्लामा रहेका यस्ता ७३ वटा कुटानी–पिसानी मिल सञ्चालकहरुको यस्तै दुखेसो छ । ‘मैले दुई मिल चलाएको छु, मलाई पनि दुईटा छुट्टाछुट्टै पत्र आएका छन्’ दिपायल सिलगढी नगरपालिका–२ दिपायलका दिपेन्द्र कठायत भन्छन् ‘एउटाको ५२ हजार र अर्कोको ५३ हजार गरि एक लाख पाँच हजार तिर्नु पर्ने भनिएको छ ।’ उनी थप्छन् ‘यो हाम्रो गल्ती होईन्, हामी त नियमित रुपमा बिल बुझाउँदै आएका थियौं, यो त कार्यालयको गल्ती हो ।’ आफुहरु जस्ता साना व्यवसायीहरुलाई एकै पटक विना कारण एक लाख तिर्न समस्या भएको उनी वताउँछन् । उनले पनि हालसम्म उक्त रकम तिरेका छैनन् ।

जिल्ला सदरमुकाम सिलगढीमा कुटानी–पिसानी व्यवसाय गर्दै आएका यज्ञ वोहरालाई पनि यस्तै व्यहोराको पत्र आयो । उनलाई ७७ हजार तीन सय तीन रुपैयाँ तिर्न भनियो । कुटानी–पिसानी मिल व्यवसायी संघका अध्यक्ष समेत रहेका बोहराले पनि उक्त रकम तिरेका छैनन् । ‘हामी साना व्यवसायीहरुको घाटी निमोठ्ने गरि यस्तो पत्र आएको छ’ उनी भन्छन् ‘यो हामीले कसरी तिर्ने ?’ गल्ती अरुले गर्ने सजाय हामीले भोग्नु पर्ने भन्दै उनले यो रकम छुट हुनु पर्ने दोहो¥याए ।

प्राधिकरणको गल्ती

उक्त समस्या आएपछि मिल व्यवसायीहरु बिद्युत प्राधिकरणको दिपायल कार्यालयमा पुगेका थिए । उनीहरुले यत्रो रकम आफुहरु तिर्न नसक्ने भन्दै मिनाहको माग गरेका थिए । तर बिद्युत कार्यालयले उनको माग नसुनेपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय, डोटीलाई गुहारेका थिए । २०७५ साल फागुन १३ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षता र दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, बिद्युत प्राधिकरण दिपायल कार्यालयका तत्कालीन प्रमुख बुद्धिनाथ झा, मिल व्यवसायीका प्रतिनिधि र डोटी उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको उपस्थितिमा बैठकले बिद्युत प्राधिकरणका कर्मचारीहरुको लापरवाहीका कारण यो समस्या आएको ठहर ग¥यो ।

“२०७३ सालदेखिनै बढेको बिद्युत महसुल प्राधिकरणले सोही समयमा बिलमा समावेश गर्न नसकेको, महसुल वढेको बिषयमा संसोधन भएको प्राधिकरणको नियम वारेमा प्राधिकरणबाट जानकारी नगराईएको, प्राधिकरणका कर्मचारीको लापरवाही र कमजोरीको कारणबाट मिल उपभोक्ताहरु मार्कामा पर्नु परेको, लापरवाही गर्ने कर्मचारीहरुलाई कारवाही हुनु पर्नेमा उल्टो मिल उपभोक्ताहरुलाई मार्का पर्ने गरी असुल उपर गर्न खोजेको” बैठकको निर्णय पुस्तिकामा उल्लेख छ । बैठकले उक्त महसुल तिर्न मिल व्यवसायीलाई कठिनाई भएकाले मिनाह गर्नका लागि प्राधिकरणको दिपायल कार्यालय मार्फत नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय धनगढीलाई अनुरोध गर्ने निर्णय समेत गरेको थियो । बैठकले लापरवाही गर्ने प्राधिकरणका कर्मचारीहरुलाई समेत कारवाही गर्नु पर्ने निर्णय समेत गरेको थियो । तर उक्त निर्णय कार्यान्वयन भएन ।

किन कार्यान्वयन भएन त ?

‘त्यतिवेला के निर्णय भएको थियो मलाई कुनै जानकारी भएन” प्राधिकरणका दिपायल कार्यालय प्रमुख कपिलदेव जोशी भन्छन् ‘कार्यालयमा पनि त्यस्तो कुनै अभिलेख छैन ।’ उनी यस्तो निर्णय भएको कुरा आफुले पनि मिल व्यवसायीहरुबाट सुनेको तर त्यसको आधिकारिकता केही नभएको वताउँछन् । उनी बिद्युत प्राधिकरणको लापरवाही स्वीकार्दैनन्, भन्छन् ‘नयाँ नियमावली अनुसार मिलाउँदा यस्तो भएको होला ।’ उनी उक्त रकम सवैले तिर्नु पर्ने वताउँछन् । ‘केहीले त तिरि पनि सकेका छन्’ जोशी भन्छन् ‘बाँकीले पनि तिर्ने पर्ने हुन्छ,मिनाह भन्ने हुँदैन ।’

तर कसैले पनि नतिरेको मिल व्यवसायी समितिका अध्यक्ष बोहरा वताउँछन् । उनले कार्यालयले वाध्यतामा पारेर केही व्यक्तिहरुसंग जवरजस्ती असुल गरेको वताउँदै भने ‘आफ्नो ईच्छाले कसैले तिरेका छैनन् ।’

Related News

भारतलाई तहसनहस बनाएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको पुष्टि
भारतलाई तहसनहस बनाएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको पुष्टि
  • २०७७ भाद्र ९

काठमाडौं- नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु...

८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु
८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु
  • २०७७ भाद्र ९

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

मंगलबार डोटीका थप ६८ जनामा कोरोना पुष्टि
मंगलबार डोटीका थप ६८ जनामा कोरोना पुष्टि
  • २०७७ भाद्र ९

डोटी- मंगलबारको परीक्षणमा डोटीका थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा आरटिपिसिआर परीक्षण गर्दा ५१...

TOP