डोटी- भारतबाट आएर क्वारेण्टाइनमा बसेका नगरबासीलाई दिपायल सिलगढी नगरपालिकाले बेवास्ता गरेपछि नगरका छाया मेयरले खाद्यान्न उपलब्ध गराएका छन् । नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा छाया मेयर विजय खड्काले नगरपालिकाको वडा नं. ५ दिपायल पुल नजिकको मुर्दा घरमा बसेका ७ जनाका लागि खाद्यान्नको व्यवस्था गरेका हुन् ।
एकसाता अघि भारतको महाराष्ट्रबाट गौरिफण्टा नाका हुँदै आएका उनिहरु नगरपालिकाले दिपायल पुल नजिकको मसानघाटमा निर्माण गरेको मुर्दा घरको एक छेउमा पाल टागेर बस्दै आएका थिए । वडाध्यक्ष तथा नगरपालिकासंग सो मुर्दाघरको चापी माग्दा समेत नदिए पछि आफुहरु ५ दिन सम्म मुर्दाघरको छेउमा पाल टागेर बसेको क्वारेण्टाइनमा बसेका चन्द्र भण्डारीले गुनासो गरे । पाँचौ दिनसम्म नगरले केही वास्ता नगरेपछि मुर्दाघरको एउटा कोठाको ताला तोडेर बसेको उनले बताए ।
भण्डारीले भारतबाट आएर सीमा नाकामा पुग्दा समेत जनप्रतिनिधि तथा सीमानामा उद्धारका लागि गएका व्यक्ति संग हार गुहार गर्दा समेत सीमानामा पुगेको नगर बसमा ठाउँ छैन भनेर टारेपछि अर्को बसमा प्रति व्यक्ति एक हजार भाडा तिरेर डोटी पुगेको उनिहरुले गुनासो गरेका छन् । शिखर समाचार संगको कुराकानीमा उनिहरुले राजनीतिक पहुँच नपुगेपछि आफुहरुलाई व्यवास्ता गरिएको बताए ।
भारतमा सुगर र प्रेसरको उपचार गरेर फर्किका देउवने भण्डारीले क्वारण्टाइनमा बसेको कुरा वडाअध्यक्ष लगायतलाई जनकारी दिदा समेत कसैले मुख समेत नदेखाएको बताए । वडाध्यक्ष मदन भण्डारी संग सम्पर्क गर्दा उनले नगरपालिकाले तोकेको राजपुरस्थित क्वारेण्टाइनमा अरु संगै बसेपछि मात्रै सेवासुविधा दिन सकिने भनेर टारेको भण्डारीले बताए ।
महाराष्ट्रबाट आफुहरु गाडी रिजर्व गरेर सिमाना सम्म सुरक्षित आएकोले अन्य व्यक्तिको हुलमा बस्दा उल्टै संक्रमित हुने जोखिम भएकाले आफुहरु घर नगएर खाली रहेको मुर्दा घरमा बसेको उनिहरुको भनाई छ । नगरले खाद्यान्न तथा लुगाकपडाको व्यवस्था नगरिदिएपछि घरबाट खाना र लुगा मगायर सो इच्छाले क्वारेण्टाइनमा बसेको उनिहरु बताउँछन् । क्वारेण्टाइनमा बसेका मध्य एक जना महिला र एक बर्षे बालक पनि छन् ।
घरबाट रासन र लुगा कपडा ल्याएर बस्न कुनै गाह्रो नभए पनि सरकारले दिएको सेवा सुविधा र व्यवस्था राजनीतिक पहुँच नपुगेकै कारण नदिनु न्यायोचित नभएको उनिहरुको तर्क छ । सरकारले दिदै आएको सेवा सुविधा आफुहरुले पाउनु पर्ने बताउदै चन्द्रले सरकारले दिदै आएको सेवा सुविधा नदिए नगरपालिकाको कार्यालयमा गएर बस्ने बताएका छन् ।
क्वारेण्टाइनमा बसेकाहरुले शिखर समाचार संग सम्पर्क गरेर आफुलाई नगरपालिकाले व्यवास्ता गरेको र कुनै सेवा सुविधा नदिएको गुनासो गरेपछि शिखर समाचारका प्रतिनिधि उनिहरु बेको क्वारेण्टाइनमा पुगेका थिए । उनिहरुको अवस्था देख्दा तत्काललाई केही मात्रामा खाद्यान्न भए पनि व्यवस्था गर्नसके राहत मिल्ने शिखर समाचारले सूचना प्रवाह गरेको थियो ।
शिखर समाचारको सूचना पछि जिल्लाका विभिन्न ठाउँमा राहत वितरणमा सक्रिय रहेका काँग्रेस नेता तथा छाया मेयर खड्काले उनिहरुका लागि तत्काल एक कट्टा चामल, ५ किलो दाल, नुन, तेल, मसला, सावुन, मास्क, कोलगेट बुरुस लगाएतको व्यवस्था गरेका थिए । नेता खड्का खाद्यान्न सहित क्वारेण्टाइनमा आफै पुगेका थिए ।
राहत वितरण गर्दै नेता खड्काले जिल्लामा कसैले पनि भोको बस्नु पर्ने, खाद्यान्न अभाव झेल्नु पर्ने अवस्था सृजना हुन नदिने बताए । आफुले जिल्ला तथा नगरका विभिन्न क्वारेण्टाइनमा रहेका र लकडाउनले खाद्यान्न भएका विपन्न परिवारका लागि स्थानिय तह मार्फत सहयोग गर्दै आएको बताउदै नगरले व्यवास्ता ग¥यो भन्दैमा चिन्तित नहुन भनेका छन् । नागरिकलाई राज्यले दिएको सेवा सुविधाबाट राजनीतिक आस्थाका आधारमा वञ्चित गराउनु निन्दनिय कार्य भएको बताउदै नेता खड्काले अरु नागरिक सरह उनिहरुका लागि पनि क्वारेण्टाइनमा चाहिने सेवा सुविधाको व्यवस्थापन गर्न माग गरेका छन् । नगरले अझै पनि व्यवस्थापन नगरे, राजनीतिक आस्था र पहुँचका आधारमा काखापाखा गरेर अन्याय गरे काँग्रेस चुप लागेर नबस्ने बताए ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...