२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

डोटीमा दुई वटा कोरोना विशेष अस्पताल बनाउने तयारी

सुजङ्ग अस्पताललाई कोरोना विशेष बनाउन निर्णय हुन सकेन

डोटी- डोटीमा दुई वटा कोरोना विशेष अस्पताल बनाउने तयारी भैरहेको छ । शिक्षा विकास तथा समन्वय इकाईको सरकारी भवन र सुजङ्ग अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने बारे छलफल भएको छ ।

जिल्लामा अहिलेसम्म कोरोना विशेष अस्पताल नहुँदा सिलगढीमा रहेको सरकारी कार्यालय भवन र राजपुरमा रहेको सुजङ्ग अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

कोरोना अस्पताल बनाउने सम्बन्धमा सोमबार जिल्लास्थित क्रियासिल राजनीतिक दल तथा अन्य सरोकारवाला निकायबीच सर्बपक्षीय बैठक बसेको थियो । बैठकले शिक्षा विकास तथा समन्वय इकाईको सरकारी भवनमा अस्पताल बनाउने निर्णय गरेको छ । सुजङ्ग अस्पताललाई कोरोना विशेष बनाउने निर्णय भने पारित हुन सकेको छैन । अस्पतालका लागि चाहिने स्रोत, साधन, कर्मचारी व्यवस्थापन खर्च कस्ले वेहोर्ने भन्ने बिषय उठेपछि ठोस निर्णय हुन नसकेको हो ।

अस्पतालको खर्च, जनशक्ति खर्च, प्रशासनिक खर्च कहाँबाट व्यवस्था गर्ने भन्ने सुनिस्चितता नभएपछि बैठक पुनः अर्को दिन बस्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा रहेको एक मात्र जिल्ला अस्पताल डोटीमा अन्य बिमारीलाई पनि चेकजाँच गर्नुपर्ने भएकाले सुजङ अस्पताल र शिक्षा विकास तथा समन्वय इकाईको सरकारी भवनमा कोरोना विशेष अस्पताल बनाउन सर्बपक्षीय बैठक बसेको थियो ।

सरकारी भवनमा बनाइने कोरोना विशेष अस्पतालमा जिल्ला अस्पतालको जनशक्ति प्रयोग हुने छ । सुजङ्ग अस्पतालको जनशक्ति, अस्पतालको क्षती, प्रशासनिक खर्च कहाँबाट कसरी व्यहोर्ने भन्ने बिषयमा भने टुङ्गो लाग्न सकेको छैन ।

सुजङ्ग अस्पतालले आफु संग भएका जनशक्तिको तलव भत्ता, प्रशासनिक खर्च र क्षति सरकारले बेहोर्नु पर्ने माग राखेको छ । सामुदायिक अस्पताल भएकाले अस्पताल वरपरका स्थानियहरू र जनप्रतिनिधि सँग समेत समन्वय गरिनु पर्ने अस्पताल व्यवस्थापन समितिको जनाएको छ ।

यो सँगै बैठकले जिल्लाका एमबीबीसएस डाक्टर कार्यरत रहेका स्वास्थ्य संस्थामा कम्तीमा १० वेडसम्मको आइसोलेसन कक्ष तयार गर्नु पर्ने निर्णय गरेको छ ।

सोमबारसम्म डोटीमा ७ हजार भन्दा बढीको संख्यामा भारतबाट आइ क्वारेन्टाइनमा बसिरहेका र उनीहरुको व्यवस्थापनमा कठीनाइ भएको छ। त्यसका लागि सिमानाका नै बन्द गरेर २०/२० दिनको अन्तरालमा सिमानाका खोल्ने व्यवस्था गर्न समेत बैठकबाट संघीय तथा प्रदेश सरकारलाई अनुरोध पठाइएको छ ।

जिल्लामा कोरोना परीक्षणका लागि किट अभाव भएकाले किटको माग समेत गरिएको छ । १२ हजार आरटी पीसीआर भिटिएम तथा १० हजार आरडीटी किटको माग गरिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

यदि भारतबाट आउने व्यक्ति रोकिएनन् भने जिल्लास्थित सरकारी संरचनालाई समेत क्वारेन्टाइनका लागि प्रयोगमा ल्याइने संयोजक ऐरले बताए । 

डोटी जिल्लाबाहेक सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भारतबाट घर फर्किएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि  स्थानीयमा त्रास देखिएको छ । जिल्लामा कोरोना परीक्षण किट अभावका कारण समयमै परीक्षण नहुँदा डोटीमा कोरोना संक्रमित व्यक्ति नदेखिएको स्थानीयको भनाइ छ। 

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ १९

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP