काठमाडौं – नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र पर्सा जिल्ला प्रशासन कार्यालयमा चिकित्सकहरूमाथि भएको दुव्र्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १२ गते देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो।
नेपाल चिकित्सक संघका अनुसार साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहितका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको र अस्पतालभित्र तोडफोडसमेत भएको संघले जनाएको छ।
संघका अनुसार घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता चलिरहेका बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी प्रमुखले बल प्रयोग गरी चिकित्सकहरूमाथि गालीगलौज तथा दुव्र्यवहार गरेका थिए।
उक्त घटनामा नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरू दुर्व्यवहारमा परेको संघको दाबी छ।
संघले डा. प्रमोद राम र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, वार्ताका क्रममा चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि तत्काल कारबाही गर्न संघले माग गरेको छ।
नेपाल चिकित्सक संघले राज्यको दमनकारी व्यवहारको विरोधस्वरूप प्रतीकात्मक रूपमा एक दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ। आन्दोलनका आगामी कार्यक्रम सर्वपक्षीय भेलामार्फत तय गरिने संघले जनाएको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरिएको छ।
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...