२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

क्वारेण्टाइनमा आफै सुरक्षाकर्मी भएर बस्न के.आई.सिंह सरकारको आग्रह

डोटी । के.आई.सिंह गाउँपालिकाले भारतबाट आएका आफ्ना नागरिकलाई अनुशासित भएर क्वारेण्टाइनमा बसिदिन आग्रह गरेको छ । भारतबाट नागरिकहरु आउनेक्रम जारी रहेकाले क्वारेण्टाइन व्यवस्थापन तथा सञ्चालनमा चुनौती थपिएको भन्दै क्वारेण्टाइनमा बस्ने नागरिकलाई अनुशासित हुँदै गाउँपालिकाले बनाएको नीति नियममा बस्न अनुरोध गरेको हो ।

के.आई.सिंह सरकारले क्वारेण्टाइन व्यवस्थापन तथा सुरक्षाका लागि प्रदेश सरकार, संघ सरकार र प्रशासन संग पटक–पटक अनुरोध गर्दा समेत कुनै प्रतिक्रिया नजनाएकोले समस्या भैरहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले सीमानामा अलपत्र आफ्ना नागरिकलाई उद्धार गर्ने पहिलो गाउँपालिका के.आई.सिंह भएको भन्दै के.आई.सिंह सबै प्रवासी नागरिक प्रति उत्तरदायी रहेको बताए । उनले सीमा पारी अलपत्र नेपालीहरुलाई प्रदेश सरकारले परिक्षण विना पठाएको प्रति गुनासो गर्दै स्थानिय सरकारको क्षमता, संरचना, आउनसक्ने संकट र जोखिमको कुनै वास्ता नगरि संघ र प्रदेश सरकारले भार थपेको बताए ।

अध्यक्ष शाहीले आफु संग क्वारेण्टाइन बनाउन सकिने संरचना, दिन सकिने सुविधा र मिलाउन सक्ने व्यवस्थापनमा कुनै कमी नगरेको बताए । उनले भने,‘हामी संग भएका क्वारेण्टाइनहरु भरीभराउ छन् । अव भारतबाट आउँदै गरेकाहरुलाई राख्न क्वारेण्टाइन बनाउन सकिने संरचना छैनन् । दैनिक गाडी व्यवस्था गरेर सीमाबाट नागरिकहरु विना चेकजाँच ल्याउनु परिरहेको छ । क्वारेण्टाइनमा सुरक्षाकर्मीको समेत अभाव छ । सम्बनिधत निकाय संग कुरा गर्दा जे–जे गरे पनि स्थानिय सरकारले गर्छ भनेर सबै पञ्छिएका छन् । दिनरात खटिएर व्यवस्थापन गर्न धौ–धौ छ ।’

क्वारेटाइनमा भोको भेट कसैको हुन नदिने गररे गाउँपालिकाको स्रोत साधन स्थानियको सहयोगले धानेसम्मको व्यवस्थापन गरेको बताउँदै अध्यक्ष शाहीले केही दिन दुःख गरेर भए पनि आफ्नो परिवार, समाज, पालिका तथा राष्ट्रका लागि क्वारेण्टाइनमा नियमपुर्वक सुरक्षित बसिदिन अनुरोध गरे । उनले क्वारेण्टाइनमा सुरक्षाकर्मीको अभाव भएकाले क्वारेण्टाइनमा बस्नेहरुले आफुलाई भोलेन्टियर सुरक्षाकर्मी सम्झेर शान्तपुर्वक बसिदिन समेत अनुरोध गरेका छन् । गाउँपालिकाले क्वारेण्टाइनबाट बाहिर जाने, घरमा भेटघाट गर्न जाने, कामबिना घरपरिवार आफनतलाई भेट्न बोलाउन र सामान घर पठाउने कार्य जोखिमपुर्ण भएकाले आफुलाई नै सुरक्षाकर्मी सम्झेर यस्तो कार्य नगर्न अनुरोध गरेको छ ।

के.आई.सिंह सरकारले दैनिक पालिकामा भित्रिने आफ्ना नागरिकलाई कोरोना भाइरस, सर्ने सम्भावना, जोखिम, क्वारेण्टाइनको नियम लगायतका कुराहरु सम्झाई बुझाई गरेर दिपायलबाट गाडीको व्यवस्था गरेर सम्बन्धित वडाको क्वारेण्टाइनमा पठाउने गरेको छ । गाउँपालिकाले स्थापना गरेका २२ वटा क्वारेण्टाइनमा शनिबार सम्म १ हजार एक सय ७२ जनालाई राखेको छ । अब आउने नागरिकलाई व्यवस्थापन गर्न निकै चुनौती र समस्या रहेको गाउँपालिकाले जनाएको छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ जेष्ठ १७

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP