डोटी — डोटी जिल्लामा संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न विभिन्न सरकारी कार्यक्रम सञ्चालन भइरहे पनि घरमै सुत्केरी हुने क्रम अझै रोकिएको छैन। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म जिल्लाभर ४३ महिलाले घरमै बच्चा जन्माएको तथ्याङ्क सार्वजनिक भएको छ।
स्वास्थ्य कार्यालय, डोटीका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी नौ जना महिलाले घरमै सुत्केरी भएका छन्। कार्यालयका सूचना अधिकारी कपिलदेव जोशीका अनुसार पूर्वीचौकी–७ पोखरीमा आठ जना र वडा नम्बर २ बगलेकमा एक जनाले घरमै बच्चा जन्माएका हुन्।
तथ्याङ्कअनुसार आदर्श गाउँपालिका र बडीकेदार गाउँपालिकामा आठ/आठ जना, सायल गाउँपालिकामा छ जना, दिपायल सिलगढी नगरपालिकामा चार जना, बोगटान फुड्सिल गाउँपालिकामा तीन जना, जोरायल गाउँपालिका र के.आई. सिंह गाउँपालिकामा दुई/दुई जना तथा शिखर नगरपालिकामा एक जनाले घरमै सुत्केरी भएका छन्।
सरकारले पूर्ण संस्थागत सुत्केरीलाई प्रवर्द्धन गर्न निःशुल्क प्रसूति सेवा, यातायात खर्च तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि डोटीका केही ग्रामीण क्षेत्रमा अझै घरमै बच्चा जन्माउने अवस्था कायम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीहरूले सुरक्षित मातृत्वका लागि गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिन आग्रह गरेका छन्।
दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...