२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले सोमबार उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि हालसम्म भएका काम, प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो।

मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी गरिरहेको छ।

प्रतिवेदनअनुसार सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार उद्योग परिसरमा सरसफाइ, मेसिन मर्मत तथा आवश्यक कच्चा पदार्थ खरिदलगायतका काम तीव्र रूपमा अघि बढाइएको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा रु ३३ लाख बजेट निकासा गरिसकेको छ। उक्त बजेटबाट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक तयारी सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयमा रु ५० लाख लागत अनुमान पेश गरिएको छ। सोहीअनुसार भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयले लिएको छ।

उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ। मन्त्रालयका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको छ।

सरकारले तत्कालका लागि पुराना मेसिनहरू मर्मत गरेर परीक्षण उत्पादन गर्ने योजना बनाएको छ। परीक्षण उत्पादनको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण क्षमतामा दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले कार्यदलका सुझावअनुसार निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

Related News

  • २०८३ असार ३०

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP