२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

बैंककको बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

बैंककको बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको जनाइएको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष१८ जना महिला रहेका छन्।

आगलागी सोमबार मध्यरातपछि बैंककको चाटुचक जिल्लास्थित लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल ‘रोङ बियर ना लाट फ्राओ (Rong Beer Na Lat Phrao)’ मा भएको हो। आगो लागेको जानकारी पाएलगत्तै दमकल टोली घटनास्थल पुगेको थियो। त्यसबेला मानिसहरू आगो र बाक्लो धुवाँबाट ज्यान जोगाउन मुख्य प्रवेशद्वार हुँदै भागिरहेको दृश्य देखिएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट ठूलो आगोको मुस्लो निस्किएको, मानिसहरू चिच्याउँदै भागिरहेको तथा केही व्यक्तिको शरीरमा आगो सल्किएको देखिन्छ।

प्रधानमन्त्री चार्नभिराकुलले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार कार्यक्रम सञ्चालन भइरहेका बेला मुख्य विद्युत् कट–आउट स्विच नजिक आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि विस्फोटजस्तो आवाज आएपछि आगो तीव्र रूपमा फैलिएको बताइएको छ।

धेरै मानिसहरू अगाडिको बाटोबाट बाहिर निस्कन नसकेपछि भवनको पछाडितर्फ गएर शौचालयमा लुकेका थिए। प्रधानमन्त्रीका अनुसार अधिकांश शव त्यहीँबाट फेला परेका छन्।

दमकलकर्मीहरूले करिब आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म ठूलो मानवीय क्षति भइसकेको थियो। घटनापछि सार्वजनिक तस्बिरहरूमा बार पूर्ण रूपमा जलेको र बाहिर शव राखिएका बडी ब्यागहरूको लाम देखिएको छ।

प्रारम्भिक अनुमानअनुसार बारभित्र प्रयोग गरिएका अत्यधिक ज्वलनशील सजावटका सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। यद्यपि यसको आधिकारिक पुष्टि फरेन्सिक अनुसन्धानपछि मात्र हुने जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार राति करिब ११:३० बजे त्यहाँबाट गुज्रिरहेका एक चालकले बारमा आगो लागेको देखेपछि दमकललाई खबर गरेका थिए। उनले आफ्नै प्रयासमा झ्याल फुटाएर दुई जनालाई सुरक्षित उद्धार गर्न सफल भएको बताएका छन्।

Related News

  • २०८३ असार २९

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP