२०८३ कार्तिक १, शनिबार
October 17, 2026, Saturday

अमेरिकाको नयाँ हवाई आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज अनिश्चितकालका लागि बन्द गर्ने घोषणा

अमेरिकाको नयाँ हवाई आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज अनिश्चितकालका लागि बन्द गर्ने घोषणा

काठमाडौं — इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ हर्मुज अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गरेपछि अमेरिकाले शनिबार इरानी सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेको छ।

अमेरिकी सेनाले यो आक्रमण यही साताभित्र इरानविरुद्ध गरिएको तेस्रो चरणको सैन्य कारबाही भएको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार इरानले एक व्यावसायिक मालवाहक जहाजमाथि मिसाइल प्रहार गरेपछि जवाफी कारबाहीस्वरूप हवाई आक्रमण गरिएको हो।

साइप्रसको झण्डा बोकेको उक्त कन्टेनर जहाजमा आगलागी हुनुका साथै इन्जिन कक्षमा ठूलो क्षति पुगेको छ। घटनामा जहाजका एक चालक दलका सदस्य बेपत्ता भएको जनाइएको छ।

सेन्टकमका अनुसार अमेरिकी आक्रमणमा इरानका हवाई तथा समुद्री निगरानी राडार, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, प्रक्षेपण स्थल र सतहबाट आकाशमा प्रहार गर्ने मिसाइल प्रणालीलाई निशाना बनाइएको थियो।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समार्फत इरानले गलत निर्णय गरेको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन्। सेन्टकमले पनि व्यावसायिक जहाज र नागरिक जलयात्रामाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले कारबाही गरिएको जनाएको छ।

यसअघि आईआरजीसीले केही जहाजलाई आफूले तोकेको समुद्री मार्ग प्रयोग नगर्न चेतावनी दिएको र सम्बन्धित मालवाहक जहाजले मार्ग परिवर्तन नगरेपछि चेतावनीस्वरूप गोली प्रहार गरिएको दाबी गरेको थियो।

घटनापछि आईआरजीसीले अर्को सूचना जारी नभएसम्म स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द रहने र कुनै पनि जहाजलाई उक्त जलमार्गबाट आवतजावत गर्न नदिने घोषणा गरेको छ।

यस घटनाले गत महिना अमेरिका र इरानबीच भएको समझदारी (एमओयू) थप संकटमा परेको संकेत गरेको छ। अमेरिका सुरक्षित समुद्री आवागमनको सार्वजनिक ग्यारेन्टी इरानले दिनुपर्ने अडानमा रहेको छ।

यसैबीच, शनिबार भएको क्षेत्रीय कूटनीतिक वार्तामा ओमानले स्ट्रेट अफ हर्मुजका दुवै जलमार्ग पूर्ण रूपमा पुनः सञ्चालन गर्ने प्रस्ताव राखेको थियो। कूटनीतिक स्रोतका अनुसार ओमानले आफ्नो समुद्री क्षेत्रमा पर्ने दक्षिणी मार्ग कुनै पूर्वस्वीकृतिबिनै खुला गर्ने प्रस्ताव अघि सारेको थियो।

तर इरानी प्रतिनिधिमण्डलले उक्त प्रस्ताव तत्काल स्वीकार नगरी थप आन्तरिक छलफलका लागि तेहरान फर्काएको जनाइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार आईआरजीसीले आक्रमण गरेको मालवाहक जहाज ओमानले पुनः सञ्चालन गर्न प्रस्ताव गरेको दक्षिणी समुद्री मार्ग हुँदै यात्रा गरिरहेको थियो।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ असार २८

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP