२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

मध्यपूर्व तनावको असर : कुवेतसहित खाडी मुलुकमा नेपाली कामदारको माग घट्दै, रेमिट्यान्समा असर पर्ने चिन्ता

मध्यपूर्व तनावको असर : कुवेतसहित खाडी मुलुकमा नेपाली कामदारको माग घट्दै, रेमिट्यान्समा असर पर्ने चिन्ता

काठमाडौं – अमेरिका र इरानबीच मध्यपूर्वमा पुनः युद्ध सुरु भएसँगै नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य खाडी मुलुकहरू प्रभावित हुन थालेका छन्। वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घट्न थालेपछि आगामी दिनमा रेमिट्यान्स र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख र जेठ महिनामा कुवेत जाने नयाँ नेपाली कामदारको संख्या गत वर्षको तुलनामा झण्डै दुईतिहाइले घटेको छ। गत वर्ष वैशाखमा ३ हजार ४५३ जनाले कुवेतका लागि श्रम स्वीकृति लिएकामा यस वर्ष सो संख्या घटेर १ हजार ४१ मा सीमित भएको छ। जेठ महिनामा पनि गत वर्ष ३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएकामा यस वर्ष करिब १ हजार १ सय जनाले मात्रै स्वीकृति लिएका छन्।

माघ महिनादेखि मध्यपूर्वमा तनाव बढ्न थालेपछि कुवेत मात्र नभई संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, बहराइनलगायत नेपाली श्रमिकका प्रमुख गन्तव्यमा जाने कामदारको संख्या पनि घट्दै गएको विभागको तथ्याङ्कले देखाएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतस्थित अमेरिकी सैन्य अखडामा कार्यरत २२ देखि ३० हजार नेपाली श्रमिक अहिले पनि अनिश्चित अवस्थामा रहेका छन्। कम्पनीहरूले केही समयसम्म पूर्ण तलब र त्यसपछि आधा तलब दिएर कामदारलाई ‘होल्डिङ सेन्टर’मा राखेको उनले बताए।

उनका अनुसार द्वन्द्व लम्बिए ती कामदारलाई स्वदेश फर्काउने अवस्था आउन सक्ने र त्यसले हजारौं नेपालीको रोजगारी प्रभावित हुने जोखिम बढेको छ।

कतारका लागि नेपालका पूर्वराजदूत नारदराज भारद्वाजले पनि मध्यपूर्वमा कार्यरत नेपालीको सुरक्षा र रोजगारी दुवै चुनौतीमा परेको बताए। उनले युद्ध लम्बिए नेपालीले रोजगारी गुमाउने, रेमिट्यान्स घट्ने र त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पर्ने चेतावनी दिए।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म रेमिट्यान्समा प्रत्यक्ष असर देखिएको छैन। चालु आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स ४१ प्रतिशतले वृद्धि भएको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। तर, श्रम स्वीकृति लिनेको संख्या घटेकाले आगामी महिनामा यसको प्रभाव देखिन सक्ने जानकारहरूको भनाइ छ।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले मध्यपूर्वमा हुने कुनै पनि द्वन्द्वले नेपालको श्रम बजार र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताइन्। उनले श्रम बजारमा अस्थिरता बढे बेरोजगारीको समस्या थप गम्भीर बन्न सक्ने उल्लेख गरिन्।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष सबैभन्दा धेरै नेपाली यूएई, साउदी अरब, कतार र ओमानमा रोजगारीका लागि गएका थिए। पछिल्लो चार वर्षमा मात्रै करिब ३० लाख नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्याङ्क छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ असार २६

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP