२०८३ असार २६, शुक्रबार
July 10, 2026, Friday

बजेटमा दोहोरिएका योजना सच्याउनुपर्नेमा प्रदेशसभा सदस्यहरूको जोड

बजेटमा दोहोरिएका योजना सच्याउनुपर्नेमा प्रदेशसभा सदस्यहरूको जोड

धनगढी – सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल भएको छ। बिहीबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभा नियमावली, २०८० को नियम १३६ को उपनियम (३) बमोजिम संक्षिप्त वक्तव्य प्रस्तुत गरेपछि बजेटमाथि छलफल सुरु भएको हो।

छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता खगराज भट्टले बजेट नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकताअनुसार नआएको टिप्पणी गरे। उनले कतिपय योजना दोहोरिएको, योजना छनोट तथा बजेट विनियोजनमा लापरबाही भएको भन्दै सरकारको आलोचना गरे।

सत्ता साझेदार दल नेकपा (एमाले) का नेता चक्रबहादुर मल्लले पनि बजेट निर्माण प्रक्रिया, योजना छनोट र आर्थिक अनुशासन कायम गर्ने विषयमा आफ्नो पार्टीको असहमति रहेको बताए। उनले छलफलबाट बजेटका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका नेता प्रकाशबहादुर बमले बजेट निर्माणको क्रममा मन्त्री परिवर्तन हुँदा त्यसको प्रभाव बजेटमा परेको बताए। उनले दलहरूबीच २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने सहमति भए पनि त्यसको पालना नभएको, योजना छनोटका मापदण्ड उल्लङ्घन भएको उल्लेख गरे। यद्यपि अधिकांश सांसदहरूले प्रस्ताव गरेका योजना बजेटमा समेटिएको भन्दै उनले सकारात्मक पक्षको पनि चर्चा गरे।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सरकारले गलत नियतका साथ बजेट नबनाएको स्पष्ट पारे। मन्त्री परिवर्तनपछि समयको चापका कारण केही योजना दोहोरिएको स्वीकार गर्दै उनले त्यसलाई छलफलबाट समाधान गर्न सकिने बताए।

उनले प्रदेशको आवश्यकता र अधिकांश सांसदहरूको मागअनुसार धार्मिक पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गरिएको उल्लेख गर्दै सकारात्मक पक्षमा पनि ध्यान दिन आग्रह गरे।

यसअघि बैठकको प्रारम्भमा प्रदेशसभा सदस्य नरेश शाहीले संघीय सरकारको निर्देशनअनुसार प्रदेश सरकारले गरेको निर्णयका कारण गत चैत १५ गतेपछि प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको सुविधा भुक्तानीमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभा सदस्य ललिता सुनारले पनि उक्त समस्या समाधान गर्न आग्रह गरिन्।

प्रदेशसभाको बिहीबारको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

 

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०८३ असार २६

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP