काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकलाई राजस्व संकलनको लक्ष्य हासिल गर्न इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित भेटघाटमा अर्थमन्त्री वाग्लेले भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि आवश्यक निर्देशन दिएका हुन्।
अर्थमन्त्री वाग्लेले व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै सरकारको ‘मिसन १६ खर्ब’ राजस्व संकलन लक्ष्य पूरा गर्न प्रतिबद्ध भएर काम गर्न आग्रह गरे।
उनले राजस्व चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि तथा कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्न मन्त्रालयबाट आवश्यक सबै सहयोग उपलब्ध गराइने बताए।
भन्सार र राजस्व प्रशासनलाई सूचना प्रविधिमैत्री, चुस्त र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले कर तथा भन्सार आम्दानी बढे मुलुकको आन्तरिक आय बलियो हुने, बाह्य ऋणप्रतिको निर्भरता घट्ने र आफ्नै स्रोतबाट विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले राजस्व लक्ष्य हासिल गर्ने क्रममा निजी क्षेत्रमैत्री वातावरण कायम राख्दै प्रणालीभित्र रहेका चुहावटका स्रोत नियन्त्रण गर्नु प्रमुख प्राथमिकता हुनुपर्ने उल्लेख गरे।
प्रशासनिक दक्षता र कार्यक्षमताका आधारमा अब्बल मानिएका दुई सहसचिवलाई राजस्व प्रशासनका महत्वपूर्ण निकायको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आगामी ६ देखि ८ महिनाभित्र सकारात्मक नतिजा देखिने अपेक्षा पनि व्यक्त गरे।
गत असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालय अन्तर्गत नयाँ जिम्मेवारीमा सरुवा गर्ने निर्णय गरेको थियो।
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...