२०८३ असार २४, बुधबार
July 8, 2026, Wednesday

प्रधानमन्त्री बालेनले आज उद्योगी–व्यवसायीसँग छलफल गर्दै

प्रधानमन्त्री बालेनले आज उद्योगी–व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग समसामयिक आर्थिक तथा व्यावसायिक विषयमा छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर्स अफ कमर्सका पदाधिकारीलाई आमन्त्रण गरिएको छ।

सरकारले बजेट र मौद्रिक नीति सार्वजनिक गरिसकेपछि प्रधानमन्त्रीले पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक छलफल गर्न लागेका हुन्।

उद्योगी–व्यवसायीहरूले लामो समयदेखि सरकारले निजी क्षेत्रका समस्या र सुझावलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। यही सन्दर्भमा प्रधानमन्त्रीसँगको बैठकलाई निजी क्षेत्रले चासोका साथ हेरेको छ।

हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर रहे पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन। चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखे पनि हालसम्म त्यसको करिब आधामात्रै कर्जा प्रवाह भएको बताइएको छ।

यस्तै, निजी क्षेत्रले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिपछि व्यवसायीको मनोबल कमजोर बनेको उल्लेख गर्दै लगानी तथा व्यवसाय सञ्चालनका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएको छ।

व्यवसायीहरूले सुरक्षा प्रत्याभूति, कानुनी छानबिनका क्रममा निष्पक्ष प्रक्रिया अपनाउनुपर्ने तथा दोष प्रमाणित नभएसम्म पक्राउ नगर्ने नीतिको व्यवस्था गर्नुपर्ने लगायतका विषय प्रधानमन्त्रीसमक्ष उठाउने तयारी गरेका छन्।

Related News

राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको महानिर्देशकलाई निर्देशन
  • २०८३ असार २४

राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको महानिर्देशकलाई निर्देशन काठमाडौं ।...

TOP