काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सम्पन्न भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि पार्टीको केन्द्रीय समिति र पदाधिकारीले पूर्णता पाउन सकेको छैन। सभापति रवि लामिछानेले मनोनयन गर्नुपर्ने केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो नलाग्दा पार्टी नेतृत्व अझै अपूर्ण बनेको हो।
पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति लामिछानेले असार १२ गते भरतपुरमा पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसपछि असार १७ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’मा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई शपथ गराए पनि मनोनयन प्रक्रिया भने अझै टुंगिएको छैन।
रास्वपाको विधानअनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय हुने व्यवस्था छ। जसमध्ये ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन् भने सभापतिले मनोनयन गर्ने ५१ केन्द्रीय सदस्य अझै चयन हुन बाँकी छन्।
त्यस्तै, १८ पदाधिकारीमध्ये हालसम्म सभापतिसहित सात जना मात्रै निर्वाचित भएका छन्। सभापतिले मनोनयन गर्नुपर्ने वरिष्ठ नेतासहित १२ पदाधिकारी अझै रिक्त छन्।
पार्टीभित्र मनोनयनलाई लिएर सहमति जुट्न नसक्दा प्रक्रिया लम्बिएको बताइएको छ। प्रधानमन्त्री वालेन्द्र शाह निकट नेताहरूले मनोनयन हुने ५१ केन्द्रीय सदस्यमध्ये करिब आधा संख्या आफ्नो पक्षबाट सिफारिस गरिएका व्यक्तिलाई दिनुपर्ने माग राखेका छन्। यही विषयमा सहमति जुट्न नसक्दा नाम टुंगो लाग्न ढिलाइ भएको स्रोतको दाबी छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले भने सभापतिलाई विधानले दिएको अधिकारअनुसार मनोनयनबारे छलफल र परामर्श भइरहेको बताएका छन्। उनका अनुसार आगामी केन्द्रीय समिति बैठकमा केही पदमा मनोनयन हुने सम्भावना छ।
सहमहामन्त्री असिम शाहले पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच आवश्यक परामर्शपछि मनोनयन प्रक्रिया टुंगिने बताए। उनले समावेशिता र महिला प्रतिनिधित्वलाई समेत ध्यानमा राखेर निर्णय गरिने उल्लेख गरे।
महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा असिम शाह, निशा डाँगी र हरि ढकाल निर्वाचित भएका छन्।
पार्टीमा मनोनयनबाट नियुक्त हुने एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्षसहितका पद अझै रिक्त छन्। उपसभापतिमा कसलाई मनोनयन गर्ने भन्ने विषयमा सुनील लम्साल र सुधन गुरुङको नाम चर्चामा रहेको भए पनि अन्तिम निर्णय हुन बाँकी छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान...