२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

कर्णाली नदीमा फेरी सेवा बन्द, बाजुराका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सास्ती

कर्णाली नदीमा फेरी सेवा बन्द, बाजुराका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सास्ती

बाजुरा । कर्णाली नदीमा पानीको बहाव बढेसँगै बाजुराको जगनाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने फेरी सेवा बन्द भएपछि स्थानीयवासी दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सास्ती बेहोर्न बाध्य भएका छन्।

असारको पहिलो सातादेखि नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो। हिउँदभर सञ्चालनमा रहेको फेरीमार्फत मानिससँगै जिप, ट्र्याक्टरलगायत सवारीसाधन पनि वारपार हुने गरेका थिए। फेरी सेवा बन्द भएसँगै स्वामीकार्तिक खापरतर्फ जाने सबै सवारीसाधन पिलीचौरमै रोकिन थालेका छन्।

यसका कारण स्थानीयले खाद्यान्न तथा अन्य आवश्यक सामग्री भरियामार्फत बोकेर गाउँसम्म पुर्‍याउनुपर्ने अवस्था आएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–२ का स्थानीय नरबहादुर लुहारले हिउँदमा गाडीबाटै घरसम्म सामान ल्याउन सकिने भए पनि अहिले चार घण्टासम्म भारी बोकेर हिँड्नुपर्ने बाध्यता रहेको बताए।

उनका अनुसार कर्णाली नदीमा पक्की पुल नहुँदा वर्षायाममा सवारीसाधन नदी पार गर्न नसक्ने भएकाले स्थानीयको दुःख बढेको छ।

जिप चालक शेरबहादुर कार्कीले कर्णाली नदीमा पक्की पुल निर्माण भए वर्षभरि नै गाउँबस्तीमा सवारी सञ्चालन गर्न सकिने बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले पालिकाका अधिकांश वडा सडक सञ्जालसँग जोडिए पनि कर्णाली नदीमा पुल नहुँदा वर्षायाममा यातायात सेवा पूर्ण रूपमा प्रभावित हुने गरेको बताए।

उनले कर्णाली नदीमा स्थायी पुल निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग पटक–पटक माग गर्दै आएको उल्लेख गर्दै स्थानीयको दीर्घकालीन समस्या समाधानका लागि शीघ्र पुल निर्माण आवश्यक रहेको बताए।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार २३

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP