बाजुरा – बाजुराको बडीमालिका नगरपालिकाका वडा नम्बर १ र ७ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ। नगरपालिकाले न्यूनतम मापदण्ड पूरा गरेपछि दुवै वडालाई औपचारिक रूपमा छाउपडी गोठमुक्त घोषणा गरेको हो।
नगर उपप्रमुख नन्दा थापाले आयोजित एक कार्यक्रमका बीच दुवै वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन्। बडीमालिका नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले आवश्यक मापदण्ड पूरा गरेपछि वडा नम्बर १ र ७ लाई छाउपडी गोठमुक्त घोषणा गरिएको जानकारी दिइन्।
नगरपालिकाले सञ्चालन गर्दै आएको ‘महिलासँग उपप्रमुख’ कार्यक्रमअन्तर्गत छाउपडी गोठको अनुगमन, अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका महिलालाई घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्ने उद्देश्यका साथ वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको हो।
उनका अनुसार जिल्ली, ढम्कने, सुनकाना, सिराडी र रजातोली टोलमा रहेका छाउगोठको अनुगमन गरी प्रयोगविहीन बनाइएको तथा भत्काइएको छ। स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, महिला समूह र बाल क्लबको सक्रिय सहभागिताले छाउपडी प्रथा न्यूनीकरणमा सहयोग पुगेको वडा कार्यालयले जनाएको छ।
वडा नम्बर ७ मा पहिलो चरणको अनुगमनमा १८ वटा र दोस्रो चरणमा १२ वटा गरी ३० वटा छाउगोठको तथ्यांक सार्वजनिक गरिएको थियो। ती सबै गोठ प्रयोगविहीन बनाइ भत्काइएको जनाइएको छ।
यस्तै वडा नम्बर १ पनि स्थानीय महिला समूह, बाल क्लब, विद्यार्थी तथा सरोकारवाला निकायको सक्रियतामा छाउपडी गोठमुक्त घोषणा गरिएको वडा सचिव ईश्वरी कार्कीले बताइन्। छाउपडी प्रथाविरुद्ध सचेतना, अभिमुखीकरण र नियमित अनुगमनका कारण वडालाई छाउपडी गोठमुक्त बनाउन सफल भएको उनले बताइन्।
नगरपालिकाले सम्पूर्ण वडालाई क्रमशः छाउपडी गोठमुक्त बनाउँदै भविष्यमा बडीमालिका नगरपालिकालाई नै छाउपडी गोठमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको जनाएको छ। घोषणा कार्यक्रममा विभिन्न झाँकी, देउडा तथा सडक नाटकसमेत प्रदर्शन गरिएको थियो।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...