काठमाडौं – नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागबीच सामग्री ढुवानी सम्बन्धी सम्झौता भएपछि यस्तो व्यवस्था लागू हुने भएको हो।
बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आगामी साउन १ गतेदेखि नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायत सामग्री हुलाक सेवामार्फत ढुवानी गरिनेछ। यसबाट सेवाग्राहीले कम्पनीको कार्यालयमा नपुगी घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन्।
निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई अनलाइन तथा वैकल्पिक माध्यमबाट सेवा उपलब्ध गराउने नीति अनुरूप हुलाकसँग सहकार्य गरिएको बताइन्। यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सहज, प्रभावकारी र पहुँचयोग्य हुने विश्वास उनले व्यक्त गरिन्।
हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले जनताको घरदैलोमै सरकारी सेवा पुर्याउने लक्ष्यलाई व्यावहारिक रूप दिन यो सम्झौता महत्वपूर्ण रहेको बताइन्। उनले आगामी दिनमा यस प्रकारको सहकार्यलाई अझ विस्तार गरिने जानकारी दिइन्।
सरकारी स्वामित्वका दुई संस्थाबीच भएको यस सहकार्यबाट हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गर्दै नेपाल टेलिकमको सेवा थप सुरक्षित, गुणस्तरीय र सर्वसुलभ बन्ने अपेक्षा गरिएको छ।
बझाङमा विद्यालय परिसरको कुटपिट घटनामा घाइते एक जनाको उपचारका क्रममा...