काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको बिक्रीवितरणमा अवरोध गर्ने पेट्रोलपम्पमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै पम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन बिक्रीवितरण रोक्का गर्न सकिने प्रावधान लागू गरेको हो।
बुधबार देशभर केही पेट्रोलपम्प बन्द हुँदा इन्धन बिक्रीवितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावली संशोधन गरेको जनाएको छ।
संशोधित विनियमावलीअनुसार विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ उपलब्ध नहुने अवस्था सिर्जना गर्न नपाउने व्यवस्था गरिएको छ। सो व्यवस्था उल्लङ्घन गरे पहिलो पटक तीन लाख रुपैयाँ जरिवाना र पाँच दिन इन्धन आपूर्ति रोक्का गरिनेछ।
यस्तै, दोस्रो पटक उल्लङ्घन गरे छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक कसुर दोहोरिए १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म पेट्रोल तथा डिजेलको आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।
सरकारले उपभोक्तालाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने तथा कृत्रिम अभाव रोक्ने उद्देश्यले उक्त कानुनी व्यवस्था लागू गरेको जनाएको छ।
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...