दिपायल – नेपाली कांग्रेस केआईसिंह गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले मंगलबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् । 
बिपी स्मृति भवन नामाकरण गरिएको उक्त ३ कोठे भवन गाउँपालिकाको केन्द्र वायलमा निर्माण गरिएको हो ।
भवन उद्घाटन भएसँगै केआईसिंह कांग्रेस पालिका स्तरमा आफ्नै भवन निर्माण गर्ने पहिलो पालिका बनेको छ ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै सभापति बलायरले भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरे । उनले डोटी र डोटेली आफ्नो स्मृतिबाट कहिलै नहट्ने बताए । “डोटीमा जन्मेको हुँ, डोटीका लागि, डोटेली जनताका लागि र डोटीको उन्नति प्रगतिका लागि हिजो र अहिले मात्रै समर्पित छैन भविष्यका लागि पनि हुनेछु । डोटी र यहाँका जनताका लागि जतिखेर पनि ज्यू ज्यान र बलिदानी दिन सक्ने क्षमता र हैसियत भएको मान्छे हुँ । त्यसैले डोटी मेरो स्मृतिबाट कहिले पनि हट्न सक्दैन,”उनले भने ।
सभापति बलायरले कांग्रेसलाई कोमामा पुगेको संविधान र देश जोगाउने अर्को अवसर प्राप्त भएको बताउँदै कांग्रेसलाई बलियो बनाउन कांग्रेस भित्रको एकता जरुरी रहेको बताए । कांग्रेस बलियो भयो, मजबूत भयो भने मात्रै देश जोगिन्छ,” उनले भने,” कांग्रेसलाई बलियो बनाउन कांग्रेस भित्रको एकता हुन जरुरी छ । त्यो सँगसँगै युवाहरुलाई विशेष प्राथमिकताका साथ पार्टीमा अवसर दिनुपर्दछ ।
केआईसिंह कांग्रेसका सभापति अर्जुन बलायरको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंह लगायत जनप्रतिनिधि, कांग्रेस पदाधिकारी तथा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रमको समापन गर्दै केआईसिंह कांग्रेसका सभापति अर्जुन बलायरले भवन निर्माण, जग्गा दानमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूमा धन्यवाद ज्ञापन गर्दै भवनको पूर्ण सदुपयोग हुने बताए ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...