दिपायल – डोटीको शिखर नगरपालिकामा पालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सिद्धेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा शिखर नगरपालिका अन्तर्गतका १५ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्शल आर्ट गरी ४ विद्याका खेलमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सामजिक विकास राज्यमन्त्री खड्काले शिखर नगरपालिका शिक्षा र खेलकुद क्षेत्रमा प्रदेशकै अग्रणी स्थानमा रहेकोमा प्रशंसा गर्नुभयो । विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि सरकारका तर्फबाट आफूले पहल गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले पनि शिखर सरकारले शिक्षा, खेलकुद र बालबालिकाको भविष्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै अन्य पालिकाहरुले पनि त्यसको अनुसरण गर्नु पर्ने बताए ।
नगर प्रमुख दीर्घ बहादुर बलायरले शिखर सरकारले भौतिक विकास भन्दा बढी प्राथमिकता बालबालिकाको भविष्यलाई दिँदै आएको बताउनु भयो ।
प्रतियोगितामा विजेता विद्यालयलाई २० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
उद्घाटन खेलको लङ्गजम्प छात्रातर्फ सिद्धेश्वर मावि बानेडुग्रीसैन प्रथम, केदारेश्वर मावि कपल्लेकी दृतीय र राधाकृष्ण मावि गोपघाट तृतीय भएको छ । त्यस्तै लङ्गजम्प छात्रतर्फ सिद्धेश्वर मावि बानेडुग्रीसैन प्रथम, सिद्धेश्वर मावि बानेडुग्रीसैन दृतीय र राधाकृष्ण मावि गोपघाट तृतीय भएको छ ।
प्रतियोगितामा मार्चपासमा सिद्धेश्वर मावि बानेडुग्रीसैन प्रथम, केदारेश्वर मावि कपल्लेकी दृतीय र शारदा मावि मुडभरा तृतीय भएको छ । प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ ।
आजको खेलमा एथलेटिक्सको पहिलो खेल छात्र छात्रा त्रिपल जम्प बाट सुरु भएको छ। कबड्डीको छात्रतर्फ हरिहर मावि र लाटामाण्डौ मावि भिड्दै छन् । भलिबल छात्रतर्फ राधाकृष्ण मावि र बानेडुग्रा मावि भिड्दैछन् भने छात्रा भलिब तर्फ राधाकृष्ण मावि र सुनाखरी इङ्लिस बोर्डिङ स्कुल भिड्दैछन् ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...