दिपायल – जिल्ला बाल सञ्जाल डोटीले सामाजिक कुप्रथाविरुद्धको अभियान सञ्चालन गरेको छ । सञ्जालले बिहीबार सायल गाउँपालिका- ६ अन्तर्गतको हिमालय माविमा कुप्रथाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सामाजिक कुप्रथाका विषयमा जानकारी गराउँदै त्यसविरुद्ध लड्न प्रेरित गरिएको जिल्ला बाल सञ्जाल डोटीकी अध्यक्ष सपना मालासीले बताइन् ।
सायल गाउँपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी बालबालिकाहरुले आफ्नो क्षेत्रमा छाउपडी प्रथाको समस्या बढी रहेको र आफूहरु पीडित रहेको जनाएका थिए ।
कार्यक्रममा बालबालिकाहरुलाई छाउपडी प्रथा, जातीय छुवाछुत, बाल विवाह, लैंगिक हिंसा लगायतका विषयमा छलफल गरिएको सञ्जालकी अध्यक्ष मालासीले बताइन् ।हामीले सुरुमा कुप्रथासँगै बालबालिकाका समस्याहरू पहिचान गर्ने कोसिस गरेउ,”उनले भनिन्,”त्यस क्षेत्रमा छाउपडी प्रथाको समस्या अत्याधिक रहेछ । छाउगोठ अझै पनि रहेछन् । बालिकाहरू बढी पीडित रहेछन् । बाल विवाह, छुवाछुतको समस्या पनि रहेछ । मदिरा तथा लागु औषधको समस्या पनि रहेछ । हामीले ती विषयमा कानुनी व्यवस्था देखि स्वाथ्य तथा पारिवारिक समस्याका विषयमा बालबालिकाहरुलाई जानकारी गराएका छौं ।”
सायालका बालबालिकाहरुलाई संगठित हुन र कुप्रथा तथा हिंसा विरुद्ध आवाज उठाउन सचेत गराइएको बाल सञ्जालका सल्लाहकार अंकित श्रेष्ठले बताए ।
कार्यक्रम पश्चात् त्यहाँ देखिएका समस्या समाधानका लागि स्थानीय सरकारसँग पनि छलफल गरिएको सञ्जालले जनाएको छ ।
दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...