दिपायल – केआइसिंह गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही र उपाध्यक्ष मिना विष्टले एकसाथ भवनको उद्घाटन गरेका हुन् ।
गाउँपालिकाको केन्द्र वायलमा जमिन खरिद गरेर भवन निर्माण गरिएको थियो । १० करोड ३२ लाख ६० हजार ८८६ लागत अनुमान गरिएको थियो । टेण्डर पश्चात निर्माण कम्पनीसँग ८ करोड १८ लाख ४२ हजार ४६६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
२०७९ साउन २६ गते भवन निर्माणका लागि गोर्खा किनारा जेभिसँग सम्झौता भई निर्माण कार्य सुरु भएको थियो । २०८१ माघ २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा निर्माण व्यवसायीले तोकिएकै मितिमा भवनको निर्माणकार्य सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौराले शिखर समाचारलाई बताए । निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरे पनि भवन उद्घाटन ढिला भएको उनले बताए ।
गोर्खा किनारा जेभिका प्रतिनिधि दिनेश बोहराले सोमबार उद्घाटन कार्यक्रमकै बीच गाउँपालिका अध्यक्षलाई चाबी हस्तान्तरण गरेका थिए ।
नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायतका शाखाहरूले सेवा प्रवाह गर्नेछन् ।
नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले नयाँ भवनबाट नयाँ ढंगले, नयाँ सेवा प्रवाह गरिने बताए । “यो भवन जनताको साझा सम्पति हो । यस्को संरक्षण जनताले नै गर्नु पर्दछ,”उनले भने,”सरकारले जनताको सम्पति जनताकै लागि प्रयोग गर्ने हो । हामीले यसको सही सदुपयोग गर्दै नयाँ भवनबाट नयाँ जनअपेक्षा बमोजिम नयाँ ढंगले मुस्कानसहितको सेवा प्रवाह गर्नेछौं ।”
उपाध्यक्ष विष्टले भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण महानुभाव तथा निर्माण कम्पनीलाई धन्यबाद ज्ञापन गरिन् । गाउँपालिकाले उद्घाटन कार्यक्रमकै बीच भवन निर्माणमा सहयोग पु-याउने निर्माण कम्पनी, व्यक्ति तथा सुलभ मूल्यमा जग्गा उपलब्ध गराउने जग्गाधनीहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा उपस्थित पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का, बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गडसिला लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गरेका थिए ।
दिपायल – कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी...