दिपायल, भदौ १५ गते । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा.टीएन जोशीले सभ्य र सुसंस्कृत समाज निर्माणमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताए । १८औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा अत्तरियामा आयोजित पुस्तकालय दिवस तथा सम्मान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
आइतबार प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा कैलालीको अत्तरियामा आयोजित समारोहको उद्घाटन गर्दै उपकुलपति जोशीले तीनै तहका सरकारले प्राथमिकताका साथ पुस्तकालय स्थापनामा जोडदिनु पर्ने बताए । “पुस्तकालय स्थापना र सञ्चालन तीनै तहका सरकारको महत्वमा दायित्व हो,”उनले भने,” स्थानीय सरकार जनताको नजिकको सरकार भएका कारण त्यसमा अझै जिम्मेवार हुनुपर्दछ र प्रत्येक वडामा पुस्तकालय स्थापनार्थ बजेट बिनियोजन गर्नु पर्दछ । जसले गर्दा समाजमा तत्काल प्रतिफल देखिन्छ ।”
समाज रूपान्तरणका लागि नेतृत्व असल हुनुपर्ने बताउँदै उपकुलपति जोशीले नेतृत्व असल भए हरेक संस्थाले पनि गति लिने उल्लेख गर्दै समाज रूपान्तरणका लागि सबैले लाग्नु पर्ने बताए ।
कार्यक्रममा प्रतिभा पुस्तकालयले प्रदान गर्ने “मुडभरी साहित्य पुरस्कार २०८२” छन्द कवि हिरा भट्टलाई र “गणेश शारदा पुरस्कार” लोकगायिका पूर्णिमा ठगुन्नालाई प्रदान गरिएको थियो । पुरस्कृत भट्ट र ठगुन्नालाई उपकुलपति जोशीद्वारा अभिनन्दनसहित पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा पत्रकार गोविन्द रोस्यारा, गायक केशब फुलारा, खगेन्द्र अवस्थी लगायतलाई पनि सम्मानित गरिएको थियो । प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा आयोजित समारोहमा नगर प्रवक्ता गोपालदत्त भट्ट, समाजसेवी सुरत कार्की, शिक्षासेवी खगराज पाठक लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...