२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

दलित महिला जागृत गर्दै उपमेयर रावल

दिपायल – “जातीय छुवाछुत, हटेको छैन तर, कम भएको छ । छुवाछुत भइहाल्यो भने पनि तुरुन्तै प्रतिकार गरिहाल्ने अवस्था पनि छैन,”शिखर नगरपालिका – २ मुडेगाउँकी ममता कार्कीले गुनासो सुनाइन् । शिखर नगरपालिकाले मुडेगाउँमा आयोजना गरेको दलित महिलासँग उपमेयर कार्यक्रममा उनले गुनासो गरेकी हुन् ।

नगरपालिकाका नगरप्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा दलित महिलाहरूले समुदायमा रहेको जातीय विभेद, छुवाछुत, दलित समुदायका समस्या लगायतका समस्याहरू राखेका थिए । नगर सरकारले समुदायमा रहेका समस्या समाधानका लागि आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए । त्योसँगै दलित महिलाहरुलाई महिला अधिकार, दलित अधिकार, कानुनी सचेतना पनि गरिएको थियो ।

“दलित समुदायका महिलाहरूमा कानुनी सचेतना अभिवृद्धि गरौं, सामाजिक नेतृत्व विकासमा टेवा पुर्‍याऔं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा दलित महिला संघ डोटी (फेडो) का जिल्ला संयोजक शंकर विश्वकर्माले महिलाहरुलाई प्रशिक्षण दिनुका साथै कार्यक्रमको सहजीकरण गरेका थिए ।

कानुनी सचेतना अभिवृद्धि र जातीय भेदभाव सम्बन्धी अधिकारको जानकारी दिने उद्देश्यले दलित महिलाहरुसँग उपमेयर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उपमेयर सुनिता रावल जोराले बताइन् । उनले आफू न्यायिक समितिको संयोजक भएका कारणले पनि महिलाहरुलाई जागृत गर्न र न्यायका सम्बन्धमा जानकारी गर्न सजिलो हुने भएकाले पनि गाउँगाउँमा गएर यो कार्यक्रम गर्ने गरिएको बताइन् ।

“दलित महिलाहरूको सशक्तिकरण बिना समावेशी समाजको परिकल्पना गर्न सकिँदैन । कानुनी अधिकारको जानकारीले महिलाहरूले अब चुप लाग्ने होइन, सवाल गर्नुपर्ने बेला आएको छ,” उपमेयर रावलले भनिन्,” हामीले आफ्नो अधिकार संगै कर्तव्य पनि पालना गर्नु पर्छ | परम्परा देखि यो चलन बिग्रिदै आएको हो अब आफुलाई दलित हुँ भन्ने बिर्सिनु पर्छ, त्याग्नु पर्छ र यसको तत्काल प्रतिकार गर्नु पर्छ ।”

दलित समुदायभित्र रहेका जातीय भेदभाव, छुवाछूत तथा विभेदका घटना, कानुनी व्यवस्था (संविधानको धारा १८, २४, ४० तथा छुवाछूत तथा भेदभाव ऐन २०६८) का प्रावधानहरू बारे महिलाहरुलाई जानकारी गराइएको थियो । महिलाहरूलाई आफूभित्र नेतृत्व क्षमताको विकास गर्न प्रोत्साहित गरिएको थियो ।

नगर प्रमुख दीर्घ बहादुर बलायरले नगर सरकार दलित समुदायको अधिकार, हकहित, शैक्षिक तथा आर्थिक विकासका लागि गम्भीर रहेको बताए । “विभेदमुक्त, छुवाछुतमुक्त, अभावमुक्त समाज आजको आबस्यकता हो,”बलायरले भने,” त्यसको मुक्तिका लागि सचेतना र शिक्षा अपरिहार्य छ । तसर्थ, नगर सरकारले शिक्षालाई विशेष जोड दिएको छ । दलित बालबालिकाहरुलाई शिक्षा लिनका लागि हामीले प्रोत्साहनसँगै छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौं । दुई जना दलित समुदायका विद्यार्थीहरुलाई डाक्टर पढ्नका लागि सहयोग गरेका छौं । आगीमी दिनहरूमा थप प्रयासहरू हुनेछन् ।”

वडाध्यक्ष गणेश बोगटीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कार्यपालिका सदस्य राम लुहार, वडा सदस्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कमला खड्का, वडा सचिव तथा दलित समुदायका सक्रिय महिलाहरूको उपस्थिति रहेको थियो ।

वडास्तरमै आयोजित यस्ता कार्यक्रमले महिला समुदायलाई सक्रिय बनाउने वडाध्यक्ष बोगटीले बताए । अब महिलाहरू पनि स्थानीय विकासका लागि अग्रपंक्तिमा उभिनुपर्ने बताए ।

 

कार्यक्रममा सहभागी महिलाहरूले जातीय विभेदका वास्तविक भोगाइहरू, कानुनी लडाइँमा आएको चुनौती र समुदायभित्र नेतृत्वका सम्भावनाहरूबारे प्रश्न उठाउँदै खुला रूपमा अन्तरक्रिया गरेका थिए । उपस्थित महिलाहरूले समुदायमा अझै छुवाछुत कायमै रहेको, दलित समुदायलाई सम्बोधन गर्ने शब्दमा परिवर्तन नआएको गुनासा गरेका थिए । दलित समुदाय लक्षित क्षमता विकास, आयआर्जन तथा सिपमुलक कार्यक्रम सञ्चालन हुनु पर्ने, स्थानीय तहको टोल भेलामा पनि दलित र महिलाहरुलाई सहभागी गराउनुपर्ने, महिला समूह गठन गरि उनीहरुको क्षमता विकास गर्न सहयोग गर्नु पर्ने सहभागी महिलाहरुको माग थियो ।

कार्यक्रमले दलित महिलाहरूभित्र कानुनी चेतना फैलाउने, आत्मबल अभिवृद्धि गर्ने र नेतृत्व विकासतर्फ प्रेरित गर्ने ठोस प्रभाव पारेको दलित अधिकारकर्मीहरुको प्रतिक्रिया रहेको छ ।

Related News

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
  • २०८२ असार १

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...

TOP