वैशाख ३० गते दिउँसो २ बजेतिर कपिलवस्तुकी एक नर्शको मोबाइलमा फोन आयो, ‘तपाईंको कोरोना रिपोर्ट पोजेटिभ आएको छ, आइसोलेसनमा जानुपर्यो।’
सुरुमा उनलाई पत्यार लागेन, कोरोनाको उनमा कुनै लक्षण देखिएको थिएन।
कोरोनाका संक्रमित धेरै देखिएका कपिलवस्तु, बाँके, रुपन्देही लगायत जिल्लाबाट वैशाख २७ गते धेरै नमुना स्वाब संकलन गरिएको थियो।
भारतको सीमासँग जोडिएको सहर भएको र अस्पतालमा कार्यरत अरु स्वास्थ्यकर्मीसँगै ति नर्शको पनि स्वाव संकलन गरिएको थियो। त्यसको तीन दिनपछि वैशाख ३० गते आएको रिपोर्टमा अस्पतालबाट उनी मात्र संक्रमित भएको पुष्टि भयो।
‘रिपोर्ट पोजेटिभ आए पनि छिट्टै कोरोना जितेर घर फर्किन्छु भन्ने ममा आत्मविश्वास थियो’ उनले भनिन्। घरमा बुवाआमा र भाइलाई निको भएर छिट्टै घरमा आउँछु भन्दै वैशाख ३० गते नै जिल्ला अस्पतालकै आइसोलेसनमा गएकी थिइन्।
नेपालमा पहिलो स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको भन्ने समाचार सुन्दा र पढ्दा सुरुमा मनमा भय र त्रास भए पनि एक दुई दिनमै सबै सामान्य बन्दै गएको उनले बताइन्।
वैशाख २७ गतेको स्वाब परीक्षणमा कोरोना पोजेटिभ आएपनि जेठ १ गते र ४ गतेको रिर्पोट नै नेगेटिभ आइसकेको थियो। पाेजेटिभ रिपाेर्ट आएकाे चार दिनपछि नै नेगेटिभ रिपाेर्ट आए पनि उनी एक साता अस्पतालमै बसिन्।
कोरोना संक्रमण देखिएको भए पनि उनमा बिरामीको कुनै लक्षण थिएन। त्यसैले उनले कुनै औषधि सेवन नगरी संक्रमणमुक्त भएर सोमबार घर फर्किएकी हुन्।
‘आइसोलेसनमा रहँदा नियमित प्रोटिनयुक्त खानेकुरा खाएँ, तराईको गर्मी मौसम भए पनि तातोपानी प्रशस्त खाएँ’ उनले भनिन् ‘खानपानमा ध्यान दिँदा र मनोबल उच्च बनाएकै कारण आइसोलेसन गएको निको भएर घर फर्किएकी छु।’
कोरोना जितेर घर फर्किए पनि उनले एक हप्तासम्म होम क्वारेन्टाइनमै बसेर सामाजिक दुरी कायम गर्नुपर्ने छ। चिकित्सकले सरसफाइ र खानपिनमा ध्यान दिन र एकहप्ता घरमै बस्न सुझाव दिएका छन्। ‘एकहप्ता घरमै अलग्गै बस्छु, त्यसपछि नियमित ड्युटीमा फर्किन्छु’ उनले भनिन्।
नेपालमा मात्र होइन विश्वभर त्रास फैलिएको कोरोना जित्न सकारात्मक सोंचसँगै खानपिन र सरसफाइमा ध्यान दिन उनको आग्रह छ।
‘सामाजिक दुरी कायम गर्ने, नियमित साबुन पानीले हात धुने, प्रोटिनयुक्त खाना खाने, सकारात्मक सोंच राख्न सकियो भने संक्रमण भएपनि सजिलै जित्न सकिन्छ’ उनले भनिन्
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...