डोटी । प्रधानमन्त्री कप महिला टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लब ले जितेको छ। कैलालीको धनगढीस्थित फाप्ला मैदानमा शनिबार भएको फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभर पाँच बलमा एक विकेट गुमाएर भेटायो। एपीएफका ममता चौधरी ४४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहे। राजमती ऐरी ४ रनमा रनआउट भएकी थिइन्। त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले १८ ओभर एक बलमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो।
सुदूरपश्चिमका लागि मनिषा बोहाराले १८ तथा कप्तान बिन्दु रावलले १७ रन जोडिन् सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। एपीएफका लागि कविता जोशीले ३ तथा सबनम राई र कप्तान इन्दुले समान २र२ विकेट लिए। एपीएफले प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो। प्रतियोगिताको उपाधि विजेता एपीएफले पाँच लाख र उपविजेता बनेको सुदूरपश्चिम प्रदेशले तीन लाख पुरस्कार प्राप्त गरेको छ। नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो।
दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...